बेलायती सेनालाई हराएको सम्झनामा पाल्पामा मनाइने भगवती रथयात्रा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
बेलायती सेनालाई हराएको सम्झनामा पाल्पामा मनाइने भगवती रथयात्रा सम्पन्न

सारांश

  • पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ ।
  • नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सम्झनामा प्रत्येक वर्ष रथयात्रा गर्ने चलनअनुसार भगवतीको जात्रा निकालिएको हो ।
  • श्री ७ रणउजिरेश्वरी भगवतीको २०१औँ विजयोत्सवका रुपमा पाल्पामा रथयात्रा गरी तानसेन बजार परिक्रममा गरिएको हो ।

पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ । नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सम्झनामा प्रत्येक वर्ष रथयात्रा गर्ने चलनअनुसार भगवतीको जात्रा निकालिएको हो । श्री ७ रणउजिरेश्वरी भगवतीको २०१औँ विजयोत्सवका रुपमा पाल्पामा रथयात्रा गरी तानसेन बजार परिक्रममा गरिएको हो । विसं १८७६ मा बुटवलको जितगढी किल्लामा नेपाली फौजले अङ्ग्रेजलाई पराजित गर्न सफल भएको सम्झनामा रथयात्रा गर्ने चलन रहेको छ ।

युद्वमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्वमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्नेछु भनेर भाकल गरेको इतिहास छ । भाकलपछि कर्णेल थापाको नेतृत्वले विजय हासिल गरेपछि गजुरसहितको तीनतले मन्दिर निर्माण गरिएको थियो । प्रत्येक वर्ष भाद्र कृष्णपक्षको नवमीका दिन भगवती जात्रा निकालिन थालिएको मन्दिरका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो ।

दिउँसो १२ः४५ बजे भगवती मन्दिरमा तीनपटक रथ घुमाइएको थियो । रथ मन्दिर घुमाएर त्यस क्षेत्रबाट बाहिर ल्याइएको हो । नेपाली सेनाले मन्दिरबाट रथ निकाल्दा बढाई दिने चलन छ । सेनाले तोप पड्काएपछि रथ उचालिएको हो । तानसेनको पाल्पा दरबार सङ्ग्राहलय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, नेपाली सेनाको गणमा पूजा गरिएको थियो । भगवतीको रथलाई नगरवासीको जयजयकारसँगै बजार परिक्रमा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उदयले बताउनुभयो ।
रथयात्रामा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदार अधिकारी, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका प्रधानसेनापति सहभागी हुनुहुन्थ्यो । केन्द्रीय तथा प्रदेश सांसद, स्थानीय सरकार प्रमुख, प्रतिनिधि, जिल्लाका नेता, उद्योग वाणिज्य सङ्घ, व्यापार सङ्घ, विद्यार्थी, विभिन्न टोल विकास समितिका सदस्यलगायत भगवतीको रथयात्रामा सहभागी हुँदा थप उत्साह ल्याएको थियो ।

भगवती रथयात्रा मनाउन पाल्पालीहरु जिल्ला बाहिर गएर बसोबास गर्नेहरु यतिबेला तानसेन आएका छन् । जात्रामा भाकलअनुसारको कुखुरा, हाँस, बोका, राँगा आदि बलि दिएर पूजा गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?