प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
२८ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभमा लगातार तीन वटा बैठक अवरोध गरे पनि निकासका बारेमा भने विपक्षी दल नेपाली कांग्रेस सांसदहरू अलमलमा देखिएका छन्।
  • अदालतमा पुगेको विषय संसद्बाट निरूपण हुने होइन भन्नेमा आफूहरू जानकार रहेको तर कानुन प्रयोगमा भएको विभेदका विरुद्ध आवाज उठाएको उनीहरूको भनाइ छ।

काठमाडौं। प्रतिनिधिसभमा लगातार तीन वटा बैठक अवरोध गरे पनि निकासका बारेमा भने विपक्षी दल नेपाली कांग्रेस सांसदहरू अलमलमा देखिएका छन्। अदालतमा पुगेको विषय संसद्बाट निरूपण हुने होइन भन्नेमा आफूहरू जानकार रहेको तर कानुन प्रयोगमा भएको विभेदका विरुद्ध आवाज उठाएको उनीहरूको भनाइ छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणको छानविनमा पूर्वाग्रह राखेर संसदीय दलका उपनेतासमेत रहेका उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आरोप लगाउँदै कांग्रेसले संघीय संसद्मा प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ भने जनवर्गीय संगठनहरू सडकमा उतारेको छ । संगठनहरूले दुई सडक प्रदर्शन गरिसकेका छन् । कांग्रेस सांसदहरूले सोमबार हुने पार्टी केन्द्रीय समितिले बैठकले गर्ने निर्णयअनुसार अघि बढ्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठक स्थगनपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले अख्तियारको छानविन प्रक्रिया गलत भएकाले आगामी दिनमा यस्तो गल्ती नदोहोरियोस् भनेर विरोध गरेको बताए। ललितानिवास जग्गा प्रकरणको विषय संसद्मा छलफल गरेर टुंगिने विषय होइन भन्नेमा कांग्रेस जानकार रहेको तर मुद्दा अदालतसम्म पुर्याउने प्रक्रिया निष्पक्ष र कानुनसम्मत नभएकोमा आपत्ति रहेको उनले बताए ।

‘यो विषय हामीले संसद्मा छलफल गरेर सकिने होइन । अदालतमा गएको विषय हो । अदालतले न्याय गर्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । अदालतले गर्ने निर्णयलाई हामी सम्मान गर्छौं,’ बडूले भने, ‘तर कानुनलाई विभेदकारी ढंगले व्याख्या गरेर अदालतमा पु¥याउने काम भयो, यो विधि र प्रक्रिया नै त्रुटिपूर्ण छ । कानुन सबैलाई समान हुने भए पनि एउटै कानुनलाई फरक–फरक ढंगले व्याख्या गरेर मुद्दा अगाडि बढाउने विषय आपत्तिजनक छ ।’

कानुनको अपव्याख्या गरेर कानुनी राज्य जोगाउन सकिँदैन भनेर कांग्रेसले संसद्मा आप्mनो विमति राखेको उनको तर्क छ । तीन दिनसम्म संसद् अवरुद्ध गर्नुको उद्देश्य प्रस्ट्याउँदै बडूले भने, ‘कानुनको अपव्याख्या हुँदा, कानुनको विभेदपूर्ण प्रयोग हुँदा कानुनी राज्य जोगाउन सकिँदैन, यो ठिक संकेत होइन भनेर हामीले संसद्मा विमति राखेका हौं ।’

संसद् कहिलेसम्म अवरुद्ध हुन्छ त भन्ने प्रश्नमा उनले सोमबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने प्रतिक्रिया दिए । उनले भने, ‘भोलि मिटिङमा यसलाई संस्थागत रूपमै निर्णय गर्छौं । संसद् सधैँ अवरुद्ध गरिराख्नुपर्छ भन्ने पक्षमा हामी पनि छैनौं ।’

गत बुधबार अख्तियारले गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि कांग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएको छ । आइतबार पनि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक सुरु भएको जनाउ दिनेबित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेका थिए ।

बैठक अवरोध भएपछि सभामुख सापकोटाले विपक्षी दलले उठाएको विषयमा सरकारको ध्यानकर्षण भएको र मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै बैठक अघि बढाउन सहयोगका लागि आग्रह गरे । अदालतमा प्रवेश गरिसकेको विषय संसद्बाट निरूपण हुन नसक्ने भन्दै सम्झाउन प्रयत्न गरे ।

सभामुख सापकोटाले भने, ‘दुई दिनसम्म दलको भनाइ तपाईंहरूले राखिसक्नुभएको छ । एउटा सन्देश पनि गइसकेको छ । मलाई अहिले पनि धेरै माननीय सदस्यहरूले हामी जिल्ला नगएर जनताका कुरा उठाउन बसिरहेका छौं । बोल्ने वातावरण बनाउनुपर्छ भनेर अनुरोध गर्नुभएको छ ।’

सभामुख सापकोटाले संवैधानिक आयोगले गरेको कामको विषय संसद्ले निरूपण गर्न नसक्ने बताए । उनले भने, ‘पहिलो कुरा संवैधानिक आयोगले गरेको निर्णय भयो, दोस्रो कुरा अदालतमा गइसकेको विषय भयो । त्यस कारणले गर्दा अब म माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्छु, तपाईंहरू बसिदिनुस् । यो सदन सुचारु गर्नका लागि सहयोग गर्नुस् । यसले नै सदनको ओज, गरिमा र सर्वोच्चता कायम रहनेछ ।’

संवैधानिक आयोगले गरेको काम र अदालतमा पुगिसकेको विषय संसद्बाट अघि बढ्न नसक्ने स्वतः सिद्ध रहेको सभामुखले बताए ।  

बैठकमा कांग्रेस सांसद बडूले बोल्न समय माग गरे पनि पाएनन् । सभामुखले अनुमति नदिए पनि उनले ललितानिवास प्रकरणमा अख्तियारले विभेदकारी ढंगले कानुनको प्रयोग गरेको आरोप लगाए । बोल्ने अनुमति नपाएकाले माइक भने खोलिएको थिएन ।

कांग्रेस सांसदहरूले अवरोध जारी राखेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक माघ २८ गते मंगलबार दिनको २ बजे बस्ने गरी स्थगित भएको जानकारी गराए ।  

सोही प्रकरण आइतबार कांग्रेस सांसदहरूले प्रदेश १ को प्रदेशसभा बैठक पनि अवरोध गरेका छन् । आइतबारै काभ्रेमा आयोजित एक कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले गच्छदारमाथि गैरराजनीतिक मुद्दा लगाएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेका छन् । उनले ललिता निवासबारे निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भए गच्छदार दोषी हुनै नसक्ने जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?