न्युज कारोबार डटकमका समाचार सम्पादक कार्यकक्षबाटै पक्राउ
सारांश
- काठमाडौं, १९ भदौ ।
- न्युज कारोबार डटकमका समाचार सम्पादक नवराज कुँवरलाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ ।
- समाचार सम्पादक कुँवरलाई प्रहरीले समाचार र समाजिक सञ्जालको विषयलाई लिएर पक्राउ गरेको बताइएको छ ।
काठमाडौं, १९ भदौ । न्युज कारोबार डटकमका समाचार सम्पादक नवराज कुँवरलाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । समाचार सम्पादक कुँवरलाई प्रहरीले समाचार र समाजिक सञ्जालको विषयलाई लिएर पक्राउ गरेको बताइएको छ ।
उदयपुरस्थित बेलका नगरपालिका घर भएका कुँवरले पछिल्लो समय उक्त नगरपालिकामा भएका अनियमितता र केही गलत कार्यका विरुद्ध आवाज उठाउँदै आएका थिए । कुँवरले त्यहाँ भएका कतिपय गलत कार्यहरु अनलाइन तथा फेसबुक लगायतका सामाजिक सञ्जालबाट उठाउँदै आएका थिए । सोही विषयलाई आधार बनाएर प्रहरीले कुँवरलाई समाचार कक्षबाटै पक्राउ गरेको न्युज कारोबार डटकमले जनाएको छ ।
बेलका नगरपालिकामा केही समयअघि नगरपालिकाका उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर व्यापक चर्चा भएको र नगरपालिकामा भएका थप केही कार्यको पनि जनचासोको विषय बनेको थियो । उक्त समाचारलाई कुँवरले निरन्तर “फलो अप” गर्दै आएको अनलाइनले जनाएको छ । सोही विषयमा कुँवरको फलो अप र सामाजिक सञ्जालबाट गलत कार्यको विरोध भएका कारण प्रहरीले उनलाई पक्राउ गरेको र उनलाई प्रहरीले टेकुमा राखेको छ ।
भदौ १ गतेदेखि लागू भएको मुलुकी तथा देवानी संहिताका केही प्रावधानले पत्रकारको घाँटी निमोठ्ने भनेर व्यापक विरोध र आलोचना भइरहँदा सत्तारुढ नेताहरुले भने पत्रकारहरुका विषयमा यो कानुन आकर्षित हुँदैन भन्दै आएका थिए । तर, समाचार सम्पादक कुँवर पक्राउ परेपछि सञ्चारजगत झनै त्रसित बनेको छ ।
Prashant Karki
सत्यतथ्य छानबिन हाेस, गल्ती गरेको भए कानुनीकाे भागिदार खेप्नुपर्छ शाेसल मिडिया अनलाइन मिडियामा सत्यतथ्य बुजेर समाचार संम्प्रेशन गर्नुपर्छ ?