फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
सारांश
- गोरखा : अविरल वर्षापछि धार्चे ३ को उहिया गाउँ र दुङ्ला गाउँ जोड्ने गुङ्गङ् खोलामाथिको फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या परेको छ ।
- उक्त पुल हुँदै दैनिक आवतजावत गर्ने सयौं यात्रु समस्यामा परेको वडाध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।
- ‘असार १५ गते पुल भत्किएको हो’, गुरुङले भन्नुभयो, ‘अहिले भीरमा झुन्डिएर हिँड्नुपरेको छ ।
गोरखा : अविरल वर्षापछि धार्चे ३ को उहिया गाउँ र दुङ्ला गाउँ जोड्ने गुङ्गङ् खोलामाथिको फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या परेको छ । उक्त पुल हुँदै दैनिक आवतजावत गर्ने सयौं यात्रु समस्यामा परेको वडाध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।
‘असार १५ गते पुल भत्किएको हो’, गुरुङले भन्नुभयो, ‘अहिले भीरमा झुन्डिएर हिँड्नुपरेको छ ।’दुङ्लाबाट कक्षा ६, ७ र ८ पढ्न उहिया जाने विद्यार्थी र उहियाबाट नौ र १० पढ्न सिर्दिबास जाने विद्यार्थी पनि समस्यामा परेको स्थानीयले जानकारी दिए ।’अब १५ साउनदेखि स्कुल खुल्छ । विद्यार्थी पढ्न हिँड्नुपर्छ’, वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘कसरी हिँड्ने थाहा छैन ।’
लाप्राक, सिङ्ला, खोर्ला, उहियाका बासिन्दा जगत जान पनि उक्त फड्केको प्रयोग गर्छन् । ‘सक्नेहरू त भीरमा घाँस, लहरा, रूखको ठुटामा झुन्डिएर यात्रा गर्छन् । तर, नसक्नेहरू हिँड्न पाएनन्’, अर्का स्थानीय सबिन सुनारले भन्नुभयो, ‘खै अब कसरी बनाउने हो, कसले बनाउने हो, थाहा छैन ।’ फड्के मर्मतका लागि गाउँपालिकामा निवेदन दिएको उहाँले बताउनुभयो ।
बाढीले पानीघट्ट पनि बगाएको छ ।
पुल मर्मतका लागि जिल्ला समन्वय समितिमा अनुरोध गर्दा सहयोग नगर्ने जवाफ पाउँदा निरास बनाएको वडाध्यक्ष गुरुङको भनाइ छ ।’जिल्ला दैवीप्रकोप उद्धार समितिमा अनुरोध गर्दा अहिले त्यस्तो निर्णय हुन नसक्ने जवाफ आएको छ’, गुरुङले भन्नुभयो ।’गुरुवाङखोला पुल पनि हामी आफैंले ९० हजार रुपैयाँ खर्चमा मर्मत गरेका हौं । त्यो पैसा जिल्लासँग मागौंला भन्ने लागेको थियो दिन मिल्दैन भने’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया