त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

सारांश

  • काठमाडौं।
  • मंगलबार त्रिभुवन विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच महत्वपूर्ण विषयमा सहमति भएको छ ।
  • दुवै विश्वविद्यालयबीच उच्च शिक्षा, अनुसन्धान, विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान र दुवै देशका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाबाट लाभान्वित गर्ने उद्धेश्यका साथ मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौं। मंगलबार त्रिभुवन विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच महत्वपूर्ण विषयमा सहमति भएको छ । दुवै विश्वविद्यालयबीच उच्च शिक्षा, अनुसन्धान, विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान र दुवै देशका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाबाट लाभान्वित गर्ने उद्धेश्यका साथ मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा त्रिभुवन विश्वविद्यालयका तर्फबाट उपकूलपति डा।तीर्थराज खनिया र चण्डिगढ विश्वविद्यालयको प्रतिनिधित्व गर्दै त्यसका उपकूलपति आर।एस। बावाले त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सोमबार हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमा प्राज्ञिक समूह, अनुसन्धानकर्ता लगायतको उपस्थिति रहेको थियो । समारोहमा प्राज्ञिक तथा अनुसन्धानकर्ताहरुले दुवै देशका विद्यार्थीलाई कुन स्वरुपमा अघि बढ्दा फाइदा पुग्छ भन्नेमा केन्द्रित रहेर छलफल गरेका थिए ।

उक्त समारोहलगत्तै आयोजित पत्रकार सम्मेलनमा चण्डिगढ विश्वविद्यालयका उपकूलपतिले त्रिविसँग समझौता गर्दा आफुलाई निकै खुसी लागेको बताए ।

उनले भने, ‘विद्यार्थी भर्नाको दृष्टिले विश्वकै नवौं ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयसँग प्राज्ञिक, अनुसन्धान र उच्च शिक्षामा सहयोग आदानप्रदान गर्न बनेको यो समझदारीले हामी गौरववान्वित त छँदैछौं, नयाँ युग सुरु गर्ने विश्वास समेत लिएका छौं । कार्यक्रममा बोल्दै बावाले अगाडि थपे, ‘यो सहमतिले दुई देशका विद्यार्थीले सबैखाले कोर्षहरु गर्न नयाँ मार्ग खोलेको छ ।’

उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइमा पर्ने देश भारत हो । पाँच वर्षको दौरानमा चण्डिगढ विश्वविद्यालयमा नेपाली विद्यार्थीको संख्या १३३ प्रतिशतले वृद्धि हुनुले पुष्टि गर्छ ।’

छोटो अवधिमा एसियामा तीव्र गतिमा विकास गरिरहेका विश्वविद्यालयहरुमध्ये चण्डिगढ पनि एक भएको बताउँदै उनले लिम्का बुकको सूचीमा समेत यसको अभिलेख रहेको बताए ।

यस विश्वविद्यालयले १ सय १८ वटा डिप्लोमादेखि विद्यावारिधिसम्मका व्यावसायिक कोर्षहरु सञ्चालन गर्दै आएको छ । यो विश्वविद्यालयले ४० मुलुकका १ सय ६० वटा विश्वविद्यालयसँग सहसम्बन्ध कायम गरी अध्ययन–अध्यापन गराउँदै आएको छ ।

उक्त विश्वविद्यालयमा नेपाल लगायत ३५ मुलुकका १२ सय भन्दा बढी विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?