रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिता एपीएफले जित्यो उपाधि
सारांश
- पोखराको लामाचौरमा आयोजित रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।
- तीजको अवसरमा बिहीबार इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी शिवम् न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रोपटक उपाधिमाथि कब्जा जमाएको हो ।
- पहिलो संस्करणमा नेपाल पुलिसलाई हराउँदै उपाधि जितेको उसले त्यसयता लगातार डायमन्डसँगकोे फाइनलमा उपाधि सुम्पिदै आएको थियो ।
पोखराको लामाचौरमा आयोजित रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । तीजको अवसरमा बिहीबार इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी शिवम् न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रोपटक उपाधिमाथि कब्जा जमाएको हो ।
पहिलो संस्करणमा नेपाल पुलिसलाई हराउँदै उपाधि जितेको उसले त्यसयता लगातार डायमन्डसँगकोे फाइनलमा उपाधि सुम्पिदै आएको थियो । यसपालि भने उपाधि आफ्नो पक्षमा फर्काउन एपीएफ सफल भएको हो । उल्लेख्य दर्शकमाझ भएको फाइनलमा एपीएफले डायमन्डलाई २५–१८, २५–१८ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधिसहित ७५ हजार रुपैयाँ, ट्रफी र मेडल पुरस्कारस्वरूप जितेको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेको एपीएफले डायमन्डलाई हराउँदै समान २५–१८ मा दुई सेट आफ्नो पक्षमा पारेकोमा तेस्रो सेटको कडा प्रतिस्पर्धामा भने सहज रूपमा २५–१२ को स्कोर कायम गरेको थियो । उपविजेतामा सीमित डायमनडले ५० हजार रुपैयाँ, ट्रफी र मेडल पायो ।
विधागत पुरस्कारमा पनि एपीएफको वर्चस्व रह्यो । एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै एपीएफकी विनिता बुढाथोकी बेस्ट सेटर, उषा विष्ट बेस्ट क्वीकर, ज्ञानेन्द्रबहादुर विष्ट बेस्ट कोच घोषित भए ।
उता डायमन्डकी प्रतिभा माली बेस्ट स्पाइकर, पश्चिमाञ्चलकी पवित्रा जीसी बेस्ट ब्लकर, पश्चिमाञ्चलकै अरुणा शाही बेस्ट सर्भर, नेपाल पुलिसकी कमला पुनले बेस्ट लिब्रोको उपाधि जिते । उनीहरूलाई ट्रफीको साथमा घडी पुरस्कार दिइयो ।
उपाधि आफ्नो पक्षमा फर्किएपछि एपीएफ प्रशिक्षक ज्ञानेन्द्रबहादुर विष्टले खेलाडीको अथक मिहिनेतले यसपालि उपाधि जित्न सहज बनेको प्रतिक्रिया दिए ।
डायमन्डका प्रशिक्षक कुमार राईले रेफ्रीको निर्णयले खेलमा असर गरेको दाबी गरे । उनले खेल सुधार्न रेफ्रीको स्तरलाई ध्यान दिनुपर्ने बताए ।
यसअघि भएको तेस्रो स्थानको खेलमा नेपाल पुलिसले पश्चिमाञ्चललाई पराजित ग¥यो । पुलिसले खेलमा २५–१८, २५–१९, २२–२५ र २५–२२ को स्कोर कायम गरेको थियो । तेस्रो भएको पुलिसले पुरस्कारस्वरूप २० हजार र सान्त्वना पश्चिमाञ्चलले १५ हजार रुपैयाँ प्राप्त गरे ।
विजयीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आयोजक नवआदर्श सामुदायिक विकास समाज अध्यक्ष बमबहादुर गुरुङ, संस्थाका पूर्वअध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्री, मिलन केसी, सुशीलकुमार श्रेष्ठ, सञ्जयकुमार अधिकारी, संस्थाका सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्यलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
तीज महोत्सव अवसरमा भएको भलिबल प्रतियोगिता खेल हेर्न छिमेकी जिल्लाबाट पनि दर्शक उपस्थित थिए । कार्यक्रममा कलाकारको प्रस्तुतिले महोत्सव स्थल रमाइलो बनेको थियो । पुरस्कार वितरणमा भने भारी वर्षाले कार्यक्रम अस्तव्यस्त बनेको थियो ।
प्रतिक्रिया