यस्ताे छ ८८ किलो सुन काण्डकाे नालीबेली !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
यस्ताे छ ८८ किलो सुन काण्डकाे नालीबेली !

सारांश

  • काठमाडौं ।
  •  प्रहरीले सोमबार बिहान राजधानीको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्दा नेपाललाई ट्रान्जिट बनाई तस्करी गर्दै आएका चिनियाँ तस्कर सन्जालबारे नयाँ खुलासा भएको छ ।
  • पर्यटन व्यवसायको आवरणमा ठमेललाई स्टेसन बनाई ५० वर्षीय चिनियाँ नागरिक वान विई मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सन्जाल सञ्चालन गर्दै आएका हुन् ।

काठमाडौं । प्रहरीले सोमबार बिहान राजधानीको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्दा नेपाललाई ट्रान्जिट बनाई तस्करी गर्दै आएका चिनियाँ तस्कर सन्जालबारे नयाँ खुलासा भएको छ ।

पर्यटन व्यवसायको आवरणमा ठमेललाई स्टेसन बनाई ५० वर्षीय चिनियाँ नागरिक वान विई मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सन्जाल सञ्चालन गर्दै आएका हुन् ।

उनले केरुङ नाका हुँदै आइतबार ल्याएको ४३ करोड रुपैयाँबराबरको सुन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । मिङ आफ्नी पत्नी याङ वेन विङसहित घटनालगत्तै फरार छन् भने सुन लोड गरिएको गाडीका चालक मनोज अधिकारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित चिनियाँ तस्करी सन्जालकै ७ जनालाई पक्राउ गरेको साता नबित्दै अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणमा सुन बरामद भएको हो ।

मिङ साँझ ८:३० मा बा.१७च ६४२७ नम्बरको टाटा जिप हाँक्दै क्षेत्रपाटी, धोबीचौर आइपुगे । त्यहाँ उनले नयाँ होटल सञ्चालनको तयारी गरिरहेका थिए । होटल परिसरभित्र जिप राखेर बाहिरिए ।

बाहिरिनेक्रममा निर्माणाधीन होटल रुँघ्ने एक नेपाली कर्मचारीलाई जिपको साँचो जिम्मा लगाए । त्यसपछि एकैचोटि राति साढे ११ बजे पत्नी विङका साथ ठमेल नरसिं चोकस्थित होटल काठमाडौं वान छिरे ।

चौथो तलामा रहेको आफ्नो शयनकक्षतिर उक्लनुअघि उनले एक कर्मचारीलाई आइतबार बिहान सबेरै ड्राइभर पठाएर क्षेत्रपाटीबाट आफ्नो गाडी ल्याउन अह्राए ।

‘उनले मलाई क्षेत्रपाटीको बाटो बिग्रेकाले गाडी त्यहीँ राखेको, भोलि बिहान जो ड्राइभर आउँछ, त्यसैलाई लिएर गई गाडी ल्याउन अह्राए,’ ती कर्मचारी (नाम गोप्य) ले भने ।

बिहान साढे २ बजे चालक मनोज अधिकारी काठमाडौं वान होटल आइपुगे । उनको सोमबार बिहान होटलबाट चिनियाँ पर्यटक बोकेर केरुङ जाने पालो थियो । उनी राति होटलले व्यवस्था गरेको अलि परको स्टाफ क्वार्टरमा सुतेका थिए ।

उनले होटलमा बसेका २ पर्यटकलाई केरुङ जाने टुरिस्ट कोचमा हाले । होटलमा बसेकाबाहेक अन्य दुई चिनियाँ पनि उक्त गाडीमा थिए । त्यतिबेलै होटल कर्मचारीले साहुको गाडी लिन जाऊँ भनेपछि गाडी त्यहीं राखेर क्षेत्रपाटीतिर लागे ।

क्षेत्रपाटीस्थित निर्माणाधीन होटलमा पुगेर ढोका ढकढक्याएपछि त्यहाँ सुतेका कर्मचारी उठे र साँचो दिए । पार्किङ पुगेर जिपको ढोका खोल्न लाग्दा पहिल्यै घेरा हालेर बसेको महाशाखाको टोलीले उनीहरू सबैसहित गाडीलाई नियन्त्रणमा लियो ।

महाशाखा टोलीले क्षेत्रपाटी र ठमेल होटलमा रहेका सबै कर्मचारी र टुरिस्ट कोचमा रहेका चिनियाँलाई टेकु ल्याएर केरकार गर्न थाल्यो । साथै, तत्काल होटल खानतलासी गर्न थाल्दा चिनियाँ दम्पती फरार भइसकेको थियो । टेकुस्थित महाशाखा परिसरमा ल्याएर जिपको तलासी लिँदा फल्स बटममा लुकाएको ८८ वटा किलो दरका सुनका बिस्कुट फेला परेका थिए ।

ठूलो परिमाणमा सुन आउँदै छ भन्ने सुराकी पाएको महाशाखाको टोली आइतबार साँझदेखि नै ठमेल, लैनचौर तथा क्षेत्रपाटी एरियामा परिचालित थियो । अपरेसनको कमान्ड प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले गरेका थिए भने फिल्डमा प्रहरी नायब उपरीक्षक प्रजित केसीको टोली खटिएको थियो ।

घटना विवरण दिने काठमाडौं वान होटलका कर्मचारीका अनुसार ५ दिनअघि उक्त जिप हाँकेर केरुङतिर लागेका मिङ आफैंले हाँकी काठमाडौं फर्केका हुन् । उनी हम्मेसी आफ्नो गाडी कसैलाई छुन दिँदैनथे ।

दुई एसएमएसको सुराकी

दुई दिनअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्द र अपराध महाशाखा प्रमुख एसएसपी दिवस लोहनीको मोबाइलमा एउटा सन्देश आयो । सन्देशमा केरुङबाट ठूलो परिमाणको सुन काठमाडौं आउँदै गरेको र गाडीको विषयमा समेत उल्लेख थियो ।

उक्त सुराकअनुसार एआईजी चन्दले महाराजगन्ज र लैनचौर वृत्तलाई परिचालन गरे । क्षेत्रपाटीमा सुनसहित गाडी पार्किङ गरिरहेको सूचना आएपछि आइतबार राति करिब १० बजे महानगरीय प्रहरी वृत्त लैनचोरबाट सादा पोसाकको टोली त्यहाँ पुग्यो । पार्किङ गरिरहेको गाडीमा कोही थिएन ।

तत्काल केही हस्तक्षेप गरेन । त्यहाँ सुन नै छ भन्ने यकिन पनि गर्न सकेन । गाडीका चालक वा जिम्मेवार कोही नआएसम्म कुरेरै बस्ने निर्णय गर्‍यो । महानगरीय अपराध महाशाखाको टोलीले पनि आफ्नै हिसाबले अप्रेसन सञ्चालन गरिरहेको थियो ।

जब राति ३ बजे चालक अधिकारी गाडीनेर आए, नजिक बसेको महाशाखाको टोलीले हस्तक्षेप गरिहाल्यो । अन्य युनिटबाट खटिएका प्रहरी ‘जिल्ल’ परे । प्रहरी उपरीक्षक उप्रेतीले केही दिनदेखि लगातार गरेको ‘फलो अप’का कारण ठूलो परिमाणसहित सुन बरामद गर्न सफल भएको बताए ।

सुराकी र प्रतिवेदकलाई १०/१० लाख

८८ केजी सुन बरामदबापत सुराकी र प्रतिवेदक (प्रहरी)ले १०÷१० लाख रुपैयाँ पाउने भएका छन् । अवैध सुनको हकमा सुराकी र प्रतिवेदक दुवैले बरामद परिमाणको १०÷१० प्रतिशत र बढीमा १०÷१० लाख रुपैयाँसम्म पाउने व्यवस्था छ ।

सुराकी राख्ने विषयमा ‘अनेक आर्थिक चलखेल’ लाई कारण देखाउँदै राजस्व प्रशासनले यस्तो सिलिङ तोकेको हो । त्यसअघि विभिन्न प्रतिशतमा कमिसन भाग लाग्ने व्यवस्था थियो । नेपाल प्रहरीले पछिल्लो तीन आर्थिक वर्षमा २ सय ८१ केजी सुन बरामद गरेको थियो ।

तस्करीका तीन घेरा

नेपालमा सुन तस्करले तीन घेराको सेटिङमा काम गर्दै आएको अनुसन्धान अधिकृत बताउँछन् । पहिलो तहका कारोबारी दुबई, हङकङ र चीन बसेर आफ्नो क्षेत्र कटाउने, दोस्रो तहका नेपालमा बसेर सहयोगीमार्फत भन्सार कटाउने र तेस्रो तहका कारोबारीचाहिँ नेपाल-भारत सीमामा बसेर राजधानीमा स्टोर भएको सुन गन्तव्यसम्म पुर्‍याउँदै आएका छन् ।

खासगरी सिन्धुपाल्चोकको तातोपानी नाका, रसुवाको केरुङ र झापाको काँकडभिट्टाबाट तस्करीको सुन काठमाडौंसम्म आउने गरेका छन् । तस्करीको सुनको मुख्य गन्तव्य भारत हो । भारतमा तस्करी गर्न असहज बनेपछि छिटपुट सुन काठमाडौंमै सुन व्यापारीलाई बिक्री हुने विभिन्न घटनाक्रमले देखाएको छ ।

सुन तस्करी अभियोगमा पक्राउ पर्नेमा नेपालीकै संख्या बढी छ । दोस्रो भारतीय र तेस्रोमा चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी मुख्यालयका अनुसार तीन वर्षयता प्रहरीले सुन तस्करी अभियोगमा १ सय ७० जनालाई पक्राउ गरेको छ । त्यसमा भारतीय नागरिक ४० र चिनियाँ ९ छन् ।

पक्राउ व्यक्ति अधिकांश भरिया हुन् । चुनौतीपूर्ण अनुसन्धान महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी यस प्रकरणको अनुसन्धान केही दिनमै ठोस उपलब्धिमा पुग्ने बताउँछन् । प्रहरीले अभियुक्त चिनियाँ दम्पती भाग्नसक्ने सम्भाव्य सबै नाकामा कडा निगरानी राखिसकेको छ ।

चालक मात्र पक्राउ परेबाट अनुसन्धानलाई टुंगोमा पुर्‍याउनु प्रहरीका लागि ठूलो चुनौती देखिएको छ । हवाईमार्गबाट भाग्न सहज नभए पनि नेपाल र तिब्बतको पूरै सिमाना दुर्गम पहाडी भूभाग हुनु एवं त्यहाँ दुवैतर्फको सुरक्षा उपस्थिति कमजोर हुनु ‘सेटब्याक’ भएको प्रहरी बताउँछ।

अन्नपूर्ण पाेष्टका अनुसार प्रहरीले यस प्रकरणमा अभियुक्तमाथि संगठित अपराधको मुद्दा चलाउने भएको छ । चालक अधिकारीलाई सोमबार सात दिनको म्याद लिएर न्यायिक हिरासतमा पठाइएको छ ।

नेपालतारा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगन्जमा विद्युत अवरुद्ध भएपछि ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो
नेपालगन्जमा विद्युत अवरुद्ध भएपछि ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो
भरतपुरमा बन्न थाले यस्ता रिङरोड र लिङक रोडहरू, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास
भरतपुरमा बन्न थाले यस्ता रिङरोड र लिङक रोडहरू, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास
प्रचण्ड भन्छन्ः हिजो ह्रस्व-दीर्घमा पनि लड्यौँ, अब ड्याम्मै सरप्राइज दिन्छौँ
६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए
६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
राष्ट्रपतिमा जुटेन सहमति, अब को बन्छ ?
राष्ट्रपतिमा जुटेन सहमति, अब को बन्छ ?
क्रोएसियाका कप्तान मोड्रिच:  ६ वर्षको हुँदा शरणार्थी, प्रशिक्षक भन्थे फुटबल खेल्न सक्दैन
क्रोएसियाका कप्तान मोड्रिच: ६ वर्षको हुँदा शरणार्थी, प्रशिक्षक भन्थे फुटबल खेल्न सक्दैन
जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल
जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल
एएफसी फुटबल:नेपाल र कुबेत बिच प्रतिस्पर्धा
एएफसी फुटबल:नेपाल र कुबेत बिच प्रतिस्पर्धा
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्ने दिन कुरिरहेका छौं : सरकार
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्ने दिन कुरिरहेका छौं : सरकार

तपाईंले छुटाउनुभयो कि?