मैले बाबुका रुपमा प्रकाशमाथि न्याय गरिनँ, गर्न सकिनँ: प्रचण्ड(पुरै भाषण)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मैले बाबुका रुपमा प्रकाशमाथि न्याय गरिनँ, गर्न सकिनँ: प्रचण्ड(पुरै भाषण)

सारांश

  • काठमाडौं, ८ मंसिर।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले छोराको रुपमा प्रकाशलाई आफुले न्याय गर्न नसकेको बताएका छन्।
  • निवास लाजिम्पाटमा बिहीबार आयोजित शोकसभालाई सम्बोधन गर्दै दाहालले आफू भूमिगत राजनीतिकको कारण त्यस्तो भएको बताएका छन्।

काठमाडौं, ८ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले छोराको रुपमा प्रकाशलाई आफुले न्याय गर्न नसकेको बताएका छन्। निवास लाजिम्पाटमा बिहीबार आयोजित शोकसभालाई सम्बोधन गर्दै दाहालले आफू भूमिगत राजनीतिकको कारण त्यस्तो भएको बताएका छन्।

‘म भूमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथेँ, त्यो पनि राति अबेला आउँथेँ र बिहान झिसमिसेमै हिँडिहाल्थेँ। उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए। सुरक्षाका कारण एकपछि अर्का स्कुल फेर्दाफेर्दै उनको पढाइ लथालिङ्ग भयो’ दाहालले भने, ‘अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए। सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ।’

लाजिम्पाटमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष दाहालले व्यक्त गरेको मन्तब्यको पूर्ण पाठ।

यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनवृन्द,

हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं। हाम्रो पारिवारिक शोकमा तपाईहरुको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्दछ। तपाईहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ।

यही मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट हाम्रा छोरा प्रकाशको असामयिक निधन भयो। उनी जम्मा ३६ वर्षका थिए। ३६ वर्ष संसार बुझ्न र बाँच्न अत्यन्त थोरै उमेर हो। कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधैंका लागि बिदा भए।

म पूर्णकालीन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो। म भूमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथेँ, त्यो पनि राति अबेला आउँथेँ र बिहान झिसमिसेमै हिँडिहाल्थेँ। उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए। सुरक्षाका कारण एकपछि अर्का स्कुल फेर्दाफेर्दै उनको पढाइ लथालिङ्ग भयो। अरु थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालीन कार्यकर्ता भए। अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए। सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ।

केहीले कमरेड प्रकाशलाई केवल मेरो छोरामात्र ठाने र त्यसैमा उनको व्यक्तित्व सीमित गर्न खोजे। तर, उनी प्रविधिमा, संगठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए। म प्रधानमन्त्री हुँदा र त्यसपछि पनि मेरो निजी सचिवालयमा उनी मेरो छोरो भएका कारण होइन, त्यो भूमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीमा थिए। उनी अत्यन्त मिडियामैत्री थिए। प्रविधिमा उनको रुचिमात्रै थिएन, दख्खल पनि थियो। व्यवस्थापनमा उनको दक्षता त यहाँहरु सबैले देख्नुभएकै हो। सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढी सहकर्मी र सहयोद्धा भए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगबिना सफल हुने थिएन।

पुत्रवियोग मान्छेको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि। शोकको यो घडीमा हामीले देशमात्र होइन, विश्वभरिबाटै हार्दिक समवेदना र सान्त्वना पायौं। नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति हामी ऋणी छौं। हाम्रा छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्ण समवेदना पायो। युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यवद्धता र सहानुभूति देखाए। विभिन्न पेशागत, व्यावसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए। मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रुपमा उर्लिएको जनसागरलाई मैले क. प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु।

दश वर्ष लामो नेपाली क्रान्तिकालमा हामीले त्याग, तपस्या र बलिदानका धेरै कीर्तिमान देख्यौं। ‘जीवनको लम्बाई होइन, उचाइँ धेरै हुनुपर्छ’ भन्ने हाम्रो मान्यता थियो र छ। कमरेड प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनहरुले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईका छोराछोरी हौं’ भनेर हाम्रो आत्मबल बढाए। प्रकाश अब छैनन्। तर, देशका हरेक युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं। यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा हामी अझ दृढ भएका छौं। हो, हामी शोकाकूल छौं। तर, देश र समाजप्रतिको दायित्व यो शोकमा हामीले अझ बढी महशुस गरेका छौं।

आफन्तजन, राजनीतिज्ञहरु, पार्टीका साथीहरु, महामहिमहरु, विभिन्न पेशा र वर्गका शुभचिन्तकहरु, यो शोकका क्षणमा यहाँहरुले मनैदेखि दिएको समवेदना र सहानुभूतिले हामीमा धैर्य र हिम्मत थपेको छ। आजको उपस्थितिका लागि म परिवार र पार्टीका तर्फबाट हृदयदेखि नै तपाईहरुप्रति कृतज्ञता व्यक्त गर्दछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?