हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था शब्दावली पार्टीको बिधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिन बाध्य हुने चेतावनी दिएका छन् ।
- अध्यक्ष थापाले पार्टीको विचारमाथि नै प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगको निर्णय आएको जिकीर गर्दै पुनर्विचार नभए आफू उपप्रधानमन्त्री पद त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे ।
- शुक्रबार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन चिन्ह गाईको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग आफैले निर्वाचनको वातावरण धमिल्याउन खोजेको भन्दै निर्वाचन नभए त्यसको सम्पूर्ण दोष निर्वाचन आयोगले लिनुपर्ने जिकीर पनि गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था शब्दावली पार्टीको बिधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिन बाध्य हुने चेतावनी दिएका छन् ।
अध्यक्ष थापाले पार्टीको विचारमाथि नै प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगको निर्णय आएको जिकीर गर्दै पुनर्विचार नभए आफू उपप्रधानमन्त्री पद त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन चिन्ह गाईको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग आफैले निर्वाचनको वातावरण धमिल्याउन खोजेको भन्दै निर्वाचन नभए त्यसको सम्पूर्ण दोष निर्वाचन आयोगले लिनुपर्ने जिकीर पनि गरे ।
उपप्रधानमन्त्री समेत रहेका थापाले धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने पनि स्पष्ट पारे ।
संविधानमा कुनै धर्म विशेषलाई स्थान नदिने व्यवस्था गरिएको छ । यता, राप्रपाले भने हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि संसदमा तत्काल संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको हो । अध्यक्ष थापाले संविधानले राजनीतिक दलको विचारमाथि प्रतिवन्ध लगाउन नहुने व्यवस्था गरेको जिकीर पनि गरे । उनले हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण भएको उल्लेख गर्दै त्यसको बचाउ गर्न पार्टीले कडा संघर्षको कार्यक्रम ल्याउने घोषणा पनि गरे ।
अध्यक्ष थापाले विचारमाथि प्रतिबन्ध लगाउन खोजे बन्दुक बोकेर संघर्ष गर्न बाध्य हुने चेतावनी समेत दिए ।
कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले निर्वाचन आयोगको निर्णयले लोकतन्त्रकै धज्जी उडाएको भन्दै त्यसमाथि पुनर्विचार नभए कडा संघर्षमा जाने चेतावनी दिए ।
यता निर्वाचन आयोगले संविधान प्रतिकूल रहेकाले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउने निर्णय लिएको स्पष्ट पारेको छ ।
प्रतिक्रिया