संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
सारांश
- दाङ, ८ पुस ।
- सरकारका उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले राजनीतिक संक्रमणको अन्त्यसँगै मुलुक अब समृद्धिको दिशातर्फ लागेको बताएका छन् ।
- नेपाल पत्रकार महासंघ दाङले आज सदरमुकाम घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महराले अब केही सातामै बलियो र स्थिर सरकार बनेपछि मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने बताए ।
दाङ, ८ पुस । सरकारका उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले राजनीतिक संक्रमणको अन्त्यसँगै मुलुक अब समृद्धिको दिशातर्फ लागेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले आज सदरमुकाम घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महराले अब केही सातामै बलियो र स्थिर सरकार बनेपछि मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने बताए ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महराले मुलुकलाई सबै समस्याबाट मुक्त गर्दै संमृद्धितर्फ लैजानुको कुनै विकल्प नरहेको उल्लेख गरे । “हिजो मात्रै राष्ट्रिय दलको मान्यता पाएका पाँच दलको बैठक बस्यो”, उपप्रधानमन्त्री महराले भने, “जनयुद्ध र जनआन्दोलनको माध्यमबाट बनेको संविधानसभाबाट जारी संविधान पूर्ण कार्यान्वयनमा आएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै लामो राजनीतिक संक्रमणकालको अन्त्य भएको छ । अब बलियो र स्थिर नयाँ सरकार गठन भएपछि त्यो सरकारले प्राप्त राजनीतिक उपलव्धिहरुलाई रक्षा गर्दै मुलुकलाई स्थिरता र विकासतर्फ लैजाने छ ।” उपप्रधानमन्त्री महराले दाङ जिल्लाको पत्रकारिता क्षेत्रलाई अघि बढाउन योजना बनाएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
दाङ क्षेत्र नं २ (क) बाट प्रदेशसभामा विजयी एमाले नेता अमरबहादुर डाँगीले पत्रकार समाजका कम्पास भएकाले सधै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउँदै भने, “पत्रकार कम्पास हुन् । त्यसैले तपाईंहरुले समाज कहाँनेर छ, हामी कहाँनेर छौं ? भनेर दिशानिर्देश गर्नुपर्छ ।” उनले आफूहरुका राम्रा र नराम्रा दुबै पक्षहरुलाई बिनापूर्वाग्रह सम्प्रेषण गरिदिन पनि आग्रह गरे ।
महासंघका अध्यक्ष सविन प्रियासनले महरा र डाँगीलाई खादा लगाएर सम्मान गरेका थिए । शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डिल्ली मल्लले स्वागत र सहसचिव गोकर्ण पौडेलले सहजीकरण गरेका थिए । सोही अवसरमा नेपाल पत्रकार महासंघ दाङको रजत महोत्सवमा पुरस्कृत भएका तर उक्त दिन विविध कारणले छुटेका पत्रकारिता प्रतिभा पुरस्कारबाट पुरस्कृत महासंघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुदीप गौतम र टीका–देवी विकास पत्रकारिता पुरस्कारबाट महासंघका पूर्वकोषाध्यक्ष रोशनमान श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा केही समय पहिले चट्याङले क्षति गरेको रेडियो प्रकृतिलाई महासंघले १० हजार रुपैयाँ सहयोग गरेको थियो ।
प्रतिक्रिया