
भादगाउँले टोपी र शरीरमा बर्को। कालो वर्णमा झुस्स दारी। शहरमा अरुभन्दा फरक पहिचान शरीर ढाकेको कपडालेमात्रै दिइरहेको थियो। आपसमा बोलिरहेका उनीहरुको गफ बुझ्न सक्ने कुरै थिएन। किनकि भाषा अनुमान लगाउनसक्ने पनि थिएन।

गगनले ६ वर्षअघि कर्णाली पुगेर खिचेको राउटेहरुको फोटोको एल्बम लिएर गएका थिए। देखाए उनीहरुलाई। अब भने फोटो हेर्दै मुस्कुराउन थाले उनीहरु। ‘यसको छोरो, यसकी छोरी। यो मान्छे, त्यो मान्छे। फलानो, ढिस्कानो।’ फोटो हेर्दा उनीहरुको मुखबाट यस्तै आवाज निस्कयो। खुशी भएको एक्सप्रेसन दिए, उनीहरुले। आफ्नै फोटो हेरेर लजाए पनि।
हरिबहादुर शाही, राउटे मुखिया। वर्ष ५२।
दीपक शाही, वर्ष २०।
शिवराम शाही, वर्ष ३०।
शुभराम शाही, वर्ष २५।
उनीहरुले यसरी नै परिचय दिए।
‘किन आउनुभयो काठमाडौं?’
मुखिया शाहीले भने, ‘बाख्रो चाहियो। कुखुरा चाहियो। तेल चाहियो। चामल चाहियो। पाल चाहियो। कम्बल चाहियो।’ उनले यसरी नै चाहियोका चाहियो लगाइराखे। ‘अनि आज कसकसलाई भेटियो त?’
‘दिनभरी घुमियो। धेरै नेतालाई भेटियो। कसैले सहयोग गरेन। कम्बल दिन्छु भनेको छ। दिन्छ कि दिन्न?’ निराश भएर भने, ‘खै दिनभरी डुलियो। हाम्रो छिमेकीहरु पैसा लिएर आउनु भन्नुभा’छ। यता मन्त्रीबाट पैसा नै झरेन। अब रुँदै फर्कनुपर्छ। छिमेकीहरु दु:खी हुन्छन्।’
‘कति लाग्छ त खर्च ?’
‘चार लाख। आफ्नो साथमा पैसा भएन भने, के खाउन्या के लाउन्या। जनातालाई के बाँड्ने? जनताहरुको चित्त दुख्छ,’ मुखिया (राजा)ले भने।’अनि तपाईँहरुलाई सरकारले दिएको परिचयपत्र खै त?’‘फाल्दियो। परिचयपत्र खत्तम। शिकार मरेन, परिचयपत्र बोकेर। परिचयपत्र फ्याँकेपछि बाँदर दिनकै मर्यो।’ ‘अनि कसरी मनाउने त दशैं?’
‘खै कसरी मनाउने? खसीको मासु खान मनथ्यो। मन्त्रीबाट पैसै झरेन।’
मुखियाले यस्तै जवाफ फर्काए। र, गिलासमा हालिराखेको लोकल रक्सी स्वाट्ट पारे।
उनीहरुसँग यस्तै कुरा भयो। जे सोधे पनि हत्पत्त जवाफ दिँदैनथे।
केही सोध्नासाथ भन्थे, ‘गाह्रो पीर नमान्नु होला। पैसा छैन। पैसा दिनुहोला। अघि अर्को मान्छेले त चार हजार दियो।’राउटेहरुको पैसा प्रेम देख्दा उदेक लाग्यो। एक शब्द बोल्यो पैसा। फोटो खिच्न क्यामेरा तेर्सायो पैसा। पैसाबिना नबोल्ने। पैसाबिनाको फोटो खिच्नसक्नु त परको कुरा।

त्यही बेला राउटे मुखियाले थैलो खोलेर देखाए, ‘हेर्नु पैसा छैन। जेब खाली छ। ऐना मात्रै छ। चार जनालाई दुई दुई सय सहयोग गर्दिनु। म मुखियासँग पैसा छैन भने अरु सँग के हुन्छ?’
उनको हातमा सय रुपैयाँ हालेपछि चुप भए उनी। अरु तीन जनाले फेरि माग्न थाले। उनीहरुले भने, ‘रातभर गीत सुन्न मन छ। गीत बजाउने केही छैन। तपाईँको मोबाइल दिनुस्।’
भोलिपल्ट बिहान फेरि त्यही होस्टेलमा पुगियो। क्यान्टिनमा चिया पिइरहेका थिए। पुग्नासाथ पैसा मागे। फेरि सय रुपैयाँ दिइयो। त्यतिले पुगेन। फोटो पत्रकार गगनले पनि आफ्नो खल्ती रित्याए। त्यसपछि उनीहरु बोल्न थाले।दीपक शाहीले उल्टै प्रश्न गरे, ‘कहाँ बस्नुहुन्छ तपाईँहरु?’
‘काठमाण्डू।’
‘काठमाण्डू त ठूलो छ त। कुन ठाउँ?,’ अर्को प्रश्न।
‘भक्तपुर’त्यसपछि चुप भए उनीहरु।
दीपक पटकपटक यसरी नै दशैं खर्च जुटाउन काठमाडौं आएका रहेछन्। उनलाई यता आउँदा यतै मन पर्ने रहेछ। उता हुँदा उतै। भने, ‘यता नि मन पर्छ। उता घर नि मन पर्छ।’
सुर्खेतको फिल्म हलमा गएर रेखा थापाको हिम्मतवाली हेरेका रहेछन् दीपकले। रेखालाई पनि भेटेको बताए उनले। दीपकले रेखाको कुरा गरिरहँदा हरिबहादुरले सोधे, ‘रेखा थापा कहाँ छ ऐले?

‘यतै हुनुहुन्छ होला।’
मुखियाले फेरि भने, ‘यता भएको भए मलाई भेट्न आइहाल्थी, यता छैन होला। कि हामी आएको थाहा पाइन?,’ आश्चर्य मान्दै सोधे उनले। मुखियाले धेरैपटक रेखा थापालाई भेटेका रहेछन्। थापाबाहेक अरु कलाकार नचिन्ने उनीहरुले बताए। थापाले धेरै पटक राउटेहरुलाई सहयोग गरेकी रहिछिन्।
चिया खाइसकेपछि दीपकले गाउन थाले, ‘पर्ख पर्ख मायालु रेलको झ्याल समाएर सँगै भागुम्ला… । त्यो भन्दा बढी शब्द उनलाई आउँदैन रै’छ। रोकिए।
त्यस्तै ‘सिमसिमे पानीमा…’ पनि गाए।
सुर्खेत बजार आउँदा सिकेका रहेछन् गीत। माघीमा महिलाहरुले गाएको सुनेका रहेछन्। कुराकानी गर्दागर्दै खाना खाने बेला भयो। खाना खाँदै गर्दा भने, ‘आज त मासु रै’नछ।’
क्यान्टिनको दिदीले भनिन्, ‘हिजो पशुपति जाँदा बाँदर शिकार गरेर ल्याउनुपर्थ्यो नि?’

मुखियाले भने, ‘यताको बाँदर त खतरनाक हुँदो रै’छ। शिकार गर्छु भनेको तँलाई नै मारेर खान्छु भन्यो।’ पत्याउन नसकिने कुरा सुनाए उनले।’बाँदरसँग कुरा गर्नुहुन्छ र?’
उनले हाँस्दै भने, ‘यताको बाँदर शिकार गर्न नसकिने रै’छ। डर लाग्यो। झम्टिँदो रै’छ।’
त्यति भनेपछि उनीहरु हिँड्न लागे। हिड्ने बेला फेरि पैसा मागे। सय रुपैयाँ हातमा हालेपछि बिदाईको हात हल्लाए।
***

त्यस्तै बादरसँग आफ्नै भाषामा बात मारे। खुशी थिए। जनावरहरुसँग कुरा गर्दा देखिने हाउभाउ हेर्न लायकको थियो। अष्ट्रिजलाई हेर्दै भने, ‘खसीभन्दा ठूलो हुँदो रै’छ। यस्ले त मार्छ होला।’
‘लाने हो त?’ सोध्न नपाई दिपकले ‘लादैन’ भने।
डुंगा चड्नेहरु निक्कै रमाए। दीपकले पर्ख पर्ख मायालु… भन्दै गाउन थाले। शिवराम अनुहारको भाव हेर्दा डराएको देखिन्थ्यो। तर उनले भने, ‘हामी भेरी नदीमा पौडी खेल्छ। यो भन्दा ठूलो छ।’

उनीहरुको चिडियाघर यात्रा रोमाञ्चक रह्यो। रमाए, खुशी भए। समग्रमा काठमाडौँ यात्रा रमाइलो भयो उनीहरुको।सरकारी मान्छेहरुसँग भेट्ने कार्यक्रम सक्काए। सहयोगहरु जुटिरहेको छ। कम्बलहरु किनिसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चार लाख सहयोग गर्न निर्देशन दिइसकेका छन्। काठमाडौँ आएको दिन सरकारसँग माग राखेको रकम हात परिसकेको छ। त्यो रकमले उनीहरुले खसी कुखुरा किन्न सक्नेछन्। चामल र कम्बल पनि किन्न सक्नेछन्। पहिलो दिन भनेजस्तै रुँदै सुर्खेत फर्कनुपर्ने छैन। उनीहरुका जनता निराश हुने छैनन्। दशैं कसरी मनाउने भन्ने कन्फ्युजन छैन अब। मुखियाले भने, ‘सरकारी मान्छेले राम्रो सहयोग गर्यो। अब दशैं राम्रो मान्छ।’ उनीहरुले काठमाडौं छाडेर सुर्खेतको यात्रा तय गरिसके।



प्रतिक्रिया