कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको
सारांश
- दाङ, १७ पुस ।
- कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहले पाएका छन् ।
- विगतमा जिल्ला शिक्षा कार्यालयले वार्षिक परीक्षा गराउँदै आएको थियो ।
दाङ, १७ पुस । कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहले पाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयले वार्षिक परीक्षा गराउँदै आएको थियो ।
संविधानतः विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्यहरु स्थानीय तहको क्षेत्राधिकारमा राखेकोले त्यो अधिकार प्रयोग गरेर कक्षा ८ को वार्षिक परीक्षा स्थानीय तहलाई दिइएको जिल्ला शिक्षा समितिका सदस्य सचिव तथा जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताए । उनका अनुसार अब सबै स्थानीय तहले त्यो अधिकार प्रयोग गरेर परीक्षा सञ्चालन गर्नेछन् ।
शिक्षा समितिले मंगलवार स्थानीय तहका प्रमुखसँग गरेको छलफलमा स्रोतव्यक्तिको करार सम्झौता र हाजिर लगाउने जिम्मा पनि स्थानीय तहमा दिने सहमति भएको छ । अझै पनि केही स्थानीय तहमा शिक्षाका कर्मचारीहरु जान सकेका छैनन् । गएका कर्मचारीले समेत अपेक्षाकृत काम नगरेको गुनासो स्थानीय तहका प्रमुखहरुको थियो । त्यसैगरी थप कक्षाको अनुमति, विद्यालयको नाम परिवर्तनको लागि तत्कालको लागि निवेदन माग गर्ने र थप कानून आएसँगै त्यसको प्रक्रिया अघि बढाउने भएको छ । शिक्षकको आन्तरिक, बाह्य जिल्लामा सरुवा पनि स्थानीय तहको सहमतिको आधारमा गर्ने सहमति भएको छ ।
प्रतिक्रिया