माघ ८ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
माघ ८ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु

सारांश

  • कान्तिपुर   आजको कान्तिपुरमा छापिएका मुख्य समाचारहरु :   घटाली गाउँ: जहाँ सबै घरमा बिरामी छन्   घटाली गाउँ (कालिकोट) – दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि आइतबार बिरामीबाट संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाए  ।
  • महामारी फैलिएको खाडाचक्र ४ ताडी घटाली गाउँसहितका टोलबाट ४ बालबालिका र २ वयस्क गरी ६ बिरामीको घाँटीको पानी संकलन गरी काठमाडौं पठाइएको हो ।
  • खाडाचक्र २ र ४ वडामा शनिबार परीक्षण गर्दा ८ सय १४ बिरामी फेला परेका थिए ।

कान्तिपुर

 

आजको कान्तिपुरमा छापिएका मुख्य समाचारहरु :

 

घटाली गाउँ: जहाँ सबै घरमा बिरामी छन्

 

घटाली गाउँ (कालिकोट) – दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि आइतबार बिरामीबाट संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाए  ।

महामारी फैलिएको खाडाचक्र ४ ताडी घटाली गाउँसहितका टोलबाट ४ बालबालिका र २ वयस्क गरी ६ बिरामीको घाँटीको पानी संकलन गरी काठमाडौं पठाइएको हो ।

खाडाचक्र २ र ४ वडामा शनिबार परीक्षण गर्दा ८ सय १४ बिरामी फेला परेका थिए । तीमध्ये गम्भीर अवस्थामा रहेका ६ जनाबाट नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए ।

‘महामारीले चर्को रूप लिएको बस्तीका ६ जनाको स्याम्पल पठाएका हौं,’ अलीले भने, ‘गाडीमार्फत सुर्खेत पठाएका छौं, त्यहाँबाट विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले काठमाडौं लैजाने छन् ।’ काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएपछि मात्र रोगका बारेमा यकिन हुने उनले बताए । बिरामीमा देखिएको लक्षणका आधारमा जिल्ला स्वास्थ्यले भाइरल ज्वरो भएको अनुमान गरेको छ ।

रोग फैलिएपछि गाउँमा विद्यालय पनि सुचारु हुन सकेका छैनन् । स्थानीय जनजीवन मावि र नवज्योति आधारभूत विद्यालयमा दलित बस्तीका अधिकांश बालबालिका विद्यालय नआएको शिक्षक भीमप्रसाद पाण्डेले बताए । गाउँमा २ सय मास्क वितरण गरिएको जिल्ला जनस्वास्थ्यले जनाएको छ ।

रोगबाट ताडी घटाली गाउँमा सबैभन्दा बढी बिरामी छन् । त्यहाँका कुनै पनि घरमा बिरामी खाली नभएको वडा सदस्य जय विश्वकर्माले बताए । यो खबर आजको कान्तिपुरले छापेको छ ।

अन्नपूर्णपोस्ट

 

आजको अन्नपूर्णपोस्टमा छापिएका मुख्य समाचारहरु :

 

 किन पाएनन्  प्रदेश प्रमुखले  झन्डावाल गाडी ? प्रदेश प्रमुखलाई यस्तो सुविधा

काठमाडौं – गृह मन्त्रालयले कस्तो खालको राष्ट्रिय झन्डा राख्ने भन्ने निर्णय गर्न नसक्दा सातै प्रदेशका प्रमुख चार दिनदेखि झन्डाविहीन गाडीमा हुइँकिइरहेका छन् ।

प्रदेशको राष्ट्रपतिसरह मान्यता दिइए पनि गृहका कर्मचारीले ‘ध्यान दिन नसक्दा’ प्रदेश प्रमुखहरू झन्डावाल गाडी चढ्नबाट वञ्चित भएका हुन्। प्रदेश प्रमुखसम्बन्धी व्यवस्था पहिलोपटक गरिएकाले तत्काल झन्डाको व्यवस्थापन गर्न नसकिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएलगत्तै गृह मन्त्रालयले प्रदेश प्रमुखहरूलाई सामान्य खालको स्कोर्पियो गाडी जोहो गरेको थियो। हतारमा गाडीको जोहो भए पनि तत्काल राष्ट्रिय झन्डा फहराउने व्यवस्था गर्न नसकिएको दुवाडीले स्विकारे।

प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधिसमेत हुन्। उनीहरूले आइतबार सातै प्रदेशका अस्थायी मुकाममा पुगेर प्रदेशका सांसदलाई शपथ खुवाए। शुक्रबार राष्ट्रपति कार्यालयमा आफैं शपथ लिएर बाहिरिँदा र आइतबार प्रदेश सांसदहरूलाई शपथ खुवाएर बाहिरिँदासमेत उनीहरूले झन्डावाल गाडी चढ्न पाएनन्।

गृह मन्त्रालयले गत शुक्रबार नै प्रदेश १ का प्रमुख गोविन्द सुब्बा, प्रदेश २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, प्रदेश ४ का बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, प्रदेश ६ का दुर्गाकेशर खनाल र प्रदेश ७ का मोहनराज मल्ललाई विभिन्न मन्त्रालयले प्रयोग गर्दै आएको गाडी दिएको थियो।

‘प्रदेश प्रमुखका लागि राष्ट्रिय झन्डासहितको राम्रो गाडी व्यवस्था गर्न सक्नुपथ्र्यो तर सरकारले उनीहरूलाई सहायक मन्त्रीसरह व्यवहार गर्‍यो, जुन दुःखद हो’, गृहका एक अधिकारीले भने। सरकारले प्रदेश प्रमुख नियुक्त गर्नुअघि नै उनी चढ्ने गाडीमा राख्ने झन्डाको सम्बन्धमा निक्र्योल गर्नुपर्नेमा विभिन्न कारणले त्यसो गर्न नसकेको प्रवक्ता दुवाडी बताउँछन्।

गरिमा राख्न सकेनन् प्रमुखले
सरकारले राष्ट्रिय झन्डासहितको गाडी दिन नसकिरहँदा प्रदेश प्रमुखले पनि संविधानअनुसार आफ्नो गरिमा भने राख्न सकेनन्। प्रदेशको राष्ट्रपतिसरह भए पनि उनीहरू खुलेआम विभिन्नखाले सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्न थालेका छन्। कतिपयले त नेताहरूले जसरी नै भाषण गरेको समेत देखिएको छ।

प्रदेश प्रमुखको सुविधा :
-मासिक पारिश्रमिक ६४ हजार
-पोसाक सुविधा प्रतिवर्ष १८ हजार
-अतिथि सत्कार तथा भैपरी खर्च मासिक ४० हजार
-स्वदेश भ्रमणभत्ता प्रतिदिन ३ हजार
-विदेश भ्रमणभत्ता प्रतिदिन २५० डलर
-बिमा १५ लाख
-सचिवालय कर्मचारी १२ जना

यो खबर आजको अन्नपुर्णपोष्टमा छापिएको छ ।

 

बमले खुट्टो छिनेकी सरितालाई अस्पतालबाट निकाल्न पूर्वसांसद जमानी

 

निर्वाचनका बेला बम विस्फोटनमा घाइते भइ उपचार खर्च तिर्न नसकेका आमा छोरालाई एकजना पूर्व सांसद जमानी बसेर अस्पतालबाट निकालेका छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा भएको बम बिष्फोटमा घाइते आमाछोरालाई पूर्वसांसद रामकुमार भट्टराई जमानी बसेर आइतवार चितवनस्थित मेडिकल कलेजबाट निकालेका हुन् ।

घाइतेहरु सरिता राई र जैविक आइतवार दिउँसो चितवनबाट घर फर्किएका छन् । सरिताको एउटा खुट्टा काटीएको छ भने छोरा जैभिकको दुवै खुट्टामा गम्भीर चोट छ ।

उनीहरु दुवैजना अस्पताल बस्नु नपर्ने भएपछि एकसाता अघि नै डिस्चार्ज हुन अस्पतालले भनेको थियो । तर पैसा नहुँदा उनीहरु अस्पतालमै बस्न बाध्य थिए ।

सरिताको उपचार खर्च ६ लाख २५ हजार र छोरा जैभिकको उपचार खर्च ४ लाख २९ हजार लागेको छ । दुई महिना सम्म अस्पताल बस्दा खाना खाएको ५२ हजार दुई सय रुपैयाँ पूर्वसांसद भट्टराईले तिरिदिएका छन । यो खबर आजको अन्नपूर्णपोष्टमा छापिएको छ  ।

नयाँपत्रिका

आजको नयाँ पत्रिकामा छापिएका मुख्य समाचारहरु :

 

ऐतिहासिक शपथ: एक घन्टा अलपत्र परे सांसद, शपथ लिन हेलिकोप्टर चार्टर्ड

 

हतारमा आयोजित कार्यक्रम भेट्टाउन प्रदेश प्रमुखलाई नै सास्ती, हेलिकोप्टर चढेरै जाँदा पनि समयमै कार्यक्रम हुन सकेन

 

प्रदेश १
एक घन्टा अलपत्र परे सांसद
प्रदेश १ का सांसदलाई आइतबार बिहान १० बजे विराटनगरस्थित वीरेन्द्र सभाहलमा शपथ खुवाउने कार्यक्रम थियो । सांसद र अन्य आगन्तुक समयमा नै पुगे । सभाहलबाहिर ठूलै भिड जम्मा भइसकेको भयो । तर, सांसदहरूको शपथ कार्यक्रम राखिएको सभाहलको ढोका खुलेन । करिब डेढ घन्टा सांसद बाहिरै अलपत्र परे ।

तोकिएको समयमा सभाहलमा कुर्सी व्यवस्थापन भइसकेको थिएन । धमाधम कुर्सीमा कभर राखिँदै थियो । ११ बज्नै लाग्दा सभाहलको ढोका खोलियो र सांसद भित्र पसे । अतिथि र सांसद कहाँ बस्ने भन्ने छुट्याइएको थिएन । जसले जहाँ सिट पाए त्यहीँ बसे ।

कार्यक्रम औपचारिक रूपमा सुरु भएपछि बल्ल उद्घोषकले सांसदहरूलाई बायाँतिर बस्न आग्रह गरे । सभाहल एकछिन फेरि अस्तव्यस्त भयो ।

प्रदेश प्रमुख गोविन्द सुब्बाले ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराए । उनले अन्य सदस्यलाई शपथ खुवाए । संघीय समाजवादीका जयराम यादवले भने मैथिलीमा शपथ लिए । सबै सांसदलाई नेपालीमा शपथको मस्यौदा बाँडिएको थियो । उनले उल्था गरेर मैथिलीमा शपथ खाएको र मस्यौदा पनि मैथिलीमै सारेर हस्ताक्षर गरेको बताए ।

प्रदेश २
शपथमा नै सांसदको हुटिङ
जनकपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा बिहान ११ बजे प्रदेश २ का सांसदको शपथ कार्यक्रम भयो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले कार्यक्रमको उद्घोषण सुरु गर्नेबित्तिकै सांसदहरूले मैथिलीमा शपथ गर्न पाउनुपर्ने भन्दै हुटिङ थाले ।

उद्घोषकले आफ्नो रुचिअनुसारको भाषामा सांसदहरूले शपथ लिन पाउने बताएपछि मात्रै उनीहरू शान्त भएर आसनग्रहण गरे । धेरै सांसदको माग मैथिलीमा शपथ गर्न पाउनुपर्ने थियो ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई मैथिली भाषामै शपथ गराउन थाले । तर, अर्का प्रदेश सभा सदस्य जगत यादवले हुटिङ गरेर हिन्दीमा शपथ गर्न पाउनुपर्ने माग गरे । लगत्तै ओमप्रकाश शर्माले भोजपुरीमा पनि शपथ गराउनुपर्ने माग गरे । सभाहल एकछिन अस्तव्यस्त बन्यो  ।

चार भाषामा शपथ 
हुटिङकाबीच सांसदहरूको आ–आफ्नो रुचिअनुसारको भाषामा शपथको व्यवस्था मिलाइयो । सांसदहरूले मैथिली, नेपाली, हिन्दी र भोजपुरी भाषामा शपथग्रहण गरे ।

२४ सदस्यले नेपालीमा, ४७ ले मैथिलीमा, ११ ले हिन्दी र २५ जनाले भोजपुरीमा शपथ लिए । प्रदेश २ मा प्रत्यक्षतर्फ निर्वाचित ६४ र समानुपातिकतर्फका ४३ गरी १०७ सांसद छन् । प्रदेश प्रमुख कायस्थले २१ माघमा प्रदेश सभाको बैठक डाकेका छन्  ।

प्रदेश ३
सडक सिँगारेर सांसदको स्वागत
शपथ ग्रहणमा सहभागी हुन आउने प्रदेश सभाका सांसदको स्वागतका लागि आइतबार हेटौँडाका मुख्य सडक सफा गरेर सडक दायाँबायाँ घडा राखिएको थियो । स्थानीयवासी सडकमा नै आएर सांसदलाई फूल दिएर स्वागत गरे ।

समूह बनाएर साना सवारीसाधन रिजर्भ गरी अन्य जिल्लाका सांसद हेटौँडा पुगेका थिए । शपथको समय सुरु हुने वेलासम्म पनि सांसदहरू आउने क्रम जारी थियो । हेटौँडा बजारको सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो । प्रदेश प्रमुख अनुराधा कोइरालाले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाका ज्येष्ठ सदस्य एमाले सांसद डोरमणि पौडेललाई शपथ गराएकी थिइन् ।

बाँकी सदस्यलाई पौडेलले शपथ गराए । प्रदेश ३ मा प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फका ४४ गरी ११० सांसद छन् । अधिकांशले नेपाली र केही सांसदले मातृभाषामा शपथ लिए । शपथ कार्यक्रमपछि सांसदहरूका लागि एभोकाडो एन्ड अर्किड रिसोर्टमा दिवाभोज व्यवस्था गरिएको थियो ।

राजधानीकै चर्चा
सर्वसाधारणझै सांसदहरू पनि प्रदेश राजधानीकै चर्चा गरिरहेका थिए । मकवानपुरका सांसदले हेटौँडालाई राजधानी बनाउने प्रतिबद्धता गरे । मुनु सिग्देल, ओम घलान, जुनेली श्रेष्ठ र सन्तबहादुर प्रजाले राजधानीका लागि हेटौँडा नै सबैभन्दा उत्तम भएको बताए ।

प्रदेश ४

दीपक मनाङेसहित दुईजना अनुपस्थित

प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार आफ्नो पद सम्हालेलगत्तै प्रदेश सभा सदस्यहरूलाई शपथ गराए । पोखराको नदीपुरस्थित प्रदेश सभास्थल (नगर विकास प्रशिक्षण केन्द्रको हल)मा शपथग्रहण कार्यक्रम राखिएको थियो ।

दुई सांसद भने शपथ समारोहमा अनुपस्थित रहे । प्रदेश प्रमुख कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ गराए । बाँकी सदस्यलाई श्रेष्ठले शपथ गराए । प्रदेश सभास्थल रंगरोगन र मर्मतसम्भार गरेर सजाइएको थियो ।

दुई सांसद अनुपस्थित
मुस्ताङबाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङेको नामले चिनिने राजीव गुरुङ र तनहँुका एमाले सांसद रामबहादुर गुरुङ शपथग्रहणमा उपस्थित थिएनन् । मनाङेलाई हालै सर्वोच्च अदालतले हत्या आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । यसअघि उनलाई पुनरावेदनले पाँच वर्षको सजाय सुनाएको थियो । उनी पक्राउ पर्ने डरले कार्यक्रममा उपस्थित भएनन् ।

एमाले सांसद गुरुङ काठमाडौंबाट पोखरा आउने जहाज डिले भएका कारण कार्यक्रममा पुग्न सकेनन् । उनी आइतबार मात्रै विदेशबाट काठमाडौं आएका थिए । शपथ कार्यक्रम सकिएपछि मात्रै उनी पोखरा पुगेका थिए । प्रदेश ४ मा प्रत्यक्ष निर्वाचित ३६ र समानुपातिकतर्फका २४ गरी ६० सांसद छन् ।

प्रदेश ५
निर्धारित समयमा पुगेनन् सांसद
प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सांसदहरूलाई बिहान ११ बजे बुटवल उद्योग वाणिज्य संघको सभाहलमा शपथ खुवाउने कार्यक्रम थियो ।

तर, निर्धारित समयमा ३० सांसद पनि उपस्थित भएनन् । त्यसकारण निर्धारित समयमा कार्यक्रम सुरु हुन सकेन । एक घन्टा ढिलो सुरु भयो । प्रदेश प्रमुख झाले ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई शपथ गराए । बाँकी सांसदलाई पोखरेलले शपथ खुवाए ।

प्रदेश ५ मा प्रत्यक्ष निर्वाचित ५२ र समानुपातिकतर्फका ३५ गरी ८७ सांसद छन् । आइतबार ८५ सांसदले शपथ लिए । सभाहलमा सांसदहरूका लागि सेतो रङको कुर्सी राखिएको थियो । अन्य अतिथि र आगन्तुकका लागि प्लास्टिक कुर्सीहरूको व्यवस्था गरिएको थियो ।

शपथपछि प्रदेश प्रमुखले सबै सांसदसँग छुट्टाछुट्टै परिचय गरेका थिए । त्यसपछि सांसदहरू फोटो खिच्नमा व्यस्त बने । प्रदेश प्रमुख झाले पनि आइतबार नै पदबहाली गरेका हुन् । रुपन्देही व्यापार संघको कार्यालयमा उनको अस्थायी कार्यालयको व्यवस्था गरिएको छ ।

दुई सांसद अनुपस्थित
रुपन्देहीका सहायक सिडिओ शम्भुप्रसाद रेग्मीका अनुसार शपथ समारोहमा दुई सांसद अनुपस्थित रहे । उनका अनुसार रुपन्देहीकी राजपा सांसद विना पन्त र अर्घाखाँचीकी एमाले सांसद जलपा भुसाल शपथ कार्यक्रममा सहभागी भएनन् ।

प्रदेश ६
शपथ लिन हेलिकोप्टर चार्टर्ड
प्रदेश ६ का सांसदहरूले अस्थायी मुकाम सुर्खेतमा आइतबार शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले उनीहरूलाई शपथ गराएका हुन् । खनालले ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई शपथ गराए । बाँकी ३९ सदस्यलाई शाहीले शपथ खुवाए ।

प्रदेश प्रमुख र सांसद नपुगेपछि कार्यक्रममा दुई घन्टा ढिलाइ
प्रदेश सांसदलाई बिहान ११ बजे शपथग्रहण गराउने कार्यक्रम थियो । त्यहीअनुसार सबैलाई निम्ता गरिएको थियो । तर, प्रदेश प्रमुख खनाल र प्रदेश सभाका आधाजसो सदस्य समयमा सभास्थल पुग्न सकेनन् । उनीहरू काठमाडौंमै थिए । शनिबार मौसम खराबीका कारण जहाज उड्न नसकेपछि आइतबार बिहान उनीहरू सेनाको हेलिकोप्टर चार्टर्ड गरेर सुर्खेत पुगे ।

प्रदेश प्रमुख खनाल आफैंले पदभार ग्रहण गरेका थिएनन् । त्यसैले विमानस्थलबाट सीधै पदबहाली गर्न प्रदेश प्रमुखको कार्यालय पुगे जहाँ उनले सेनाको सलामी पनि थापे । त्यतिन्जेल बिहान ११ बजे तोकिएको सांसदहरूको शपथ कार्यक्रम दिउँसो १ बजेका लागि सारिएको थियो ।

सांसदहरूको शपथ कार्यक्रम जिल्ला समन्वय समितिको साँघुरो सभाहलमा गरियो । आगन्तुक धेरै भएपछि कार्यक्रम नै अस्तव्यस्त बन्यो । कार्यक्रम सकिने वेलासम्म पनि कुर्सी प्रबन्ध गर्नमै आयोजक व्यस्त थियो ।

प्रदेश ७
प्रदेश प्रमुखको पर्खाइमा ५ घन्टा
बिहान १० बजे सांसदहरूलाई शपथग्रहण गराउने कार्यक्रम तय थियो । तर, प्रदेश प्रमुख नै नपुगेपछि झन्डै पाँच घन्टा ढिलो मात्रै कार्यक्रम सुरु भयो । काठमाडौंमै रहेका प्रदेश प्रमुख मोहनराज मल्ल जहाजबाट धनगढी फर्कने कार्यक्रम थियो ।

तर, हुस्सुका कारण जहाज नउडेपछि उनी सडकमार्गबाट आइतबार मध्याह्न मात्र धनगढी पुगेका थिए । केही सांसद पनि तोकिएको समयमा कार्यक्रमस्थल पुगेनन् । त्यसैले दिउँसो २ बजेका लागि शपथ कार्यक्रम सारियो । तर, सारिएको समयमा पनि एक घन्टा ढिलो गरी शपथ कार्यक्रम सुरु भयो ।

जिल्ला समन्वय समितिको सभाहलमा शपथ कार्यक्रम राखिएको थियो । प्रदेश प्रमुख मल्लले ७४ वर्षीया ज्येष्ठ सदस्य दिव्येश्वरी शाहलाई शपथ गराए । बाँकी ५१ सदस्यलाई शाहले शपथ गराइन् । प्रदेश ७ मा ५३ सांसद छन् ।

एक अनुपस्थित, एकको छुट्टै शपथ
डोटीबाट निर्वाचित भरतकुमार खड्का शपथ कार्यक्रममा उपस्थित भएनन् । सोमबार छोरीको बिहे भएका कारण उनी अनुपस्थित भएका हुन् । उनको शपथ पछि हुनेछ । त्यस्तै, चुनकुमारी चौधरी शपथ सकिएपछि मात्रै कार्यक्रममा पुगिन् । उनलाई छुट्टै शपथ गराइयो ।यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।

 

जरिवाना तिरे ‘लाइसेन्स’ नभए पनि छुट

 

सवारी सञ्चालन अनुमतिपत्र(लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो ।

लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना तिरेपछि छुटकारा पाइन्छ ।

जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सवारी चालक लाइसेन्सविनै बर्षौदेखि सवारी साधन चलाइरहेका छन् । उनीहरुलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्ने भन्ने पनि होइन ।

उनीहरुलाई ट्राफिकले जरिवानावापतको सामान्य चिट काटेपछि पुनः सवारी चलाउन योग्य हुन्छन् । ग्रामीण भेगमा मात्र होइन, राजमार्गमा चल्ने केही सवारी चालक पनि यसरी नै सवारी चलाइरहेका छन् ।

दुर्घटना न्यूनिकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै ट्राफिक प्रहरीले राजमार्ग र ग्रामीण भेगमा समेत चेकजाँधचमा कडाइ गरेको छ ।

जसबाट सरकारलाई राजश्व त बढेको छ, तर दुर्घटनामा भने न्यूनिकरण भएको छैन् ।यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।

कारोबार

आजको कारोबारमा छापिएका मुख्य समाचारहरु :

 

लोडसेडिङ हट्यो, १३ हजारको चुल्हो ४ हजारमा किन बिकेन ?

 

काठमाडौं – भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन)को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन।

मुलुकमा नियमित विद्युत् प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन नहुँदा इन्डक्सन बिक्री हुन नसकेको बताए ।

१३ हजार मूल्य पर्ने चुल्होलाई मूल्य घटाएर ४ हजारमा बिक्री गर्ने गरिए पनि अहिलेसम्म २५ प्रतिशतभन्दा बढी बिक्री हुन सकेको छैन।

सरकारले समयमै मूल्य घटाएर बिक्री नगर्दा अनुदानको चुल्हो बिक्री हुन नसकेको हो। बजारमा यसभन्दा पनि सस्तो मूल्यका इन्डक्सन पाइने भएकाले ग्राहकको आकर्षण यसमा हुन सकेको छैन।

सरकारले बिक्री खुला गरेको आठ महिना बितिसक्दा पनि ३ हजार ५ सय ३० वटा मात्र बिक्री भएको नेशनल ट्रेडिङ लिमिटेडले जानकारी दिएको छ।यो खबर आजको कारोबारले छापिएको छ ।

 

नागरिक

आजको नागरिकमा छापिएका मुख्य समाचारहरु :

सीमा स्तम्भ निर्माण गर्न पाँच बर्ष लाग्ने

 

काठमाडाैं – नापी विभागले नेपाल र भारतबीचकाे सीमा विवाद सधैँका लागि  सुल्झाउन अागामी ५ वर्षभित्र दुई देशकाे सिमामा सम्पूर्ण ‘सीमा स्तम्भ” निर्माण गरिसक्ने भएकाे  छन् ।

नेपाल- भारतबीच रहेकाे १ हजार ८ सय ८० किलाेमिटर सीमामा कुल ८ हजार ५ सय ५३ सिमा स्तम्भ रहनेछन्। यीमध्ये करिब ६ हजार ६ सय ३ सीमा स्तम्भ दुवै देशकाे सहमतिमा निर्माण गरिसकिएकाे छ।

‘नेपाल–भारत सीमामा रहने कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भमध्ये ६ हजार ६ सय ३ वटा निर्माण भइसकेको छ । अब २ हजारभन्दा बढी सीमा स्तम्भ निर्माण गर्न बाँकी छ,’ नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले भने, ‘हामीले आगामी ५ वर्षभित्र यी सबै सीमा स्तम्भ निर्माण गर्ने लक्ष्य लिएका छौं ।

यसैअनुरुप कार्य अघि बढेको छ। सन् १८१६ को सुगौली सन्धि, सोही वर्षको पूरक सन्धि, सन् १८६० र १८७५ लगायतका सन्धि सम्झौताका आधारमा नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा निर्धारण गरिएको छ ।

यसरी निर्धारित  सीमालाई विभिन्न चरणमा तयार गरिएका सीमा नक्सामा उल्लेख गरिएको र विभिन्न स्थानमा सीमा स्तम्भ स्थापना गर्दै आइएको छ ।

‘पछिल्लो तीन वर्षमा ६ सय ३ वटा सीमा स्तम्भ निर्माण गर्ने कार्य सम्पन्न भएको छ । यसै अनुभवका आधारमा बाँकी सीमा स्तम्भ निर्माण गर्न ५ वर्षको समयावधि राखिएको हो,’ भट्टले भने।

सिमालाई लिएर दुई देशबीच विवाद उत्पन्न भएपछि सन्१९८० मा नेपाल भारतले संयुक्त प्राविधिक समिति (जेटिसी) गठन गरेका थिए। यो खबर आजको नागरिकले छापिएको छ ।

 

दिपायल आन्दोलनको स्वरुप फेरियो, यातायात र बजार खुल्यो

 

 

सात नम्बर प्रदेशको राजधानी दिपायल माग्दै २६ दिन देखि जारी आन्दोलनको स्वरुप फेरिएको छ । आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ‘उपयोग’ को रणनीति अनुसार संघर्ष समितिले स्वरुप फेर्ने निर्णय गरेको हो ।

डोटीमा भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले राष्ट्रिय सभाको लागि डोटीमा खुलेको निर्वाचन अधिकृतको कार्यालय सार्ने तयारी गरिरहेको थियो ।

तर संघर्ष समितिले निर्वाचन डोटीमै गर्ने गरी बातावरण तयार गर्ने निर्णय गरेको छ । मतदानका लागि जिल्लामा आउने प्रदेश सभाका सांसद तथा जनप्रतिनिधीहरुलाई दिपायलका पक्षमा पार्न ‘लबिङ’ गर्ने रणनीति अनुसार अघि बढ्ने निर्णय गरिएको छ।

आन्दोलनकारीहरुको निर्वाचनको बातावरण बनाउने निर्णयलाई राष्ट्रिय सभाको ७ नम्बर प्रदेशका निर्वाचन अधिकृत जयानन्द पनेरुले स्वागत गरेका छन् ।यो खबर आजको नागरिकले छापिएको छ ।

नेपाल समाचारपत्र

 

 

आजको समाचारपत्रमा छापिएका मुख्य समाचारहरु :

सिलवाल फेला नपरे पछि १५० जनाको टोली रित्तो हात फर्कियो !

 

प्रहरीको फरार सूचीमा रहेका प्रहरीका पूर्वडीआईजी एवं एमाले ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाललाई पक्राउ गर्न पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ।

हिजो आइतबार बिहान महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नकुल पोखरेल, ४ प्रहरी निरीक्षक सहित करिब १ सय ५० जनाको जम्बो टोली भट्टेडाँडा पुगेको थियो ।

बिहान ४ बजे भट्टेडाँडा प्रहरी मुख्यालबाट खटिएको टोलीले सिलवाललाई सो क्षेत्रमा ४ घण्टा खोजेको थियो । फेला पार्न नसकेपछि बिहान ९ बजे सो टोली रित्तोहात फर्किएको थियो ।

सिलवाल ललितपुरको दक्षिणी भेगमा रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली व्यापकरूपमा परिचालन गरिएको छ । सो टोलीले आइतबार दिनभर जसो विभिन्न क्षेत्रमा सर्च गरिरहेको छ ।

प्रहरीको विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरको सहयोगमा महाराजगन्ज गणको प्रहरी टोली भट्टेडाँडा पुगेको थियो । स्रोतका अनुसार सीआईबीको उच्च तहको टोली सिलवाललाई खोज्न परिचालन गरिएको छ। विशेष गरी दक्षिण ललितपुरका अधिकांश क्षेत्रमा सीआईबीको टोली परिचालन गरिएको छ।

पछिल्लो समय ट्वीट मार्फत जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदै छ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि आक्रोशित सरकारले उनलाई खोज्न सातै प्रदेशका प्रहरीलाई निर्देशन दिएको थियो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

 

 

एमाले – माओवादी केन्द्र : किन लम्बिदै छ पार्टी एकता ? यस्तो छ कारण…!

 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अगाडि बढाउने विषयमा अझै सहमति जुट्न नसक्दा पार्टी एकता लम्बिने भएको छ । पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नै पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रियाले गति लिन सकेको छैन ।

ओली र प्रचण्डबीच पटक–पटक घण्टौं छलफल भए पनि पार्टी एकताको खाका तयार हुन सकेको छैन । दुई अध्यक्ष बीच पद बाँडफाँडको बारेमा कुरा मिल्न नसक्दा एकता प्रक्रियामा जटिलता देखिएको छ । पार्टी एकताको प्रक्रियालाई ठोस रूप दिन आइतबार ओली निवास बालकोटमा बसेको एकता संयोजक समितिको बैठकमा पनि सहमति जुट्न सकेन ।
पार्टी एकता गर्दा एकीकृत पार्टीको केन्द्र देखि वडा सम्म संगठनात्मक संरचना कस्तो हुने भन्ने विषयमा छलफल भए पनि मोडालिटीकै बारेमा नेताहरू बीच कुरा मिल्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार दुवै अध्यक्ष कार्यकारी अध्यक्ष रहने, ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने विषयमा छलफल भए पनि सहमति जुट्न सकेन । पद बाँडफाँडको विषयमा ओली र प्रचण्ड बीच पुनः छलफल हुने बताइको छ । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?