नेपालगन्ज ५ नम्बर प्रदेशको आर्थिक हब : शंकर पोख्रेल
सारांश
- बाँके, २३ माघ ।
- पाँच नम्बर प्रदेशका भावी मुख्यमन्त्री तथा एमाले नेता शंकर पोख्रेलले नेपालगञ्ज ५ नम्बर प्रदेशको आर्थिक हब बन्ने बताएका छन् ।
- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेबाट सुरु भएको प्रादेशिक महोत्सव–२०७४ को समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै पोख्रेलले नेपालगञ्ज आर्थिक क्षेत्रको हब बन्ने कुरालाई कसैले छेक्न नसक्ने बताए ।
बाँके, २३ माघ । पाँच नम्बर प्रदेशका भावी मुख्यमन्त्री तथा एमाले नेता शंकर पोख्रेलले नेपालगञ्ज ५ नम्बर प्रदेशको आर्थिक हब बन्ने बताएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेबाट सुरु भएको प्रादेशिक महोत्सव–२०७४ को समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै पोख्रेलले नेपालगञ्ज आर्थिक क्षेत्रको हब बन्ने कुरालाई कसैले छेक्न नसक्ने बताए । उनले प्रदेशको राजधानीका सवालमा थुप्रै बहस र छलफल भए पनि एउटा ठाउँमा प्रदेशको राजधानी बन्दैमा अन्य ठाउँमा विकास नरोकिने उल्लेख गरे । उनले नेपालगन्ज क्षेत्रको आर्थिक विकासको खाका कोर्न आफू लागिसकेको बताए ।
त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको बताए । लगानीमैत्री वातावरणको खाँचो रहेको औल्याउँदै ढकालले अब बन्ने सरकारले स्थिरताको वातावारण सिर्जना गर्नुपर्ने बताए ।
कार्यक्रममा आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्य, संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतले बोलेका थिए ।
३ सय २१ स्टल रहेका उक्त महोत्सवमा २ करोड बढीको कारोबार भएको अनुमान गरिएको छ । १ लाख बढी दर्शकले अवलोकन गरेको उक्त महोत्सवबाट १ करोड बचत गर्ने लक्ष्य लिइएको छ । यद्यपि अझैं एकिन विवरण आउन बाँकी रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
यसैबीच महोत्सवको अन्तिम दिन सोमबार हाँस्य कलाकार दमन रुपाखेतीले महोत्सवमा आएका पाहुना तथा दर्शकहरुलाई हँसाएका थिए । आयोजकको विशेष निम्तामा नेपालगन्ज आएका दमनले दर्शकहरुका साथै सम्पूर्ण अतिथिहरुलाई हाँस्य ब्यङ्ग्यको खुराक पस्किएका थिए ।
प्रतिक्रिया