ध्यान दिनुस् है! मौसमी रुघाखोकी लम्बिँदैछ

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
ध्यान दिनुस् है! मौसमी रुघाखोकी लम्बिँदैछ

सारांश

  • काठमाडौं, २६ फागुन- सिफलकी रमा राणा तीन सातादेखि निरन्तर खोकीले प्रताडित छिन् ।
  • सुरुमा दुई साता रुघाखोकी र ज्वरोले सतायो ।
  • चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म औषधि खाएपछि सन्चो पनि भयो ।

काठमाडौं, २६ फागुन- सिफलकी रमा राणा तीन सातादेखि निरन्तर खोकीले प्रताडित छिन् । सुरुमा दुई साता रुघाखोकी र ज्वरोले सतायो । चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म औषधि खाएपछि सन्चो पनि भयो । तर फेरि केही दिनपछि सुक्खा खोकी सुरु भयो । कडा खालका औषधि सेवन गर्दा पनि उनलाई निको भएको छैन। आजको नागरिक दैनिकमा दीपक दाहालले खबर लेखेका छन् ।

मौसम परिवर्तन हुने समयमा धेरैले भोग्ने र सामान्य ठान्ने मौसमी रुघाखोकी (सिजनल फ्लु) आक्रामक बन्दैछ ।  भाइरस (फ्लु) ले स्वरुप बदल्नु, धेरै प्रकारका भाइरसको संक्रमण एवं नयाँ भाइरसको प्रवेशसँगै देखापरेको यस्तो रुघाखोकी लामो समयसम्म निको नहुनुमा वातावरण प्रदूषण पनि एक कारक भएको चिकित्सक बताउँछन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्ला दिनमा रुघाखोकी लगातार लागिरहने र निको भएको केही दिनमै फेरि दोहोरिने समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको छ । डा. पुनका अनुसार कतिपय ‘लिट्रेचर’ हरुमा समेत देखिएको तर नेपालमा प्रमाणित भइनसकेको ‘पोस्ट भाइरल कफ’ का कारणसमेत यस्तो समस्या देखिएको हुनसक्छ । ‘यसले ३ सातादेखि ८ सातासम्म संक्रमण गराउँछ’, उनले भने।

सामान्यतः मौसम परिवर्तनका बेला ‘ए’ जातिका भाइरसको संक्रमणले यस्तो गराउँछ । कुनै समयमा स्वाइन फ्लुको नामले चिनिने एच१एन१ प्रजातिको भाइरस पनि इन्डेमिक (साधारण रुपमा फैलिरहने) भाइरसमा परिवर्तन हुनु र रुघाखोकीमा सावधानी नअपनाइनुले जोखिम बढ्दै गएको चिकित्सक बताउँछन्।

अहिले हङकङ फ्लुका नामले चिनिने एन३एन२ र बी जातिका दुई प्रजाति– जापानी फ्लु भनिने यमागामा र अस्ट्रेलियन फ्लु भनिने भिक्टोरियासमेत नेपाल भित्रिएका छन्् । ‘एउटै व्यक्तिमा बहुप्रकारका भाइरसको संक्रमण हुँदा  पनि यसरी मौसमी रुघाखोकी लम्बिएको हुनसक्छ,’ डा. पुन भन्छन् । सामान्यतः इन्फ्लुएन्जा, कोरोना, रेस्पेरिटीजस्ता थुपै भाइरसले मौसमी रुघाखोकी गराउँछन् । पुनका अनुसार रुघाखोकी (इन्फ्लुएन्जा) चार प्रकारका भाइरसले गराउँछ । ती हुन्– ए, बी, सी र डी।

जसमध्ये ‘डी’ गाईवस्तुमा हुन्छ भने ‘सी’ एकदमै सामान्य (माइल्ड) हुन्छ । ‘ए’ को तुलनामा कमजोर नै मानिने ‘बी’ भाइरससमेत पछिल्ला दिनमा कडा हुँदै गएको अनुमान चिकित्सकको छ । ‘पछिल्लो समय प्रयोगशालाबाट प्रमाणित ‘बी’ भाइरस संक्रमणका बिरामी बढ्दैछन् । एकजनालाई त भर्ना नै गरेर उपचार गर्नुप¥यो,’ पुनले भने, ‘भाइरस ‘ए’ कमजोर हुँदा ‘बी’ बलियो हुँदै गइरहेको समेत पाइन्छ।’

चिकित्सकहरु भाइरस जुन भए पनि पछिल्लो समयमा बढ्दो धुँलो र प्रदूषण पनि संक्रमणलाई बढाउने प्रमुख कारकहरूमध्ये एक भएको बताउँछन् । चिकित्सकका अनुसार सिजनल फ्लुलाई सामान्य रुपमा लिने गरिए पनि यो संसारभर र नेपालमा पनि मृत्युको प्रमुख कारक बन्ने गरेको छ । चिकित्सकका अनुसार रुघाखोकी भनेर लापरबाही गरे ज्यानै जाने अवस्था पनि आउन सक्छ ।  वृद्धवृद्धा, बालबालिका, गर्भवती, मधुमेह रोगी, एचआइभी संक्रमित र मिर्गौला प्रत्यारोपण गरेकाले यसतर्फ विशेष सवधानी अपनाउनुपर्छ।

त्रिवि, शिक्षण अस्पताल, महाराजगन्जका वरिष्ठ फिजिसियन डा. जगदीशप्रसाद अग्रवाल पनि रुघाखोकीले सताउने अवधि बर्सेनी लम्बिँदै गएको बताउँछन् । ‘रोगप्रतिरोध क्षमता कमजोर भएकालाई यसले बढी सताउँछ,’ उनी भन्छन्।

पहिला ठूलो असर नगर्ने भन्दै रुघाखोकी लागेमा सिटामोल, तातो र झोलिलो कुरा खाएर आराम गर्न सल्लाह दिने चिकित्सकले अहिले निरन्तर रुघाखोकी लागे चिकित्सकसँग परामर्श गर्न सुझाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?