रुपन्देहीमा पहिलो पटक आर्थिक गणना हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
रुपन्देहीमा पहिलो पटक आर्थिक गणना हुँदै

सारांश

  • नेपालमा पहिलो पटक हुन गइरहेको आर्थिक गणनाको रुपन्देही जिल्लामा पनि आर्थिक गणनाको प्रक्रिया सुरु भएको छ ।
  • जिल्लाको आर्थिक एकाई र गतिविधि अवस्थाबारेमा बुझ्न आर्थिक गण्नाको प्रक्रिया सुरु भएको जिल्ला आर्थिक गणना कार्यालय रुपन्देहीका प्रमुख एवम् आर्थिक गण्ना अधिकृत अवेधश कुमार शुक्लाले जानकारी दिए ।
  • यसका लागि ०७५ सालको असार ३० गतेसम्म गणना सम्पन्न गर्ने गरी जिल्लामा गत चैत १ आर्थिक गणनाको कार्यालय स्थापना समेत भइसकेको छ ।

नेपालमा पहिलो पटक हुन गइरहेको आर्थिक गणनाको रुपन्देही जिल्लामा पनि आर्थिक गणनाको प्रक्रिया सुरु भएको छ । जिल्लाको आर्थिक एकाई र गतिविधि अवस्थाबारेमा बुझ्न आर्थिक गण्नाको प्रक्रिया सुरु भएको जिल्ला आर्थिक गणना कार्यालय रुपन्देहीका प्रमुख एवम् आर्थिक गण्ना अधिकृत अवेधश कुमार शुक्लाले जानकारी दिए । यसका लागि ०७५ सालको असार ३० गतेसम्म गणना सम्पन्न गर्ने गरी जिल्लामा गत चैत १ आर्थिक गणनाको कार्यालय स्थापना समेत भइसकेको छ ।

कार्यालयले व्यापारिक प्रतिष्ठान (प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोबार गर्ने बाहेक सम्पूर्ण व्यापारिक प्रतिष्ठान) को तथ्याङ्क सङ्कलन गर्नेछ । जसमा प्रतिष्ठानको परिचयात्मक विवरण, आम्दानी, कारोबार विवरण, मातृ कम्पनी भएमा त्यसको व्यापारिक विवरण र ऋणमा पहुँच कारोबारसम्बन्धी विवरण सङ्कलन गरी आर्थिक गणना गरिने उनले बताए ।

गणनाको तयारी भइरहेको र अगामी वैशाख एक गतेदेखि कर्मचारीहरू फिल्डमा खटाएर तथ्याङ्क सङ्कलन गरिने प्रमुख शुक्लाले बताए । उनले भौगोलिक सूचना प्रणालीको आधारमा नक्सा उपलब्ध गराएर जिल्लाको विभिन्न क्षेत्र विभाजन गरेर एक सय १८ जना गणकहरूलाई तथ्याङ्क सङ्कलनमा फिल्डमा खटाउने बताए ।

कार्यालयले तीनवटा माध्यमबाट तथ्याङ्क सङ्कलन गर्नेछ । उद्योगी व्यवसायीले आफैले फारम भर्न चाहे इन्टरनेटको माध्यम (इ-सेन्सस), कर्मचारीले ट्याब्लेटको माध्यम (कम्पुयटर एसिसटेड पर्सनले इन्टरभ्यू) र कलम र कागजी फारमको माध्यम मार्फत तथ्याङ्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको प्रमुख शुक्लाले बताए ।

हालसम्म सरकारले प्रशासनिक निकायबाट आर्थिक अवस्थाको बारेमा जानकारी लिँदै आएकोमा जिल्लामा आर्थिक गणना समाप्त भएपछि आर्थिक सम्बन्धी यर्थात विवरण उपलब्ध हुने उनले बताए ।

‘जनगणना मार्फत जनसङ्ख्याको, कृषि गणनामार्फत कृषिको तथ्याङ्क उपलब्ध भए पनि भए पनि आर्थिक गणना नहुँदा आर्थिक अवस्थाबारे प्रष्ट तथ्याङ्क छैन’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘त्यसैले अब आर्थिक गणना भएपछी आर्थिकसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध हुनेछ ।’

आर्थिक गण्ना भएपछि जिल्लाको अर्थतन्त्रको अवस्थादेखि प्रत्येक व्यक्तिको आयदरसम्मको विवरण उपलब्ध हुनेछ । उनले व्यवसायीहरूमा करको डर रहेकाले यर्थात विवरण उपलब्ध नगराउने सक्ने मुख्य चुनौती रहेको बताउँदै आफूहरूलाई उपलब्ध गराइएको विवरणमा शङ्का लागेको प्रतिष्ठानको कारोबारसम्बन्धी क्रस चेक गरेर मात्र तथ्याङ्क फाइनल गर्ने बताए ।

उनले आफूहरूले सङ्कलन गर्ने विवरण आर्थिक गणनाको लागि मात्र भएको बताउँदै कुनै कर प्रयोजन वा अन्य कुनै कार्यको लागि नहुने हुँदा कुनै किसिमको त्रास नमानी यथार्थ विवरण उपलब्ध गराउन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।

‘हामीले सङ्कलन गर्ने विवरण केवल तथ्याङ्क प्रयोजनको लागि मात्र हो । यसमा कुनै किसिमले त्रसित हुनुपर्दैन’, प्रमुख शुक्लाले भने, ‘उपलब्ध गराइएको विवरण कुनै कर वा अन्य कुनै प्रयोजनको लागि होइन । केवल जिल्लाको अर्थतन्त्रको विवरणको लागि मात्र हो ।’ उनले यर्थात विवरण उपलब्ध गराएर जिल्लाको सही तथ्याङ्क सार्वजनिक गराउन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।

आर्थिक गणना पूर्व कार्यालयले उद्योग वाणिज्य सङ्घका अध्यक्ष सँग समेत छलफल गरेको र यस कार्यमा सङ्घले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । उनले आर्थिक गणना कार्यको राष्ट्रिय योजना आयोगदेखि लिएर जिल्लास्तरबाट अनुगमन हुने बताए ।

त्यस्तै आर्थिक गणनाको लागि जिल्लामा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको अध्यक्षतामा रहेको ११ सदस्यीय जिल्ला आर्थिक गणना समन्वय समितिले विभिन्न निर्णयहरू समेत गरेको छ ।

आइतबार भैरहवामा बसेको बैठकले विभिन्न कार्यालयबाट खरिदार र नासुस्तरका कर्मचारीलाई काजमा गणना कार्यालयमा खटाउने, गणक नियुक्त प्रक्रिया अगाडी बढाउने र वैशाख एक गते देखि फिल्डमा कर्मचारी खटाएर तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको जिल्ला आर्थिक गणना कार्यालय रुपन्देहीका प्रमुख एवम् समितिका सदस्य सचिव समेत रहेका शुक्लाले बताए । आर्थिक गणना राष्ट्रिय योजनाको आयोग सचिवालयको केन्द्रीय तथ्याङ्क विभागबाट सञ्चालित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?