धर्मप्रचार गर्नेलाई फिर्ता पठाएको प्रतिशोध साँध्न इयुको प्रतिवेदन : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियन (इयु) ले हालै सार्वजनिक गरेको नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदनमाथि कडा टिप्पणी गरेका छन्।
- अनुगमनका नाममा नेपालमा धर्मप्रचार गर्नेलाई फिर्ता पठाइएको प्रतिशोधमा इयुले प्रतिवेदन ल्याएको टिप्पणी प्रधानमन्त्री ओलीको छ।
- ‘अनुगमनको नाममा धर्म प्रचार गर्नेलाई हामीले देशबाट फिर्ता पठाएपछि त्यसको प्रतिशोध साँध्ने गरी इयुले यो प्रतिवेदन ल्याएको हो’, आइतबार बिहान काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘प्रतिवेदन प्रतिवेदन हुनुपर्छ, प्रतिशोध साँध्नका लागि हुनु हुँदैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियन (इयु) ले हालै सार्वजनिक गरेको नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदनमाथि कडा टिप्पणी गरेका छन्। अनुगमनका नाममा नेपालमा धर्मप्रचार गर्नेलाई फिर्ता पठाइएको प्रतिशोधमा इयुले प्रतिवेदन ल्याएको टिप्पणी प्रधानमन्त्री ओलीको छ।
‘अनुगमनको नाममा धर्म प्रचार गर्नेलाई हामीले देशबाट फिर्ता पठाएपछि त्यसको प्रतिशोध साँध्ने गरी इयुले यो प्रतिवेदन ल्याएको हो’, आइतबार बिहान काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘प्रतिवेदन प्रतिवेदन हुनुपर्छ, प्रतिशोध साँध्नका लागि हुनु हुँदैन।’
भूकम्पको राहत तथा उद्दार र निर्वाचनका बेला कतिपय स्थानमा बाइबल बाँडिएका समाचारहरू आएका थिए। नेपालको संविधानमा रहेको धार्मिक स्वतन्त्रताको विषयमा टिप्पणी गरेर विवादमा तानिएका तत्कालीन बेलायती राजदूत एन्ड्रियु स्पार्क्स नेपालबाट फिर्ता भएका थिए। यद्यपि प्रधानमन्त्री ओलीले कुन घटनामा इयुले प्रतिशोध साँधेको हो प्रष्ट खुलाएनन्।
प्रधानमन्त्रीले इयुको प्रतिवेदन नेपाल र नेपालीलाई हेप्ने गरी आएको बताए। ‘यो प्रतिवेदन नेपाल र नेपालीलाई हेप्ने गरी आएको छ’, राष्ट्रिय निर्वाचन पर्यवर्क्षण समिति (नियोक) ले होटल अन्नपूर्णमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामीले सच्याउन भनिसक्यौँ तर ऊ हटेर गर्ने किसिमले प्रस्तुत भयो।’ इयुको प्रतिवेदनले नेपालले हासिल गरेका प्रजातान्त्रिक उपलब्धिमाथि प्रश्न गर्न खोजेको टिप्पणी प्रधानमन्त्री ओलीले गरे।
‘८० प्रतिशत मतदान भएको देशका बारेमा ६० प्रतिशत पनि मत खसाउन नसक्ने देशको युनियनले प्रश्न उठाउने कुनै अधिकार छैन’, प्रधानमन्त्री ओलीले भने, ‘पहिला उनीहरूले हाम्रो जति मत खसाएर देखाउन्, अनि हामीलाई अधिकारका कुरा सिकाउन्।’
प्रधानमन्त्रीले प्रतिवेदन सच्याउन इयुलाई पुनः आग्रह गरे। ‘हाम्रो समाजिक प्रबन्ध, संविधान र अहिलेसम्मको उपलब्धिलाई ठाडै अपमानित गरिएको छ’, प्रधानमन्त्रीले भने, ‘प्रतिवेदन सच्याउला भनेको त उल्टै निहुँ खोज्दै छ। नेपाल सार्वभौम मुलुक हो भन्ने हेक्का इयुलाई हुनुपर्छ। प्रतिवेदन यथासिघ्र सच्याउ, हेप्ने काम नगर।’
प्रधानमन्त्री ओलीले नेपालको धर्म निरपेक्षतालाई बुझ्न पनि आग्रह गरे। ‘हामी अरुको जस्तो धर्मग्रन्थमा हात राखेर सपथ खाएर धर्मनिरपेक्ष भन्दै हिड्दैनौँ’, उनले भने, ‘हामी पश्चिमा जस्तो अरुको देशमा धर्म प्रचार गर्दै पनि हिँड्दैनौँ।’
नेपालले विश्वसँग मिलेर काम गर्न चाहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदन सच्याउन इयुलाई आग्रह गरे। उनले महिला सहभागिता पनि नेपालजत्तिको काम गरेर देखाउन सुझाव दिए।
Ganesh Chetri
हो सही कुरा
Ramesh Raj Maghi
Lakhetanu parchha chor dalal harulai