ओली र प्रचण्ड फसादमा! आफ्ना नेताहरुलाई नयाँ पार्टीमा पद मिलाउन हम्मे

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं : एकीकृत पार्टीमा दुई पक्षका नेताको व्यवस्थापन कसरी मिलाउने भन्नेमा एमाले–माओवादी एकताको गाँठो अल्झिएको छ।
  • दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा पार्टी संगठन हाँक्ने गरी दुई अध्यक्षात्मक प्रणालीको अन्तरिम विधान तयार भए पनि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा पर्ने नेताको भागबन्डामा सहमति जुट्न सकेको छैन।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

काठमाडौं : एकीकृत पार्टीमा दुई पक्षका नेताको व्यवस्थापन कसरी मिलाउने भन्नेमा एमाले–माओवादी एकताको गाँठो अल्झिएको छ।

दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा पार्टी संगठन हाँक्ने गरी दुई अध्यक्षात्मक प्रणालीको अन्तरिम विधान तयार भए पनि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा पर्ने नेताको भागबन्डामा सहमति जुट्न सकेको छैन। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव तयार पारेको छ। तर त्यसअनुसार केन्द्रीय समितिदेखि स्थायी समितिसम्म दुई पक्षका नेताहरूको व्यवस्थापन मिलाउन दुवै पार्टी अध्यक्षसामु चुनौती देखिएको छ।

‘चुनौती छन् तर पनि नेतृत्वले नेताहरूको कार्यक्षमता र दोहोरो जिम्मेवारीबाट मुक्त गर्ने विधिलगायत मापदण्डका आधारमा व्यवस्थापनको नीति बनाउनुहुन्छ होला,’ माओवादी नेता नारायण शर्माले अन्नपूर्णसँग भने। दुई पार्टीबीच कार्यदलले प्रस्तावित गरेको केन्द्रीय समितिमा प्रतिनिधित्व कसरी गराउने भन्नेमै दुईथरी मत देखिएको छ।

एमालेले आफ्नो अहिले रहेका केन्द्र्रीय सदस्यलाई कायम राखी बाँकीमा माओवादीबाट थप गरेर जाने प्रस्ताव गरेको छ। तर, माओवादीले सम्मानजनक एकता बराबरीका आधारमा हुनुपर्ने तर्क अगाडि सारेको छ। एमालेको २०६ केन्द्रीय सदस्यमा पार्टी छोडेका, प्रदेश सभामुख बनेकालगायत नेतालाई अलग्याउँदा पनि अहिले दुई सयको केन्द्रीय समिति छ। उसले त्यसैमा माओवादीका ९९ जना नेतालाई समेटेर एकीकृत समिति बनाउने प्रस्ताव राखेको छ।

माओवादीले भने त्यस्तो आधारमा भागबन्डा नहुने बताएको छ। ‘पार्टी एकता सम्मानजनक रूपमा बराबरीमा आधारित भएर हुन्छ न कि प्रतिशतका आधारमा’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘यस विषयमा अब सचिवालय बैठकले निर्णय लिन्छ।’

माओवादीले चैत २० मा सचिवालय बैठक बोलाएको छ। उक्त बैठकमा एकताको संगठनात्मक मोडेलका बारेमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव प्रस्तुत गर्नेछन्। दाहाल अहिले अन्तरिम विधान र अन्तरिम राजनीतिक प्रतिवेदन कार्यदलमा रहेका नेतासँग अनौपचारिक संवादमा छन्। दाहालले आइतबार पनि कार्यदल सदस्यसँग छलफल गरेको भुसालले बताइन्। एमाले नेता तथा कार्यदल सदस्य बेदुराम भुसाल भने पार्टी कमिटीको प्रतिनिधित्वको विषय एकता संयोजन समितिबाट टुंगो लाग्ने बताउँछन्। ‘माओवादी साथीहरूले बराबरीका आधारमा भन्नुभएको छ, हामीले जनाधार, जनमत, संगठनलगायतलाई आधार बनाएर प्रतिनिधित्वका कुरा गरेका छौं’, उनले भने, ‘यो विषय एकता संयोजन समिति बैठकले टुंगो लगाउँछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?