डीपीएलः सोमपालको विष्फोटक ब्याटिङले धनगढीको जित
सारांश
- काठमाडौं, १९ चैत ।
- सोमपाल कामीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ ।
- सोमपालले १५ बलमा ३९ रनको इनिङ खेल्दै टोलीलाई जित दिलाएका थिए ।
काठमाडौं, १९ चैत । सोमपाल कामीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ ।
सोमपालले १५ बलमा ३९ रनको इनिङ खेल्दै टोलीलाई जित दिलाएका थिए । सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै धनगढीको जितमा रोहन मुस्तफाले ४० रनको योगदान दिएका थिए । खेलको म्यान अफ द म्याच सोमपालले १० हजार नगद प्राप्त गरे ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रेको अत्तरियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
अत्तरियाका लागि विपिन चन्द्रा र प्रेम तामाङले सर्वाधिक २८ रन जोडे । यस्तै, कुशल भुर्तेलले २५ र दीपेन्द्रसिंह ऐरीले १९ रन जोडे । उनीहरुसँगै कृष्ण कार्कीले १४, गौरव चितकारा र सुवास खकुरेलले समान १३ रन जोडे ।
बलिङतर्फ धनगढीका ललितसिंह भण्डारीले सर्वाधिक तीन विकेट लिए । ४ ओभरको स्पेलमा उनले २४ रन खर्चेका थिए । धनगढीका विदेशी खेलाडी तथा यूएईका कप्तान रोहन मुस्तफाले २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ३५ रन खर्चेका थिए । यस्तै, सामसद शेख र सोमपाल कामीले समान १ विकेट लिए ।
प्रतिक्रिया