साढे ३३ केजी सुनले तीनको ज्यान लियो
सारांश
- तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गएको छ ।
- एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् ।
- मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् ।
तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गएको छ । एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् । तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेका प्रेमलाल चौधरीले शुक्रबार आत्महत्या गरे । नेपाल एयरलाइन्सका लोडर चौधरी महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा थिए । अर्का आरोपी सानु बनले पनि केही दिनअघि प्रहरी हिरासतमै आत्महत्या गरेका थिए । तर, प्रहरीले बन आत्महत्याको घटना गोप्य राखेको छ । उनी थाई एयरवेजका इन्जिनियर थिए ।
‘प्रेमलाल चौधरी शुक्रबार बिहान ४ बजे हिरासत कक्षको ट्वाइलेटमा झुन्डिएको अवस्थामा फेला परे । उनको उद्धारका लागि प्रहरी ट्वाइलेटभित्र छिर्यो । पासोबाट निकाल्यो । बाँच्छन् कि भन्ने लागेर तुरुन्तै वीर अस्पताल लगियो । तर, बचाउन सकिएन । बनको घटनाको सम्बन्धमा भने थाहा भएन,’ प्रहरी वृत सिंहदरबारका प्रमुख डिएसपी अपिलराज बोहराले नयाँ पत्रिकालाई बताए ।
यसरी भयो सनमको हत्या
तस्करी गरेको साढे ३३ केजी सुन गायब पारेको भन्दै १६ फागुनमा सनमलाई सहकर्मीले नै अपहरण गरेर अज्ञातस्थलमा बन्धक बनाएका थिए । चारदिनसम्म करेन्ट लगाएर यातना दिएपछि उनको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र सोही ठाउँका ३७ वर्षीय मोहन काफ्लेलाई पक्राउ गरेको थियो ।
१८ जना समातिए
प्रहरीले तस्करीमा संलग्न रहेको आशंकामा एयरलाइन्सका कर्मचारीदेखि न्युरोडका व्यापारीसम्मलाई पक्राउ गरेको छ । पक्राउ पर्नेको संख्या १८ पुगेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य, जय मातादी ज्वेलर्सका मालिक पवन अग्रवाल, पर्यटन व्यवसायी भुजुङ गुरुङ, हेमन्त गौतम, गोपालकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कपिल पुरी, लालबहादुर मगर, राजु महर्जनलगायतका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया