जनप्रतिनिधि चुनिएसँगै ग्रामीण बस्तीमा विकासको लहर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
जनप्रतिनिधि चुनिएसँगै ग्रामीण बस्तीमा विकासको लहर

सारांश

  • शेरबहादुर सिंह भीमदत्तनगर, २० पुस ।
  • कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा बस्ती बसेको झण्डै साढे चार दशक भयो ।
  • तर गाउँमा सडक सञ्जाल नभएकै कारण स्थानीयवासीले लामो समय खेतको आली र नदी किनारको खाली ठाउँ टेक्दै गन्तव्यमा पुग्नु पथ्र्यो ।

शेरबहादुर सिंह

भीमदत्तनगर, २० पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा बस्ती बसेको झण्डै साढे चार दशक भयो । तर गाउँमा सडक सञ्जाल नभएकै कारण स्थानीयवासीले लामो समय खेतको आली र नदी किनारको खाली ठाउँ टेक्दै गन्तव्यमा पुग्नु पथ्र्यो । अझ केही बस्तीका बालबालिकाले बर्सातमा सडक सञ्जाल नभएकै कारण स्कुल जान पाएनन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पुनःस्थापित स्थानीयवासीको बाहुल्यता रहेको शुक्लाफाँटा नगरपालिका–७ अझै पनि खानेपानी, सडक सञ्जाल, यातायात, नदी कटानको समस्याले ग्रसित छ । अनेकन समस्यासित संघर्ष गरिरहेका स्थानीयवासी भने केही दिनयता वडा नं ७ का वडाध्यक्ष जगतबहादुर सिंहसित जनश्रमदान गरेर गाउँको गोरेटो निर्माणमा जुटेका छन् ।

यहाँ करिब तीन किलोमिटर सडकको पहिलो पटक विस्तार भइरहेको छ । “पहिलो चरणमा सडकको ट्र्याक खोल्ने काम जनसहभागितामा सकिएको छ”, वडाध्यक्ष सिंहले भने, “कालापानीका स्थानीयवासी सडक सञ्जाल नहुँदा लामो समयदेखि समस्यामा थिए ।” स्थानीयवासीको सहयोग र नगरपालिकाको रु १५ लाख लागतमा गाउँमा तीन किलोमिटर सडक ग्राभेल भइरहेको छ ।

“विवाहमा खेतको आलीबाट हिँडेर जानुपर्ने अवस्था थियो”, सिंहले भने, “अबको पाँच वर्षमा नगरकै नमूना वडाका रुपमा विकास गर्छु ।” सिंहले वडा नं ७ मा पूर्वाधारका लागि मात्रै रु एक करोड रकम विनियोजन गरिएको बताए ।

“गाविस हुँदा यो वडामा वार्षिक बढीमा रु १० लाख बजेट आउँथ्यो”, उनले भने, “अहिले त गाउँको मुहार फेरिने गरी बजेट र सुविधा थपिँदै छ ।”

एशियाली विकास बैंकको बस्ती विकास कार्यक्रमसमेत उक्त वडामा लागू हुन लागेको छ । करिब आठ हजार जनसङ्ख्या रहेको वडा नं ७ मा सोलारबत्ती, जैविक तटबन्ध, सडक सञ्जाल विस्तार, खेलमैदान निर्माण लगायतका काम हुने सिंहको भनाइ छ । उनले आगामी वैशाखमा गाउँमा यातायातको सुविधा थपिने बताए ।

“गाउँबस्तीमा विकासको काममा जुट्दा स्थानीयवासी हर्षले गद्गद् भएका छन्”, उनले भने, “गाउँमा विकास गर्न योजना ल्याउँदा स्थानीयवासीको भरपुर साथ पाइरहेको छु ।”

जनप्रतिनिधिको पहलमा सडक निर्माण भइरहेको शुक्लाफाँटा नगरपालिका–७ कालापानीका रमेश विकले बताए । “वर्षौं अगाडि खोलिएका सडकमा कतिपय स्थानमा स्थानीयवासीले खेती गर्दैआएका थिए”, उनले भने, “जनप्रतिनिधि आएपछि बन्द अवस्थामा रहेका सडक पनि सुचारु हुँदा निकै सहज भएको छ ।”

चार दशकदेखि सडक सञ्जालबाट वञ्चित कालापानीवासीको घरदैलोमा चक्रपथ निर्माण भइरहेको छ । “पहिला ठेकेदारले सानोतिनो काम गरेर विकास निर्माणका काम अलपत्र पार्ने गरेका थिए्,” विकले भने । कालापानी त एउटा उदाहरण मात्रै हो । स्थानीय तहबाट निर्वाचित भएर जनप्रतिनिधि आएपछि यहाँका धेरै वडा, गाउँबस्तीसम्म विकास निर्माणले गति लिएको छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर जनप्रतिनिधि भएर आएपछि नगरको बजेटको ठूलो हिस्सा यहाँका सबै वडामा पठाएको बताउँछन् ।

उनले सबै वडामा सडक विस्तार, स्तरोन्नति, कृषि, शिक्षा, स्वास्थ्य, झोलुङ्गे पुल निर्माण लगायतका विकासका गतिविधि अघि बढाएको बताए । “प्रत्येक वडामा डेढ किलोमिटरसम्म सडक कालोपत्र गर्ने काम हुँदैछ ।” नगरप्रमुख ऐरले भने, “सीमान्तकृत समुदायको आर्थिक र अन्य विकासका निम्ति पनि वडामा बजेट पुगेको छ ।”

शुक्लाफाँटा नगरपालिकाका १२ वटा वडामा विकास बजेट मात्रै रु २२ करोड विनियोजन गरिएको छ । बाह्य र आन्तरिक गरी शुक्लाफाँटा नगरपालिकाको रु ४८ करोड बजेट रहेको छ । “केही वडा कार्यालयसमेत स्थापना गर्दैछौँ”, ऐरले भने, “कतिपय अस्थायी वडा कार्यालय स्थापना गरेर पनि वडाबाट जनतालाई सुविधा दिइरहेका छौँ ।”

त्यसैगरी ५० शय्याको अस्पताल निर्माणका लागि पनि पहल भइरहेको छ । उनले नदी नियन्त्रण गुरुयोजना बनाएर अगाडि बढाएको बताए ।

त्यसैगरी, भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसिफ कुवँर‘भुन्टु’ले वडाको समग्र विकास अघि बढेको जानकारी दिए । भीमदत्तनगरपालिकाभित्र सबैभन्दा बढी खानेपानी र विद्युत्को समस्या रहेको वडा नं १ बाराकुण्डामा दुवै समस्या समाधानका लागि काम भइरहेको कुँवरले बताए । उनले सडक सञ्जाल विस्तार, निर्माणदेखि नदी कटान नियन्त्रणको कामसमेत तीव्रताका साथ भइरहेको जानकारी दिए ।

“पाका पुस्ता र अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणदेखि अन्य कामसमेत अहिले सहज रुपमा भइरहेको छ”, वडाध्यक्ष कुवँरले भने, “सडक सञ्जालको निर्माणपछि सहज रुपमा यातायातका साधन सञ्चालनमा आउने छन् ।” उनले जलस्रोतका लागि अति आवश्यक १२ वटा ताल चुरे क्षेत्रमा रहेकाले त्यसको संरक्षणमा समेत जुटिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताजा  मत परिणाम अपडेट  : वीरगञ्ज महानगरपालिको
ताजा मत परिणाम अपडेट : वीरगञ्ज महानगरपालिको
शहिदको सम्झनामा बृक्षारोपण
शहिदको सम्झनामा बृक्षारोपण
प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष डा राउतबीच भेट
प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष डा राउतबीच भेट
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासी पूर्वबाट सिफारिस
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासी पूर्वबाट सिफारिस
यी मन्त्रीको पद धरापमा, विस्थापित गर्नेहरुको सम्भावित नाम यस्तो छ
यी मन्त्रीको पद धरापमा, विस्थापित गर्नेहरुको सम्भावित नाम यस्तो छ
विद्यमान ऐनमा देखिएको दोहोरोपना हटाउन संसद किन उदासिन?
विद्यमान ऐनमा देखिएको दोहोरोपना हटाउन संसद किन उदासिन?
सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन : अर्थमन्त्री डा महत
सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन : अर्थमन्त्री डा महत
बाबुरामलार्इ देवेन्द्र पाैडेलसहितका नेताले दिए स्पष्टिकरणको यस्तो जवाफ
बाबुरामलार्इ देवेन्द्र पाैडेलसहितका नेताले दिए स्पष्टिकरणको यस्तो जवाफ
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई