एमाले माओवादी एकता : अब कति प्रतीक्षा ?
सारांश
- निर्मल भट्टराई एमाले माओवादी एकता अन्तिम चरणमा पुगेको छ ।
- सम्मानजनक एकता हुनुपर्ने बताउदै आएका माओवादी अध्यक्ष प्रचण्ड पनि अब एकता ढिलो नगर्ने पक्षमा पुगेका छन् ।
- प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी ओलि पनि आफ्नो अति ब्यस्त राजकीय कामलाई भन्दा पार्टी एकताको कामलाई बढी प्राथमिकतामा राखेर कसरत गरिरहेका छन् ।
निर्मल भट्टराई
एमाले माओवादी एकता अन्तिम चरणमा पुगेको छ । सम्मानजनक एकता हुनुपर्ने बताउदै आएका माओवादी अध्यक्ष प्रचण्ड पनि अब एकता ढिलो नगर्ने पक्षमा पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी ओलि पनि आफ्नो अति ब्यस्त राजकीय कामलाई भन्दा पार्टी एकताको कामलाई बढी प्राथमिकतामा राखेर कसरत गरिरहेका छन् । पार्टी एकताको लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री के पी ओलि र प्रचण्ड फेरि वान टु वान वार्तामा छन् । नेकपा (एमाले) र नेकपा ९माओवादि केन्द्र०को एकता प्रक्रिया निष्कर्शंमा पुग्न सकिरहेको छैन।
माओवादी वृत्तमा एमालेसंगको एकता विलयमा टुङ्गिने त होईन भन्ने चिन्ता बढी हावी भएको देखिन्छ भने एमाले वृत्तमा जबज र सुर्य चिन्हको भविष्य प्रती बढी चासो व्यक्त गरिदैछ । एमालेका नेताहरुमा एकता पछि आफ्नो पार्टीगत हैसियत के होला भन्ने चिन्ता त्यति देखिदैन भने माओवादी केन्द्रमा एकता पछी आफ्नो पद र हैसियतबारे ठुलो चिन्ता र आशंका देखिन्छ । अरु त अरु कमरेड प्रचण्डलाई एकता पछी बन्ने पार्टीको सह अध्यक्ष बनाउने सहमति बनिसकेको अवस्थामा पनि उनको भूमिकाको बारेमा अझैसम्म आफ्नो चित्त राम्ररी बुझाउन सकेका छैनन् । अरु प्रमुख नेता र कार्यकर्ताको पनि एकता पछि कसरी आफ्नो समायोजन होला भन्ने चिन्ता सबैतिर देखिन्छ ।
पार्टी एकतामा हुने पदीय समायोजन विल्कुल अस्थायी कुरा हो । एउटा लोकतान्त्रिक पार्टीमा कार्यकर्ताबाट निर्वाचित नभई लामो समयसम्म उक्त समायोजित पदमा बस्न सकिदैन । स्वयं कमरेड प्रचण्ड अनिर्वाचित भएर नेतृत्वमा रहन सक्दैनन् । माओवादीमा केन्द्रिय नेतृत्वमा करिब तीन दशकसम्म निरन्तर बसेका प्रचण्ड हरेक चार पांच बर्षमा प्रतिस्पर्धामा खरो उत्रेर विजय प्राप्त गर्दै आएको एमालेसङ्ग एकता हुंदा पार्टीको चुनावमा अहिले एकतामा आएको माओवादी केन्द्रको टीम सबै हार्ला कि भन्ने डर पनि अप्रत्यक्ष रुपमा अभिव्यक्त गरिदैछ । त्यही भएर एकताको महाधिवेशन पछी पनि प्रचण्डको पदीय हैसियत को सुनिश्चितताको माग उठाउन थालिएको छ । आफुले मन पराएको नेतालाई अध्यक्ष छान्ने महाधिवेशन प्रतिनिधिको सार्वभौम अधिकार छिनेर अहिल्यै प्रचण्डलाई त्यो हैसियत कसैले पनि दिन सक्दैन । न अरुलाई नै ।
महाधिवेशन पुर्व दुई पार्टीका कार्यकर्ताविच राम्रो अन्तरघुलन भएमा इतिहास भएका जन उत्तरदायी राम्रा नेताहरुलाइ पार्टीको चुनाव जित्न कुनै आइतबार पर्दैन । अहिलेसम्म पार्टीको पदीय चुनाव नलडेका प्रचण्डलाई एकता पछि यो सर्वथा नयाँ विषय हुनेछ । सधैं कार्यकर्तालाई दिदैं आएका प्रचण्डलाई पहिलो पटक कार्यकर्तासंग भोट माग्नुपर्ने छ । भरिसक चुनाव नलडी भोट नमागी नेता बन्न सकिन्छ कि भन्ने प्रचण्डको चाहना भए त्यो बिल्कुल संभव छैन ।
आज एमाले माओवादी एकता भांड्ने चलखेल पनि तीव्र बनेको छ । एमाले माओवादी एकता भांड्ने तत्व यो एकताले माओवादीको अस्तित्व समाप्त बनाउछ भन्दै माओवादीलाई एकता नगर्न दबाब दिदैछ् भने त्यही तत्व एमालेको नेतृत्व तहका नेतालाई प्रचण्डले पार्टी कब्जा गर्छन भन्ने त्रास फैलाउदै छ्न ।
ओली र प्रचण्डले एकताको सरप्राइज दिने बताइरहेका वेला बजारमा एकता नहुने अनेकन हल्ला चलाउन केहीले खेती नै पाएका छन् । तिललाइ पहाड बनाउन खप्पिस एकता विरोधीहरु आफ्नो मकसद पूरा गर्न कम्मर कसेर लागेकै छन । यो अवस्थामा ओली र प्रचण्डले बार्गेनिङ वा पेल्ने रणनीति अपनाउनु भन्दा सुझबुझ , समझदारी र लचकताको अधिकतम प्रयोग गरि एकतालाई चांडो टुंगोमा पुर्याउनु पर्छ । बामपंथी एकताका पक्षधर नेपाली जनता त ओली प्रचण्डका भित्री राजनीतिक खेल बुझ्दैनन बरु उनीहरूले सार्वजनिक गरेका प्रतिबद्धता पुरा गरे नगरेको मात्र हिसाब किताब गर्न जान्दछन । र, पार्टी एकता बाहेक ओली र प्रचण्डले जनतालाई दिने कुनै सरप्राइज छैन ।
वास्तवमा कसैको अस्तित्व मेटाउन वा कुनै पार्टी कब्जा गर्न यो एकता हुन लागेको होईन । देशको स्थायित्व , समृद्धि र समाजवाद निर्माणका लाग यो एकता गर्ने हो ।
देशमा विद्यमान गरिबी , पछौटेपन र विभेदलाई अन्त्य गर्ने हो । त्यसकारण माओवाद , जनयुद्ध आदिलाई इतिहासको गौरवपुर्ण गर्भमा राखेर जबजले मार्गदर्शन गरेको बहुलवादी समाज , निर्वाचनबाट श्रेष्ठता हासिल गर्ने मोडालिटीबाट अगाडी बढ्नुको कुनै विकल्प छैन ।
प्रतिक्रिया