दुई घन्टे बैठकपछि मध्यराती भरतपुरमा यसरी च्यातियो मतपत्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
दुई घन्टे बैठकपछि मध्यराती भरतपुरमा यसरी च्यातियो मतपत्र

सारांश

  • भरतपुर, १५ जेठ– भरतपुर महानगरपालिकाको मत गणना अन्तिम अवस्थामा पुग्दा आइतबार राती माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि रोकिएको मत गणना अझै सुचारु हुन सकेको छैन ।
  • जसरी पनि जिताउनु पर्ने उद्धेश्यसाथ प्रधानमन्त्री पुत्री रेणु दाहाललाई सत्तारुढ कांग्रेस–माओवादीको मेयर उम्मेदवार बनाइएको भरतपुरमा रेणुले हार्ने स्थिति स्पष्ट देखिएपछि योजनावद्ध रुपमै मतपत्र च्यातिएको खुलासा भएको छ ।
  • यसरी बन्यो योजना  कांग्रेसको प्रभाव क्षेत्र मानिएको भतपुर वडा नम्बर १९ को मत गणना सुरु हुनु अघि एमाले उम्मेदवार देवी ज्ञवालीले ८८४ मतले प्रधानमन्त्री पुत्री रेणुलाई लिड गरेका थिए ।

भरतपुर, १५ जेठ– भरतपुर महानगरपालिकाको मत गणना अन्तिम अवस्थामा पुग्दा आइतबार राती माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि रोकिएको मत गणना अझै सुचारु हुन सकेको छैन । जसरी पनि जिताउनु पर्ने उद्धेश्यसाथ प्रधानमन्त्री पुत्री रेणु दाहाललाई सत्तारुढ कांग्रेस–माओवादीको मेयर उम्मेदवार बनाइएको भरतपुरमा रेणुले हार्ने स्थिति स्पष्ट देखिएपछि योजनावद्ध रुपमै मतपत्र च्यातिएको खुलासा भएको छ ।

यसरी बन्यो योजना 
कांग्रेसको प्रभाव क्षेत्र मानिएको भतपुर वडा नम्बर १९ को मत गणना सुरु हुनु अघि एमाले उम्मेदवार देवी ज्ञवालीले ८८४ मतले प्रधानमन्त्री पुत्री रेणुलाई लिड गरेका थिए । कांग्रेसको गढ मानिएको वडा नम्बर १९ को २८०० मत गणना गर्दा ३०० मतले माओवादीले लिड गर्ने हिसाव रेणुका प्रतिनिधिहरुले गरिरहेका थिए । तर वडा नम्बर १९ को १८०० मत गणना गर्दा माओवादीले लिड अपेक्षा अनुसार भएन । त्यसबेलासम्म एमाले उम्मेदवार देवी ज्ञवाली र रेणुबीचको मतको अन्तर ७३३ मा झर्यो जुन माओवादीको आकलनसँग मेल खान सकेन । माओवादीले ३०० मत बढी ल्याएर देवीलाई तिर्ने र २० नम्बर वडामा पुग्दा केही मत आफूल्े बढी ल्याएर एकसय भन्दा कम मतले जित्ने हिसाव गरेको थियो ।

माओवादीको दुई घन्टे बैठक 
वडा नम्बर १९ को १८०० मत गणनाको नतिजाले माओवादीका प्रतिनिधि केही अत्तालिंदै थिए । त्यसैले उनीहरुले सिल खोल्न बाँकी अर्काे मतपेटिका खोल्नुअघि ब्रेक लिएर खाना खाने प्रस्ताव राखे । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले खानाका लागि मत गणना ब्रेक गर्ने प्रस्ताव राखे । सबै दलका प्रतिनिधिले खाना खाए । खाना खाएर मत गणना सुरु गर्न खोज्दा माओवादीका प्रतिनिधिहरु हराए । उनीहरुलाई दुई घन्टासम्म पर्खिंदा पनि नआएपछि त्यहाँबाट टेलिफोन गरियो । आफूहरु जरुरी बैठकमा रहेकाले केही समय लागेको उनीहरुले वताए । माओवादीका अन्य नेताहरु सहित भएको सोही बैठकले भरतपुरमा जित्ने स्थिति नरहेकाले मतपत्र च्यात्ने योजना बनाएको थियो । त्यसका लागि बाहिर पनि शत्तिः परिचालन गर्नु पर्ने, सुरक्षाकर्मीलाई आदेश गराउनु पर्ने र मतगणना अधिकृतलाई चुप बस्न भन्नु पर्ने सल्लाह भएको खुलेको छ ।

करिव अढाई घन्टापछि माओवादीका आधिकारिक प्रतिनिधि तोकिएका द्रोण सिवाकोटी र वाइसीएल जिल्ला इन्चार्ज मधु न्यौपाने मतगणनास्थलमा आए । उनीहरु भेला भएपछि वडा नम्बर १९ को गणना बाँकी मतपेटिका खोलियो । मतपेटिका खोलेर मतपत्रहरु सर्टिङ गर्ने क्रम चलिरहेको थियो । सर्टिङ गर्दा प्यानलै एउटै चिन्हमा लागेका मतपत्र एकातिर र क्रस भोटिङका मतपत्रहरु अर्कातिर खात लगाएर राखियो । उक्त बाकस खोलेर मतपत्र सर्टिङ गर्दा एमालेको प्यानललाई नै परेका मतपत्रको संख्या ज्यादा देखियो । त्यहीँ सँगै रहेका वाइसीएल जिल्ला इन्चार्ज त्यसबेला निकै छट्पटाउन थाले । उनले टाउको समाएर केही बर्बराएको प्रत्यक्षदर्शीले वताए । त्यसपछि उनी बसेको ठाउँबाट जुरुक्क उठे र भने– ‘यी मतपत्रहरु मैले हेर्न सकिनँ ।’ त्यहाँ रहेका एमालेका प्रतिनिधिहरु चनाखो हुन थाले । त्यतिकैमा वाइसीएल इन्चार्ज न्यौपाने र माओवादीका गणना प्रतिनिधि द्रोण सिवाकोटीले सातै छाप सूर्यमा लगाइएका मतपत्र तानेर च्यात्न थाले ।

स्रोतका अनुसार सर्टिङ गरिएका मतपत्र गणना गर्दा १९ नम्बर वडामा एमालेको अग्रता बढ्ने देखिएको थियो । ७३३ को मात्र अन्तरमा झरेका देवी ज्ञवालीले ती मत सबै गन्दा मत अन्तर बढाएर ८८३ पु्याउने आकडा माओवादी प्रतिनिधिले निकाले । किनभने एमालेको सूर्यमा सातवटै छाप लागेका करिव १५० मतपत्रको चाङ त्यहाँ देखिएको थियो । त्यही आधारमा हिसाव निकाल्दा वडा अध्यक्षमा पनि एमालेले नै प्यानल नै जित्ने आकडा निकालियो । त्यही बुझेपछि माओवादीका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

मतगणना अधिकारीलाई पिसाव लाग्यो 
वाइसीएल इन्चार्ज न्यौपाने मतपत्र हेर्नै सकिनँ भनेर बसेको ठाउँबाट उठेपछि मत गणना अधिकृत कविप्रसाद न्यौपाने पिसाव लाग्यो भन्दै ट्वाइलेट गए । उता मतपत्र च्यात्ने माओवादी प्रतिनिधि दुई जना प्रतिनिधि न्यौपाने र सिवाकोटी गणनास्थलबाट बाहिर निस्के । भित्र मतपत्र च्यातिएको हल्ला बाहिर फैलिइसकेको थियो । उनीहरु बाहिर निस्केको थाहा पाएपछि एमाले कार्यकर्ता गंगा लामाले किन मतपत्र च्यातेका भन्दै उनीहरुमाथि हातपात गर्न खोजे । तर, प्रहरीले माओवादीका ती दुवै प्रतिनिधि र गणनास्थल बाहिर रहेका एमाले कार्यकर्ता गंगा लामा तिनै जनालाई पक्राऊ गर्यो ।

निर्वाचन आयोगलाई रिपोर्ट
माओवादीले मतपत्र च्यातेपछि निर्वाचन अधिकृत न्यौपानेले त्यहाँ भएको सम्पूर्ण घटनाको रिपोर्ट निर्वाचन आयोगलाई पठाउने र आयोगबाट के निर्देशन हुन्छ त्यही आधारमा गणना अघि बढाउने भनेपछि अहिलेसम्म त्यहाँ मतगणना भएको छैन । घटनाका विषयमा आफ्नो धारणा राख्न एमाले चितवनले अहिले ९ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

सिराहाको सम्झना 
भरतपुरमा राज्यशक्ति दुरुपयोग गरी प्रधानमन्त्री पुत्रीलाई जिताउने जति प्रयास गरे पनि मतदाताले सो अनुसारको मत नदिएपछि मतपत्र च्यात्ने काम गरेर माओवादीले ४ वर्ष अघिको संविधानसभा चुनावमा सिराहामा भएको घटना दोहोर्याएको छ । काठमाडौं १० र सिराहा ५ बाट चुनाव लडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौंबाट चुनाव हारिसकेका थिए । सिराहा ५ मा पनि उनी एमाले उम्मेदवार लिला श्रेष्ठ भन्दा करिव ८ सय मतले पछि परिरहेका थिए । त्यसबेला ५ घन्टा मत गणना रोकेर अचानक बत्ती गएको बाहना बनाएर दाहाल विजयी भएको घोषणा गरिएको थियो । अहिले दाहालकी पुत्री रेणु भरतपुरको मेयरकी उम्मेदवार छिन् । उनलाई चुनाव जिताउन कांग्रेसका मेयर उम्मेदवारको उम्मेदवारी कांग्रेस सभापति शेरबहादुर देउवाले जबर्जस्ती फिर्ता लिएका थिए भने देउवा र प्रधानमन्त्री दाहाल निर्वाचन आचार संहिता विपरित रेणुको चुनाव सभामा सम्बोधन गर्न पुगेका थिए । यतिले मात्र नपुगेर मन्त्रीपषिदले ब्याकडेटको निर्णय गरी भरतपुरको निर्वाचनका लागि करोडौं रकम निकासा गरी मतदाता प्रभावित पार्न पैसा बाँडिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?