प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !

सारांश

  • काठमाडौं, ४ जेठ ।
  • कम्युनिस्ट पार्टीको ‘पुनर्गठन’ भनिएको एमाले र माओवादी ‘फ्युजन’को घोषणा सभामा नेताहरूको आगमन चलिरहेका बेला अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको फोनमा म्यासेज आयो– सीता आमा आउनु हुँदैछ, भीआइपी कक्षमा पठाउनू ।
  • प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले उक्त म्यासेज गरेका थिए ।

काठमाडौं, ४ जेठ । कम्युनिस्ट पार्टीको ‘पुनर्गठन’ भनिएको एमाले र माओवादी ‘फ्युजन’को घोषणा सभामा नेताहरूको आगमन चलिरहेका बेला अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको फोनमा म्यासेज आयो– सीता आमा आउनु हुँदैछ, भीआइपी कक्षमा पठाउनू ।

प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले उक्त म्यासेज गरेका थिए । एकीकृत पार्टीका नेताहरू आउने क्रम जारी थियो ।

‘सीता आमा आउनुहुँदैछ, उहाँलाई यो भिँडमा तनाव नहुनेगरी भित्र भिआइपी कक्षमा लैजाने सन्देश आएको छ’, तामाङले अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष मदन चुडालसँग भने,‘यसो यताउता हेरेर बुझौं है !’

झन्डै आधा घन्टा पछाडी प्रचण्डपत्नी सीता दाहाल खैरो रङगको टेरियस गाडीबाट एकजना सहयोगी र जेठा नातीसँगै उत्रिइन् । अनुहार मलिन्द्र थियो, केही विरामीजस्तो देखिन्थिइन् । सहयोगीले उनको पाखुरा समातेर भिआइपी कक्षतिर उकाल्न थालिन् । आधाघन्टा अघि भिआइपी कक्षमा छिरिसकेका प्रचण्डलगायतका नेताहरू सीताबिना मञ्चमा उक्लिएनन् । खासगरी प्रचण्डको यो भावुकतामा अन्य नेताहरूले पनि ‘थोरै बिलम्व’लाई भावनाको कसीमा राखे ।

उनले स्थापना गरेको नेकपा माओवादी, त्यसको सशस्त्र युद्ध, एकीकृत नेकपा माओवादी, नेकपा माओवादी केन्द्रको यात्रा र अहिले नेपाल कम्युनिस्ट पार्टीमा अवतरणसम्म सीतालाई प्रधान प्रेरणा ठाने, प्रचण्डले । यसैले पनि उनी पत्नीको मुहार नहेरी मञ्चमा उक्लिन सकेनन्, उक्लिए पनि अन्य समयको जस्तो उर्जाशील हुनुको साटो भावुक भए

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (अन्डरलाइन)को नाम बुझाएर राष्ट्रिय सभा गृहको घोषणा सभामा प्रचण्ड केही भावुक पनि देखिएका थिए । उनको गला अवरुद्ध भयो, उनीसँग एकताका विषयमा बोल्ने शव्दको ‘स्कारसीटि’ लाग्यो । उनले त्यसैबेला पनि भनेका थिए,‘मसँग यो एकीकरणका विषयमा बोल्ने शव्दको अभाव भयो ।’

प्रचण्डले एकीकरण घोषणा गर्दागर्दै कम्युनिष्ट राजनीति शुरु गर्दाका दुख, भोकै बसेका रात, जंगलमा हिँडेका दिन, संघर्षको मैदानमा रहँदाका स्मरणहरू अघि सार्दै भविष्यका लागि एकीकरण गरेको भावना अघि दर्शाए । यति भन्दै गर्दा ६० कटेका नेताहरूको अब ‘दिनगन्ती’ सुरु भएकाले युवा पुस्ता र कार्यकर्ताको भविष्यका लागि एकीकरण गरिएको उनले बताए । उनले यो पनि थपे कि सत्तामा गएपछि कम्युनिस्टमा वैचारिक र व्यवाहारिक स्खलन भएकाले त्यसको अन्त्य आवश्यक छ ।

भावुकता र समर्पण
माओवादी युद्धको समयमा प्रचण्डको जोसले जसरी कार्यकर्ताहरूमा उम्लिँदो रगतको संचार हुने गरेको थियो, सीताको समर्पणले प्रचण्डमा उर्जा थप्ने गरेको थियो ।

हरेक ठाउँमा सीताबिना प्रचण्डको योजना सफल हुन सकेको थिएन । यसैकारण उनले स्थापना गरेको नेकपा माओवादी, त्यसको सशस्त्र युद्ध, एकीकृत नेकपा माओवादी, नेकपा माओवादी केन्द्रको यात्रा र अहिले नेपाल कम्युनिष्ट पार्टीमा अवतरणसम्म सीतालाई प्रधान प्रेरणा ठाने, प्रचण्डले । यसैले पनि उनी पत्नीको मुहार नहेरी मञ्चमा उक्लिन सकेनन्, उक्लिए पनि अन्य समयको जस्तो उर्जाशील हुनुको साटो भावुक भए ।

युवा नेता चुडालले भने, ‘अध्यक्ष भावुक हुनु स्वभाविक हो । यो विश्वमै नयाँ परिघटनामा आफूलाई उभ्याउन सफल हुनु भएको छ ।’

झन्डै १० वर्षको वनबासमा सीताको साथ थियो, प्रचण्डलाई । ज्यान हत्केलामा राखेर युद्धको राजनीतिलाई अंगीकार गर्दा उनले भोगेको हन्डर रामायणको ‘रामसीता’सँग तुलनायोग्य रहेको बताउँछन्, कम्युनिष्ट कार्यकर्ताहरू ।

‘कामी’ले कम्युनिस्ट बनाइदिएका नेता

झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२÷६३को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका थिए । कास्कीको ढिकुरपोखरी लिवाडेमा वि. सं २०११ साल मंसिर २६ गतेका दिन जन्मिएका प्रचण्ड मुक्तिराम र भवानीदेवीका जेठा छोरा हुन् । उनको नाम छविलाल थियो । आमाबुवाले ‘छवी’ नै भन्दथे ।

उनमा राजनीति त्यसमा पनि कम्युनिस्ट राजनीतिको बीउ १० कक्षामा रोपिएको थियो । त्यसबेला विभेदकारी समाज थियो । जातीय विभेद थियो । तर प्रचण्डले त्यसैबेला समाजमा अपहेलना गरिने र होच्याएर ‘कामी’ भनिनेबाटै कम्युनिस्ट राजनीतिको प्रारम्भिक उदय गरेका थिए ।

उनले कतिपय संस्मरणमा भनेका छन्,‘वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो । मेरै घरनजीक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका थिए ।’ त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो । चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो ।

तालीमको तयारीका लागि राइफल किन्न बादल र म मनाङस्थित देव गुरुङको घरमा गयौँ। त्यही क्रममा ०४५ सालमा पार्टीका सैन्य दस्तावेज, लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएको एउटा पेस्तोल र १० गोला जिलेटिन शरीरमा लुकाएर बादल र म बसबाट गोरखा जाँदै गर्दा मुग्लिनको पुल तरेपछि तनहुँको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा रौँ प्रमाणले मात्र बँचियो

त्यस हिसाबले उनको राजनैतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको यो राजनीतिक उतारचढावमा सीता साथै थिइन् ।

०४६ सालको जनआन्दोलनपछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू ‘मसाल’, चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री भए । त्यसपछि ०५१ सालमा फेरि एकताकेन्द्र छुट्टीएर दुई चिरा भएपछि प्रचण्ड समूहचाहिँ नेकपा माओवादीका रूपमा उदायो । जसले एक वर्षपछि सशस्त्र विद्रोह थाल्यो ।

०४६ सालको जनआन्दोलन हुनु केही समयअघि प्रचण्डले गोरखाको सिरूबारीको तिरानचोकमा १६ जनालाई पहिलोपटक हतियार चलाउने तालीम दिएका थिए । २०६२ फागुन २ गतेको ‘जनादेश’ लाई दिइएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्,‘त्यो तालीमको तयारीका लागि राइफल किन्न बादल र म मनाङस्थित देव गुरुङको घरमा गयौँ। त्यही क्रममा ०४५ सालमा पार्टीका सैन्य दस्तावेज, लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएको एउटा पेस्तोल र १० गोला जिलेटिन शरीरमा लुकाएर बादल र म बसबाट गोरखा जाँदै गर्दा मुग्लिनको पुल तरेपछि तनहुँको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा रौँ प्रमाणले मात्र बँचियो ।’

यी सबै यात्राहरूमा सीताको बलियो साथ थियो, प्रचण्डलाई । एसीयाको शक्तिशाली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष प्रचण्डले अबको लक्ष्य शान्ति र स्थायीत्वसँगै आर्थिक समृद्धि भन्ने गरेका छन् । तर व्यक्तिगत रूपमा राजनीतिबाट रिटायर्ड हुने सोच समेत बनाएका उनले त्यसैले भने,‘विचार र चिन्तन, प्रकृतिमा पनि छलाङका लागि केही उतराचढाव हुन्छन् भविष्यका लागि मास्तिर (जीवनको उत्तरार्ध) जाने बेलाका हामीले यो फड्को मार्ने निर्णय गर्नैपर्यो ।’

(विनोद ढकालले दैनिक नेपाल मा लेहेका छन ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?