‘सिन्डिकेट, भ्रष्ट, तस्कर, कालोबजारिया र गुण्डागर्दी अन्त्य गरेरै छाड्छु'(भिडियो)

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
‘सिन्डिकेट, भ्रष्ट, तस्कर, कालोबजारिया र गुण्डागर्दी अन्त्य गरेरै छाड्छु'(भिडियो)

सारांश

  • गृहमन्त्री रामबाहादुर थापा यसपटक कडा रुपमा प्रस्तुत भएका छन् ।
  • यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सफल भएपछि चर्चा र प्रशंसा बटुलेका मन्त्री थापाले देशभित्र रहेका सबैखाले सिन्डिकेट र विकृतिको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
  • थापासँग  समसामयिक विषयमा कुराकानी गरेका छन् ।

गृहमन्त्री रामबाहादुर थापा यसपटक कडा रुपमा प्रस्तुत भएका छन् । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सफल भएपछि चर्चा र प्रशंसा बटुलेका मन्त्री थापाले देशभित्र रहेका सबैखाले सिन्डिकेट र विकृतिको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । थापासँग  समसामयिक विषयमा कुराकानी गरेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

दुई दल मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेकोमा सबै नेताहरु सन्तुष्ट छन् ?
सबै नेताहरु खुशी छन् । एकता घोषणा भएपछि नेता, कार्यकर्ता पनि एक भएका छन् ।

पार्टी एकतापछि प्रचण्ड र केपी ओलीको मात्रै भुमिका देखियो । अरु नेताहरु भूमिकाविहिन भएका हुन् ?
नयाँ पार्टीको केन्द्रिय समिति ४ सय ४१ जनाको बन्दैछ । केन्द्रिय समिति सदस्य संख्याले नै सबै नेताको भूमिका स्पष्ट गर्छ ।

शीर्ष तहका नेताहरुलाई त थप जिम्मेवारी दिनुपर्ला नि । उनीहरुको जिम्मेवारी र व्यवस्थापन कसरी हुन्छ ?
नेताहरुलाई भूमिका दिएर नै व्यवस्थापन गर्ने हो । सबैलाई तहगत रुपमा जिम्मेवारी प्रदान गर्नुपर्छ ।

विमानचालकको रुपमा ओली र प्रचण्ड देखिनुभएको छ । दुईजनाले विमानलाई गन्तव्यमा पुर्याउन सक्छन् ?
अहिलेसम्मको परिणामले नै उहाँहरुले लक्ष्य भेटाउन सक्नुहुन्छ भन्ने पुष्टी गरेको छ ।

ओली र प्रचण्डबीचको केमेष्ट्री मिलेको हो ?
एउटै पार्टीमा दुईजना सहअध्यक्ष बनेर बस्नुभएको छ । यसले त केमेष्ट्री मिलेकै देखिन्छ । आलोपालो रुपमा बैठकको अध्यक्षता गर्ने सहमति भएको छ । उहाँहरुबीचमा सहमति हुनु नै केमेष्ट्री मिल्नु हो ।

विगतमा एक अर्काप्रति आरोप प्रत्यारोप गर्ने प्रचण्ड र ओली कसरी मिले ?
विगतमा दुईवटा धारहरुको बीचमा संघर्ष थिए । पार्टी फरक हुँदासम्म अन्तरसंघर्ष हुन्छ । वैचारिक संघर्ष भइरहन्छ । संघर्षले नै एकताको बाटोमा ल्याएको हो ।

पार्टी एकता त भयो । तर राजनीतिक रुपमा धेरै विवाद त बाँकी नै छ नि ?
वैचारिक र राजनीतिक रुपमा सहमति भएकाले नै पार्टी एकता भएको हो । यद्यपी केही विषयहरुमा बहस हुन सक्छ । जुन विषयमा सहमति भएको छैन, त्यसलाई छलफल गर्दै जाने र नयाँ संश्लेषण गर्ने हो ।

तपाईहरुले माओवाद छोडेर जनताको बहुदलिय जनवादलाई स्विकार गरेर एकता गर्नुभएको हो ?
अहिले माओवाद, जनताको बहुदलीय जनवाद वा २१औँ शताब्दीको माओवादबीचमा अन्तर देखिएको छ । यि सबै कुरालाई नयाँ संश्लेषण गर्ने हो । हामीले वा पूर्व एमालेले केही छोडेको छैन । छलफल गर्दै जाने विषयमा सहमित भएको छ ।

तर एमालेको रणनीतिअनुसार नै माओवादी विलय भयो भन्ने टिप्पणी छ नि ?
कुनै पनि घटनाले कुनै दल विलय भएको पुष्टी गर्दैन । दुई दल विघटन भएर नयाँ पार्टी भएको हो ।

एकतापछि पार्टीभित्रको तपाईको प्रभावकारी भूमिका देखिएन नि ?
नौ सदस्यीय सचिवालय सदस्य छु । अहिलेका लागि यही नै महत्वपूर्ण भूमिका हो । भोलीका दिनमा स्थायी किसिमको संरचना बन्छ ।

विष्णु पौडेललाई महासचिव बनाइएको छ । उक्त पदको लागि तपाई योग्य हुनुहुन्न ?
विष्णु पौडेलले महत्वपूर्ण पद पाउनुभएको छ । हिजो पनि उहाँको पनि महत्वपूर्ण भूमिका थियो । उहाँले पाएको नयाँ भूमिकालाई अरुसँग तुलना गर्नु हुँदैन ।

पार्टी एकता हुँदा महिलाहरुलाई भूमिकाविहिन बनाइयो नि । समावेशी किन भएन ?
अहिले नभए पनि भविष्यमा समावेशी बनाउँछौँ ।

तपाईहरुको एकता कति बलियो छ ?
अब फुटाउन सम्भव छैन । पार्टीभित्र मतभेद हुन सक्छ । तर कसैले पनि फुटाएर राज गर्ने सपना नदेखे हुन्छ । बाहिर रहेका कम्युनिष्ट धारका पार्टीलाई पनि एकतावद्ध गर्ने प्रयासमा छौँ । सबैलाई एकतावद्ध हुन आव्हान गर्न चाहन्छु ।

तपाईकै मित्र नेत्रविक्रम चन्द त अझै पनि युद्ध र हतियारको कुरा गरिरहनुभएको छ । कसरी मिलाउनुहुन्छ ?
उहाँले लिएको बाटो गलत भनिरहेका छौँ । बेठीक काम नगर्नुस भनेर आग्रह गरिरहेका छौँ । उहाँलाई पनि हामीले एकतामा आउन आग्रह गरेका छौँ । आउने नआउने उहाँको ईच्छा र सोचको कुरा हो ।

उहाँले शसस्त्र द्धन्द्धको बाटो लिनुभयो भने तपाई गृहमन्त्रीका नाताले के गर्नुहुन्छ ?
राज्यको विरुद्ध आउने वा कानुनको उल्लङ्घन गर्नेलाई सरकारले कारबाही गर्छ । कानुन मिच्नेलाई राज्यले छुट दिन सक्दैन ।

राजनीतिक रुपमा समाधानको उपाय छैन ?
हामीले एकातिरबाट राजनीतिक रुपमा हल गर्ने प्रयत्न हुन्छ । अर्कोतिर राज्यको कानुन र प्रशासनअनुसार नियन्त्रण गर्ने र कदम उठाउनुपर्ने हुन्छ । राजनीतिक रुपमा समस्याका समाधान गर्ने प्रयास र कानुनी कारबाही एकसाथ भइरहेको छ ।

युद्धमा जानुभयो भने वार्ता कि दमन ?
राज्यले आराज्यले आफ्नो दायित्व पूरा गर्छ । कानुन मिच्नेलाई कारबाही गर्ने गृहमन्त्रीको कर्तव्य हो । तर राजनीतिक रुपमा पनि हल गर्ने प्रयास हुन्छ ।

विकास र समृद्धिका लागि धेरै कुराहरु बाधकको रुपमा देखिएका छन् । त्यस्ता बाधकलाई कसरी हटाउनुहुन्छ ?
विकास र समृद्धिको मार्गमा जो ठेकेदारहरु, भ्रष्ट, तस्कर, कालोबजारीहरु अगाडि आउँछन्, त्यसलाई सरकारले जरैदेखि उखेल्छ । देशको विकास र समृद्धि चाहकै हो भने यस्ता विकृतिको अन्त्य गर्नैपर्छ । भ्रष्टचारको उन्मुलन गर्नु अपरिहार्य छ ।

भ्रष्ट, तस्कर, कालोबजारिया, गुण्डा जस्ता बाधकको सम्बन्ध नै नेताहरुसँग छ । यस्तो संजाल तोड्न सक्नुहुन्छ ?
विकृतिको संजाल भत्काएर भताभुङ् पार्ने अभियान सुरु भइसकेको छ । चाहे राजनीतिक नेता होस्, चाहे कुनै पनि आवरणमा बसेका पात्र होस्, त्यस्तालाई सरकारले छोडद्ैन । यो अभियान भनेको भ्रष्ट, तस्कर, कालोबजारिया, गुण्डाको संरक्षकको अन्त्य गर्ने अभियान हो । जनताको साथ र समर्थनबाट सबै विकृति तोड्न सकिन्छ ।

भ्रष्टाचारी र तस्करको राजनीतिक दलसँगको साँठगाँठका कारण संगठन मजबुत छ । कसरी तोड्न सक्नुहुन्छ ?
राष्ट्रको विकास र समृद्धि चाहनेको संख्या धेरै छ । आम जनताको समर्थन छ । पार्टी पनि प्रतिबद्ध छ । सरकार शुन्य सहनशीलताको नीतिमा छ । त्यसकारण सबै विकृति रोक्न सकिन्छ । अप्ठ्यारा र चुनौतिलाई यो सरकार र पार्टीले स्विकार गरेको छ । हामी आतंकित छैनौँ । विगतमा जे भयो भयो । विगतको जस्तो परिस्थिती अहिले छैन ।

सामाजिक विकृति रोक्नका लागि के गर्दै हुनुहुन्छ ?
समाजका भएका सबै कुरीति तोड्न सकिन्छ भन्ने विश्वास लिएर काम गरिरहेको छु । समाज रुपान्तरणका लागि ऐनहरु संशोधन गर्दैछौँ । अन्धविश्वास, कूरीतिलाई कानुनी रुपमै उन्मुलन गर्ने सोच लिएका छौँ ।

तपाईले यातायात क्षेत्रको सिन्डिकेट तोड्नुभयो । तर सुन तस्करलाई कारबाही गर्न चुक्नुभएको हो ?
अहिले गृहमन्त्री चुक्ने र नचुक्ने भन्ने प्रश्न होइन । सुन तस्करलाई कारबाही गर्नका लागि पनि गृहमन्त्रीले कदम उठाइरहेको छ । प्रक्रिया अगाडि बढिरहेको छ । अनुसन्धान भइरहेको छ ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन के भइरहेको छ ?
अनुसन्धानको प्रक्रियामा छ । यस घटनामा कुनै राजनीतिक दलका नेता नै संलग्न छन् भने पनि कानुनी कारबाही गर्छु ।

नेपाल प्रहरीका उच्च अधिकारी र ठूला नेताहरु पनि संलग्न भएको आशंका गरिएको छ । कारबाही गर्न सक्नुहुन्छ ?
अहिले अनुसन्धानको क्रममा छ । यदी कोही दोषी ठहरिए भने कसैले पनि छुट पाउँदैन ।

लहरो तान्दा पहरो थर्किने हो कि ?
हुन सक्छ । लहरो तान्दा पहरो थर्किन्छ भने पनि हामी तस्करको अन्त्य गरेरै छाड्छौँ । सुन तस्करहरुको मात्रै होइन, सबैखाले गैर कानुनी र अपराधको संजाल अन्त्य गर्छौँ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    काम गरेर देखा न गफ किन ?

    Comment Author

    Sunena Kandangwa

    Kura vanda kam garera dakhaou na desh vari varsatachar byapta chha khai kun varastacharilai pagrara jail halnuvayo sunko kura ma thulo macha kahile vataoudaina

    Comment Author

    Ratna Dong

    Kurama matra simit nahosh mantri jyu

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?