आमा महिनावारी भएकोबेला (कबिता)

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
आमा महिनावारी भएकोबेला (कबिता)

सारांश

  • ✍ अन्जना इछमफूल प्रत्येक अठ्ठाइस दिनमा बुवा चुल्होमा उभिएर घिउमा ज्वानो फुराएर रक्सी झान्ने गर्नुहुन्थ्यो ।
  • तातो तेलले आमाको गोडा मालिस गरिदिनुहुन्थ्यो ।
  • पलेटी कसेर मजाले ढिँडो मस्काउनुहुन्थ्यो !

अन्जना इछमफूल

प्रत्येक अठ्ठाइस दिनमा
बुवा चुल्होमा उभिएर
घिउमा ज्वानो फुराएर रक्सी झान्ने गर्नुहुन्थ्यो ।
तातो तेलले आमाको गोडा मालिस गरिदिनुहुन्थ्यो ।
पलेटी कसेर मजाले ढिँडो मस्काउनुहुन्थ्यो !
आमा अगेना छेउमा बसेर भुङ्ग्रोमा
पालैपालो पाइताला र ढाँड सेकाइरहेकि हुन्थिन ।
चार दिनको लागि आमा
केटाकेटी या पाहुना, यस्तै बनेर
हामीसङ्गै बसेर कपाकप माम खान्थिन !!
त्योबेला– पधेँराबाट
ठूलो तामाको गाग्रीमा पानी पनि
अक्सर बाबालेनै ओसार्नुहुन्थ्यो ।

अनि मलाइ लाग्थ्यो
आमा सधैं महिनावारी भैरहुन !!
किनकी म आमासङ्ग लेपासिएर
बाबाले पकाएको तातो ढिँडोको गाँस
कुप्लुक कुप्लुक निल्न पाउँ ।
आफुले टोक्न नसकेको गुन्द्रुकको त्यान्द्रो
मासुको छाला र हड्डि,
सुटुक्क
आमाको बटुकोमा हालिदिन पाउँ ।
खादाँखादैको बाँकि सानो
ढिँडोको डल्लो पनि
आमाकै ढिडोमाथी स्तुपाको आकार बनाएर छोडिदिउँ ।
अनि शान्ति र स्निग्ध
एकजोडी बुद्धको आँखाहरु ढिँडोकै बनाइदिउँ  !!
र ठुली भएपछि ती आखाहरुलाइ बोकेर
बिश्वभ्रमणमा निस्कुँ ‘।
आमाजस्तै महिनावारी भएकी महिलाहरुको
महिनावारी दिवशको सुखसयल हेरुँ !!

त्यो बेला मलाइ थाहा थिएन कि

एकदिन मलाइ पनि महिनावारी हुनेछ ‘।

र यो पनि थाहा थिएन कि,

मेरि आमा जस्तै थुप्रै आमाहरुको लागि
छाउगोठ पनि बनाइएको छ यो देशभित्र  !
पाँच दिनसम्म आमाको हातको पानी बारिन्छ
यहीँ देशमा ।
र यसैको विरुद्ध मेरि आमाजस्तै आमाहरुले
आवाज उठाइरहेका छन ‘ यहीँ देशभित्र  !!

जब मैले यी सब आफ्नै आँखाले देखेँ ‘।
तब मैले बुद्धको आँखा लिएर बिश्व
भ्रमण गर्ने मेरो योजना रद्द गरेँ  !!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?