महिनावारी बार्न छाउगोठमा सुतेकी पार्वतीको मृत्यु
सारांश
- काठमाडौं, २९ जेठ ।
- अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका– ४ जया गाउँकी १८ वर्षीया पार्वती बुढाको सर्पले डसेर मृत्यु भएको छ ।
- महिनावारी बार्नका लागि छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राति पार्वतीको मृत्यु भएको हो ।
काठमाडौं, २९ जेठ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका– ४ जया गाउँकी १८ वर्षीया पार्वती बुढाको सर्पले डसेर मृत्यु भएको छ । महिनावारी बार्नका लागि छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राति पार्वतीको मृत्यु भएको हो ।
छाउगोठमा सुतेको अवस्थामा पार्वतीको दायाँ हातको औंलामा सर्पले डसेको बताइएको छ । पार्वती बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी र आफ्नी साथी राधिका बुढासँगै गोठमा सुतिरहेको बेला छानामाथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी बताइन् । परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो खबर पाएकाले उपचारको अभावमा उनको ज्यान गएको हो ।
पार्वतीले यसैवर्ष विश्वज्योति माविबाट एसइइ दिएकी थिइन् । उनीसँगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो । तुर्माखाँद–४ का वडाध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसँग सुतेको बताए ।
छानामा सुतेका बेला सर्पले टोकेको भन्ने खबर आफूकहाँ आएको बुढाले बताए । तुर्माखाँद गाउँपालिकाकी उपप्रमुख अमृता बुढाले आफू काठमाडौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताएको भनेर आजको कान्तिपुरले छापेको छ ।
प्रतिक्रिया