पाकिस्तानमा आज निर्वाचन, कस्तो आउला नतिजा ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
पाकिस्तानमा आज निर्वाचन, कस्तो आउला नतिजा ?

सारांश

  • काठमाडौं ९ साउन,  ।
  • पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ ।
  • १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ ।

काठमाडौं ९ साउन,  । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुको ५७७ सिटको लागि ८३९६ उम्मेदवारहरु खडा भएका छन् । जम्मा ३४२ सदस्य रहने पाकिस्तानको राष्ट्रिय सभामा ६० सिट महिला र १० सिट धार्मिक अल्पसंख्यकको लागि आरक्षित छन् । यो चुनावमा त्यहाँ प्रमुख दलका शीर्ष नेताहरुले समेत अलग अलग प्रान्तका विभिन्न सिटहरुबाट उम्मेद्वारी दिएका छन् ।

पाकिस्तानी मुस्लिम लिग–नवाबका सभापति सहवाज सरिफ ४ स्थानबाट प्रतिष्पर्धामा छन् भने यसपटकको चुनावमा अपेक्षाकृत राम्रो नतिजा हात पर्ने अनुमान गरिएको दल तरिक–ए–इन्साफका प्रमुख तथा पूर्वक्रिकेटर इमरान खानले ५ स्थानमा मनोनयन गरेका छन् । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारी भने ३ क्षेत्रबाट चुनाव लड्दैछन् ।

अतिवादको चिन्ता

पाकिस्तानी चुनावको नतिजा कस्तो आउला भन्ने अनुमान अहिले नै लगाउन गाह्रो छ । अहिले यतिमात्र भन्न सकिन्छ कि त्यहाँको राजनीतिक परिदृश्य विभाजित, अन्यौलग्रस्त र अनुमान गर्न नसकिने खालको छ ।

तर, पाकिस्तानमा बहुमतविहीन, कमजोर र गठबन्धनको सरकार बनाउने संसद गठन गर्ने सम्भावना धेरै छ । यसो हुँदा आगामी सरकार कमजोर बन्ने र त्यसले क्षेत्रीय तथा अन्तराष्ट्रिय राजनीतिमा समेत बलियो र प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने चिन्ता गरिँदैछ ।

गठबन्धन सरकार बन्दा विशेषगरी पाकिस्तानी सरकारले उसको बैदेशिक नीतिका सम्बन्धमा बनाउने धारणाहरुमा समस्या पर्ने हुनसक्छ । यदि गठबन्धनको सरकार बन्यो भने कतिपय धार्मिक कट्टरपन्थीहरूको समेत सरकारमा सहभागिता हुनसक्ने देखिन्छ ।

यस्तो भएमा फेरि पाकिस्तानमा धार्मिक अतिवाद हावी हुनसक्ने चिन्ता पनि व्यक्त भइरहेको छ । यो आशंका बलियो हुनुको कारण यो हो कि चुनावमा प्रत्यासीका रुपमा देखिएका उमेदवारहरुको सूचीमा धेरै त्यस्ता नामहरु छन्, जो पाकिस्तानमा बैधानिकता प्राप्त गर्न नसकेका धार्मिक संगठनका सक्रिय सदस्यहरु हुन् । उनीहरु कतिपय स्वतन्त्र त कोहि अन्य दलबाट चुनाव लडेकाछन् ।

परिणामको पूर्वानुमान

सन् २०१३ मा पाकिस्तान मुस्लिम लिग–नवाफले राष्ट्रिय सभामा बहुमत पाएको थियो । तर, गतवर्ष त्यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाफ सरिफलाई भ्रष्टाचारको अभियोगसहित आजन्म प्रधानमन्त्री बन्न नपाउने गरी पदबाट बर्खास्त गर्यो ।

उनीसंगै सो दलका धेरै नेताहरु पनि राजनीतिबाट पर जानु पर्ने भएपछि पूर्वक्रिकेटर इमरान खानको दल पाकिस्तान तारिक–ए–इन्साफको लागि मैदान खाली भयो । पाकिस्तानको प्रमुख प्रतिपक्षी तारिक–ए– इन्साफप्रति त्यहाको जनसंख्याको ६५ प्रतिशत हिस्सा ओगटेको युवापंतिको बिषेश आकर्षण छ । त्यसबाहेक खानले आफ्नो नैतिकवान छवी बनाएका छन् । उनलाई नयाँ अनुहारका इमान्दार नेताका रुपमा स्वीकार्न धेरैलाई गाह्रो छैन । फेरि पाकिस्तानी राजनीतिमा बलियो प्रभाव राख्ने त्यहाँको सेनाले समेत पत्याएको नेता कारुपमा उनलाई चिन्ने गरिन्छ ।

सबै सूचकहरुले उनकै नेतृत्वमा अन्य साना दलहरुसहित अबको सरकार बन्ने गरि चुनावी नतिजा आउने अनुमान गरिएको हो ।

खानको पक्षमा वातावरण किन पनि बन्ने देखिन्छ भने उनको चिन्ताको प्रदेश पन्जाब हो, जहाँबाट सबैभन्दा धेरै सांसद केन्द्रिय संसदमा जान्छन । अनि त्यहीं मुस्लिम लिगको विगत देखिको पकड रहेकोमा यो पटक अति कमजोर बनेको छ ।

सिन्धमा पनि पाकिस्तान पिपुल्स पार्टी यसपटक कमजोर देखिएको छ ।

सम्भावना र चुनौती

पाकिस्तानको चुनावी सरगर्मीले केही सम्भावना र चुनौतीलाई एकैसाथ उजागर गरेको छ । कतिपयले यो निर्वाचनपछि पाकिस्तान नयाँ युगमा प्रवेश गर्ने विश्वास गरेका छन् भने धेरैले पाकिस्तानको राजनीतिमा फेरि पनि सेना नै हावी हुने त होइन भनेर आशंका गरिरहेका छन् ।

सबैभन्दा अनौठो पक्ष त यो छ कि यदि इमरान खानले पाकिस्तानलाई नेतृत्व गर्न पाए भने नयाँ युग र परिवेश सुहाउँदो गतिमा मुलुकलाई हाक्नेछन् भन्नेहरु नै उनीप्रति सेनाको लगावबाट सशंकित पनि छन् । निर्वाचन आयोगले पत्र लेखेर सेनालाई मतदान केन्द्रको सुरक्षाको जिम्मा दिएपछि यस्तो आशंकामा थप मदत पुगेको देखिन्छ ।

त्यसो त निर्वाचन आयोगले सुरक्षा निकायका लागि पनि कडा आचार संहिता निर्माण गरेको छ । आतंकवादको चपेटामा दशकौंदेखि पिल्सिएको मुलुकमा चुनावी सुरक्षाको लागि सेनालाई परिचालन गर्नुलाई त्यति अस्वाभाविक भनिहाल्न पनि मिल्दैन ।

पाकिस्तानको चुनाव भाँड्ने प्रयत्न भएको पनि देअियो । यसै महिनामा भएका केही आतंकवादी हमलाहरु इस्लामिक आतंकवादीको नाममा अन्य निकायहरुले नै घटाएको विश्लेषण पाकिस्तानी सुरक्षा निकायहरुले गरेका छन् । पाकिस्तानी तालिवान र इस्लामिक स्टेट जस्ता संगठनहरुले बिष्फोटको जिम्मेवारी लिए तर, खेल अर्कै रहेकोमा विश्वास गर्न सकिन्छ ।

उसो त कतिपयले अब पाकिस्तानी चुनावलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिनबाट रोक्ने प्रयास हुनसक्ने आंकलन पनि गरेका छन् ।

कूटनीतिको कहर



अब बन्ने पाकिस्तानी सरकारको लागि अस्तव्यस्त बैदेशिक सम्बन्धलाई सम्हाल्नु पर्ने चुनौती छ । क्षेत्रीय रुपमा भारतसँग प्रतिष्पर्धा गर्न सक्ने छिमेक नीति अवलम्बन गर्नुपर्ने हुन्छ भने अमेरिका र चीनसंगको सम्बन्धलाई पनि राष्ट्र हितमा प्रयोग गर्न सक्ने बनाउनु पर्ने हुन्छ । अहिले पाकिस्तानको भारतसँग मात्र होइन अमेरिकासंग पनि कटुतापूर्ण सम्बन्ध छ ।

एकतिर अफगानिस्तानमा जारी संघर्ष पाकिस्तानको टाउको दुखाई हो भने त्यतातिरको समस्या हल गर्ने नाममा अमेरिका र भारतले दिने दुःखको कथा पनि बेग्लै छ । यस्तोमा कास्मिर समस्याको दीर्घकालीन हल खोज्न भारतसँग गर्नुपर्ने सम्वाद र अर्कोतर्फ अफगानिस्तानसँग जोडिएको अमेरिकी स्वार्थलाई साथ दिनुपर्ने बाध्यतामा नयाँ सरकार फस्छ ।

चीनसँग मिलेर विकास गरेको आर्थिक करिडोर अमेरिका र भारत दुबैको निशानामा पर्ने खतराबाट जोगिएर चीनसँग अझ बलियो साइनो जोड्नु पनि अबको सरकारको निर्विकल्प कदम हुनुपर्ने देखिन्छ ।

हाल २८.६ बिलियन डलरको लागतमा २२ वटा प्रोजेक्टहरु चीनले पाकिस्तानमा निर्माण गरिरहेको छ । आफ्नो ठुलो लगानीको कारण चीनले पाकिस्तानको चुनावलाई नजिकबाट नियालिरहेको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुकको चासोलाई सम्बोधन गर्नसक्ने सरकार बनेमा भने यो निर्वाचन पाकिस्तानको इतिहासमा कोसेढुङ्गो बन्नसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आकाशबाट १० किलोको ढुंगा खसेपछि मन्त्रीदेखि सर्वसाधारणको भिड
आकाशबाट १० किलोको ढुंगा खसेपछि मन्त्रीदेखि सर्वसाधारणको भिड
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
आयुष्मान र शिल्पा के गर्दैछन् बैंककमा ?
आयुष्मान र शिल्पा के गर्दैछन् बैंककमा ?
वाम गठबन्धन : १५ जिल्लामा अझै मिलेन भागबन्डा
वाम गठबन्धन : १५ जिल्लामा अझै मिलेन भागबन्डा
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने
चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु
चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
पञ्चसिर कब्जा गर्न तालिवान असमर्थ
पञ्चसिर कब्जा गर्न तालिवान असमर्थ
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
उपभाेक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु
उपभाेक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु