ढाकाटोपीमा ‘माेदी रणनिती’ गाेर्खाहरूकाे समाधान ‘बोलेर होइन काम गरेर देखाउने वचन’
सारांश
- काठमाडाै, १७ साउन।
- आसामका सबै गोर्खालाई नेशनल रजिस्टर अफ सिटिजन (एनआरसी) मा अन्तर्भुक्त गरिनुपर्ने माग आसाम गोर्खा सम्मेलनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राखेको छ।
- एनआरसीबाट रैथाने गोर्खाहरूको नाम छुटेको मुद्दालाई लिएर मंगलबार आसाम गोर्खा सम्मेलनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्लीमा भेटेको थियो।
काठमाडाै, १७ साउन। आसामका सबै गोर्खालाई नेशनल रजिस्टर अफ सिटिजन (एनआरसी) मा अन्तर्भुक्त गरिनुपर्ने माग आसाम गोर्खा सम्मेलनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राखेको छ।एनआरसीबाट रैथाने गोर्खाहरूको नाम छुटेको मुद्दालाई लिएर मंगलबार आसाम गोर्खा सम्मेलनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्लीमा भेटेको थियो। भेटवार्तामा टोलीले एनआरसीमा गोर्खाहरूको नाम छुटेको मुद्दालाई गम्भीरतापूर्वक लिएर ठोस पहल गरिदिन अनुरोध गऱ्यो।
आसाम गोर्खा सम्मेलनका महासचिव लक्ष्मी सेढार्इका अनुसार टोलीले मंगलबार ११ बजे दिल्लीको पार्लियामेन्ट हाउसस्थित प्रधान कार्यालयमै मोदीलाई भेट गरेको हो। ‘हाम्रो मागलाई प्रधानमन्त्रीले ध्यानपूर्वक सुनेका छन्’, उनले भने, ‘प्रम मोदीले एनआरसीमा गोर्खाहरूको नाम छुटेको समस्या समाधान गर्ने आश्वासन दिएका छन्।’
टोलीले प्रधानमन्त्रीसमक्ष जनजातिको मुद्दालगायत जमिन र शैक्षिक मुद्दाहरू उठाएको थियो। ‘हाम्रो मुद्दामा प्रधानमन्त्री सकारात्मक देखिएका छन्’, उनले थपे, ‘आसामका गोर्खाहरूको समस्या समाधानका लागि प्रमले बोलेर होइन काम गरेर देखाउने वचन दिएका छन्।’ उनका अनुसार आसामका गोर्खाहरूको समस्यालाई लिएर प्रधानमन्त्री सकारात्मक देखिएका थिए। माग कार्यान्वयन गर्ने मुडमा देखिएका मोदीले तत्कालै प्रधानमन्त्री कार्यालयका मन्त्री डा जितेन्द्र सिंहलाई बोलाएर समस्याहरूको समाधानका लागि ठोस पहल शुरु गर्न निर्देशन समेत दिए।
‘प्रम मोदीलाई भेटेपछि हामी हाम्रो समस्या समाधान हुने कुरामा ढुक्क छौँ’, सेढार्इले थपे, ‘हामीलाई उनले ढुक्क भएर बस्ने भरोसा दिएका छन्।’प्रधानमन्त्री भेट्न गएको प्रतिनिधि टोलीमा उनीलगायत कार्यकारी सभापति कृष्ण भुजेल, महासचिव बासुदेव उपाध्याय, उपसभापति कर्ण भुजेल, कार्यालय सचिव सञ्जीव दाहाल र सदस्य गोकर्ण मिश्र थिए। एनआरसीको कारण आसामका गोर्खाहरूमा विस्थापनको भय बढेपछि त्यहाँका गोर्खाका सङ्गठनहरू यो समस्या सुल्झाउन सक्रिय देखिएका छन्। सेर्ढाइका अनुसार, एनआरसीमा धेरै गोर्खाहरूको नाम छुटेको छ। धेरैको नाम ट्रिब्युनल फोरनमा परेको छ। धेरैलाई डि–भोटर बताइएको छ। यी समस्याहरूलाई समाधान गर्न प्रम मन्त्रीले आसाम गोर्खा सम्मेलनलाई भरोसा दिलाएका छन्।
‘हाम्रो उद्देश्य एनआरसीबाट एकजना गोर्खाको नाम पनि नछुटोस् भन्ने हो। प्रधानमन्त्रीसमक्ष पनि हामीले यसै कुरालाई राखेका छौँ’, उनले थपे, ‘आसाममा गोर्खाहरूको इतिहास धेरै पुरानो छ। हामी यसका लागि लड़िरहने छौँ।’ प्रम मोदीसँगको भेटका अवसरमा आसाम गोर्खा सम्मेलनको टोलीले उपहारस्वरुप ढाकाटोपी लगाइदिएको थियो।
प्रतिक्रिया