अज्ञात रोगले चौपाया मर्न थाले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
अज्ञात रोगले चौपाया मर्न थाले

सारांश

  • डोटी, ४ असोज ।
  • करीब दुई महिना यतादेखि फैलिएको अज्ञात रोगले डोटीमा चौपाया मर्न थालेका छन् ।
  • जिल्लाको शिखर नगरपालिका–१० बानेडुग्रीसैनमा केही महिना यतादेखि फैलिएको अज्ञात रोगले भैँसी, गोरु तथा गाई मर्न थालेको स्थानीय वीरबहादुर बलायरले बताउनुभयो ।

डोटी, ४ असोज । करीब दुई महिना यतादेखि फैलिएको अज्ञात रोगले डोटीमा चौपाया मर्न थालेका छन् ।जिल्लाको शिखर नगरपालिका–१० बानेडुग्रीसैनमा केही महिना यतादेखि फैलिएको अज्ञात रोगले भैँसी, गोरु तथा गाई मर्न थालेको स्थानीय वीरबहादुर बलायरले बताउनुभयो ।जिल्ला पशु सेवा कार्यालय डोटीले सो ठाउँका पशु चौपायामा कुन रोग लागेको हो अहिलेसम्म पत्ता लगाउन नसकेको वडा अध्यक्ष मीनबहादुर बलायरले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म कम्तीमा ५० चौपाया मरिसकेका छन् । कतिपय चौपाया रोगले थला परेका छन् ।

चौपायाको मुखमा ¥याल आउने, काप्ने, छट्पटाउने, खानापानी नखाने लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेको स्थानीयवासी बताउँछन् । जिल्लामा पशुसम्बन्धी चिकित्सक नभएकाले रोग पत्ता लाग्न नसकेको र उपचारसमेत हुन सकिरहेको छैन । नगरपालिकामा रहेको पशु सेवा एकाइ कार्यालयबाट प्राविधिक सो क्षेत्रमा गए पनि रोग पत्ता लगाउन नसकेको स्थानीय हर्कबहादुर बलायरले बताउनुभयो ।एकाइ कार्यालयमा रहेको सामान्य औषधि प्रयोग गरिएको भए पनि औषधिले खासै काम गर्न नसकिएको पशु एकाइ कार्यालयका प्राविधिक जयप्रकाश मल्लले बताउनुभयो । “चौपायाको गोबर जाँचको लागि धनगढी पठाएका छौँ” उहाँले भन्नुभयो, “रिपोर्ट नआएकाले यही रोग लागेको हो भन्न सकिने अवस्था छैन ।”

पशु चौपायामा फैलिएको महामारी रोग पत्ता लगाउन नगरपालिकाबाट पहल भइरहेको नगर प्रमुख सीताराम जोशीले बताउनुभयो । “अज्ञात रोगले धमाधम पशु मरेको खबर हामीले पनि थाहा पायौँ, छिमेकी जिल्ला डडेल्धुरामा पनि पशु चिकित्सक छैनन्” उहाँले भन्नुभयो, “कैलालीबाट पशु चिकित्सकको टोली ल्याउन पहल भइरहेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?