तिम्बुङ पोखरी पुग्न समस्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
तिम्बुङ पोखरी पुग्न समस्या

सारांश

  • पाँचथर, १२ असोज ।
  • पदमार्ग बन्न नसक्दा धार्मिक तथा पर्यटकीयस्थल ‘तिम्बुङ पोखरी’ जाने तीर्थयात्री र पर्यटकले सास्ती खेप्नुपरेको छ ।
  • पाँचथरको याङवरक, ताप्लेजुङको सिदिङवा गाउँपालिका र भारत सिक्किम राज्यको त्रिकोणात्मक सङ्गमस्थलमा अवस्थित तिम्बुङ पोखरीको भ्रमण गर्न ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् ।

पाँचथर, १२ असोज । पदमार्ग बन्न नसक्दा धार्मिक तथा पर्यटकीयस्थल ‘तिम्बुङ पोखरी’ जाने तीर्थयात्री र पर्यटकले सास्ती खेप्नुपरेको छ । पाँचथरको याङवरक, ताप्लेजुङको सिदिङवा गाउँपालिका र भारत सिक्किम राज्यको त्रिकोणात्मक सङ्गमस्थलमा अवस्थित तिम्बुङ पोखरीको भ्रमण गर्न ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् ।सदरमुकाम फिदिमदेखि १८ कोश उत्तरमा रहेको तिम्बुङ पुग्न मेची राजमार्ग हुँदै पाँचथरको गणेशचोकबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पाँचथरको फलैँचा वा ताप्लेजुङको कालीखोला हुँदै पुग्न सकिन्छ । मध्यपहाडी लोकमार्गको चिवाभञ्ज्याङ भएर पनि तिम्बुङ पुगिन्छ । इलामको पशुपतिनगरबाट सन्दकपुर–फालोट रुट प्रयोग गरेर पनि तिम्बुङको यात्रा तय गर्न सकिन्छ ।

सानो गोरेटो बाटो पछ्याएर यात्रा गर्नुपर्दा निकै गाह्रो हुने गरेको फिदिम–१, शनिबारेका मनोज गुुरुङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पदमार्गलाई व्यवस्थित गर्नुपर्छ, त्यसतर्फ स्थानीय तहको ध्यान जान सकेको छैन ।” पैदल यात्रा गरी तिम्बुङ पुग्नुभएका फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाँका शङ्कर आङ्देम्बे पनि बाटो साँघुरो र अप्ठ्यारो भएको बताउनुहुन्छ ।पाँचथरको याङवरक गाउँपालिका–२, बेतेनी र ताप्लेजुङतिरबाट सिदिङ्वा गाउँपालिका–१, कालीखोलाको आकाशे गाउँ छाडेपछि कुनै बस्ती भेटिदैन । चौँरी र भेँडीगोठबाहेक बस्ने सुविधा छैन ।

“राज्यको आँखा पर्न सकेन,” ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–१ कालीखोलाका फौदबहादुर भण्डारी भन्नुुहुन्छ । बहुमूल्य जडीबुटीको भण्डार, धार्मिक आस्थाको केन्द्र, प्राकृतिक सुन्दरता र जैविक विविधताका लागि महत्वपूर्ण क्षेत्र भएर पनि उक्त क्षेत्र ओझेलमा परेको छ ।याङ्वरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङ पर्यटन विकासका लागि विभिन्न निकायलाई गुहार्दै आएको बताउनुहुन्छ । अहिले पाँचथरको याङ्वरक गाउँपालिका–२, हुँदै तिम्बुङसम्म सडक पु¥याउने योजना बन्दै छ । सिदिङ्वा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले साब्लाखुदेखि आङ्खोप हुँदै तिम्बुङ जाने सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । तिम्बुङ पोखरी समुद्री सतहदेखि चार हजार ४८० मिटरको उचाइमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?