नेकपा सचिवालयमा यसरी बन्दैछ ३–३ नेताका गुट
सारांश
- काठमाडाै, ६ मंसिर ।
- पार्टीलाई गुटबन्दीबाट मुक्त गर्ने भनेपनि सत्तारुढ नेकपाको शीर्ष तहमा अदृष्यखालको गुटबन्दी सुरु भएको छ।
- सांगठनिक एकता र सरकारका काम कारवाहीका विषयलाई लिएर केन्द्रीय सचिवालयमा तीन वटा गुट बनेका छन्।
काठमाडाै, ६ मंसिर । पार्टीलाई गुटबन्दीबाट मुक्त गर्ने भनेपनि सत्तारुढ नेकपाको शीर्ष तहमा अदृष्यखालको गुटबन्दी सुरु भएको छ। सांगठनिक एकता र सरकारका काम कारवाहीका विषयलाई लिएर केन्द्रीय सचिवालयमा तीन वटा गुट बनेका छन्। केन्द्रीय कमिटी बैठकको माग गर्दै बुधबार १८ केन्द्रीय सदस्यले पेश गरेको ज्ञापन पत्रका विषयबस्तुमाथि हुने बहसले पनि नेकपा केन्द्रीय सचिवालयभित्रको गुटबन्दीलाई अझ गहिरो बनाउने जानकारहरु बताउँछन्।
नेकपाभित्र प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र तल्लो तहमा सांगठनिक एकताको विषयलाई लिएर विवाद छ। केन्द्रीय सचिवालयभित्रको एउटा पक्षले ओलीको आलोचना सुरु गरेको छ भने अर्को पक्षले बचाउ। स्रोतका भनाईमा, सांगठनिक एकता र सरकार एवं पार्टीभित्र ओलीको भूमिकालाई लिएर हुने बहसमा ओलीको कार्यशैलीको विपक्षमा नेकपा नेतात्रय माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ छन्। उनीहरुले आज हुने बैठकमा प्रम ओलीको जमेर आलोचना गर्नेछन्। यो समूहको नेतृत्व नेता नेपालले गर्नेछन्। ५ असोजको बैठकपछि उनी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली विरुद्ध मुखर रुपमा प्रस्तुत हुँदै आएका छन्।
आफू घाना भ्रमणमा रहेका बेला केन्द्रीय सचिवालयको बैठक डाकेर प्रदेश कमिटीको नेतृत्व चयन गरिएकोप्रति असहमत नेता नेपालले १२ असारमा त्यसविरुद्ध स्थायी समितिका सदस्यहरुको चियापान भेला नै डाकेका थिए। ५ असोजको निर्णय कार्यान्वयन गर्ने २२ असोजको सचिवालय बैठकको निर्णयप्रति असहमति जनाउँदै त्यस सम्बन्धमा स्थायी समितिको बैठक छलफल हुनुपर्ने माग गरेका थिए। उनको यो मागको खनाल र श्रेष्ठले समर्थन गरेका छन्। रमाइलो त के छ भने, केन्द्रीय सचिवालयको मर्यादाक्रममा आफूभन्दा माधव नेपाललाई अघि राखिएकोप्रति असन्तुष्ट खनालसमेत नेपालसँगै ओलीप्रतिको आलोचक समूहमा सामेल भएका छन्। एकतालगत्तै श्रेष्ठपनि नेपालसँग निकट छन्।
नेता नेपालले आफूविरुद्ध मोर्चा खोलिरहँदा ओलीले आफ्नो बचाउ त गर्नेछन् नै। केन्द्रीय सचिवालयका थप दुई सदस्यको पनि उनले साथ पाउनेछन्। ओलीले साथ पाउने नेताहरु हुन्, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव बिष्णु पौडेल। मन्त्री मण्डल विस्तारका बेला उपप्रधानमन्त्री र अर्थमन्त्रालयको नेतृत्व नपाउँदा ओलीप्रति असन्तुष्ट देखिएपनि रक्षामन्त्री पोखरेल आफ्नो ‘उज्वल राजनीतिक भविष्य’ का लागि फेरि ओली निकट पुगेका छन्। महासचिव पौडेलले भने निष्ठापूर्वक सधैँ ओलीलाई साथ दिएका छन्। नेपाल खबरका अनुसार एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि नेकपाभित्र ओली र नेपालबीचको ध्रुवीकरणमा सामेल नभएको अर्को शक्तिशाली समूहपनि छ। त्यो समूहको नेतृत्व नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले गरेका छन्।
यो समूहको नेतृत्वकर्ता प्रचण्डका साथमा सचिवालय सदस्यद्वय वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा(बादल) छन्। ओलीको कार्यशैलीसँग असहमत रहेपनि यी तीन नेता खुलेर नेता नेपाललाई साथ दिनसक्ने स्थितिमा छैनन्।
प्रतिक्रिया