स्थानीय तहको दोस्रो चरणको निर्वाचन: मतदान सुरु
सारांश
- स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान भइरहेको छ ।
- प्रदेश नं १, ५ र ७ का स्थानीय तहहरुमा उत्साहका साथ मतदान सुरु भएको छ ।
- बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । प्रदेश नं १, ५ र ७ का स्थानीय तहहरुमा उत्साहका साथ मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ । तर साँझ ५ बजेभित्र लाइनमा बसेकाले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणझैँ यसपटक पनि गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित, महिला वडा सदस्य पदका लागि निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुनेछ ।
तीन प्रदेशका स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । चार हजार ५ सय ८१ मतदानस्थलका आठ हजार ३ सय ६८ मतदान केन्द्रमा मतदान हुँदै छ । स्थानीय तहको नेतृत्व गर्ने स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जिम्मेवारी निर्वाह गर्ने जनप्रतिनिधिको चयन गर्नेछ ।
६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
गुल्मीको इस्मा गाउँपालिका– ५ रामराज्य मावी केन्द्रमा १०१ वर्षीया तुलसादेवी अर्यालले मतदान गरेर उदघाटन गरेकी छिन् । उक्त केन्द्रमा २ हजार ३ सय ६६ मतदाता रहेको मतदान अधिकृत गिरिप्रसाद अर्यालले बताए ।
प्रतिक्रिया