कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
सारांश
- खकेन्द्र केसी सल्यान, ३१ असार ।
- सबैतिर असारे विकासको मूल फुटेको समयमा सल्यानको शारदा नगरपालिका भने किरा पो खोज्दैछ ।
- नगरपालिका किरा खोज्दै गाउँगाउँमा पुगेको छ ।
खकेन्द्र केसी
सल्यान, ३१ असार । सबैतिर असारे विकासको मूल फुटेको समयमा सल्यानको शारदा नगरपालिका भने किरा पो खोज्दैछ । नगरपालिका किरा खोज्दै गाउँगाउँमा पुगेको छ । किरा खोज्ने मात्र होइन नगरपालिकाले १२ क्वीन्टल किरा समातिसकेको छ ।
सल्यानको शारदा नगरपालिका– ६ बरलामा एउटै गाउँमा १२ क्वीन्टल ४ किलो शंखेकिरा संकलन समातिएको छ । सिङ्गै नगरपालिका किरामाथि त्यसै जाइलागेको भने अवश्य होइन । जाइन्ट अफ्रिकन स्नेल अर्थात ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारी बाली, धानबाली, मकैबाली आदिमा ठूलो क्षति पु¥याउन थालेपछि स्थानीय सरकारको पहलमा बरलाको करीब २० देखि २५ हेक्टरमा रहेको शंखेकिरा समात्न थालिएको हो ।
एक किलो किरा संकलन गरेबापत ५० रूपैयाँ दिएर ३ दिनको अवधिमा १२ क्वीन्टल किरा संकलन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएको किरालाई अहिले आयोडिन नुन छर्केर राखिएको छ । आयोडिन नुनले नै उक्त किरा मर्ने भएकाले यस्तो गरिएको जिल्ला कृषि विकास कार्यालय सल्यानका बरिष्ठ कृषि विकास अधिकृत अम्मरराज घिमिरेले बताए । उनले भने, “शंखेकिरा मार्न हामीले अनेकौं प्रयास गर्यौं तर सकिएन । यसको एउटै उपाय भनेको किरा समातेर संकलन गर्ने त्यसपछि नुन छर्केर मार्ने हो ।”
ठूलो शंखेकिरा नेपालमा पहिले नभएको तर पछिल्लो समय विभिन्न खानेपानीका योजना अनुसार ठूला पाइपहरु विदेशबाट भित्राउँदा पाइपभित्र किरा पसेर आएको हुन सक्ने घिमिरेले बताए । यो किराले भोलिका दिनमा ठूलो क्षति गर्ने भएकाले यसलाई समयमै नष्ट गर्नुपर्ने उनले बताए । चिसो समयमा शंखेकिरा जमिनमुनि लुक्ने र गर्मी याममा बाहिर निस्कने उनले बताए ।
यो किराले एकपटकमा १६ सय अण्डा पार्ने भएकाले व्यापक फैलने र यसले जुनसुकै अन्नबाली पनि उम्रुनुबित्तिकै नष्ट गर्ने घिमिरेको भनाइ छ । यसरी जिल्लाका अन्य गाउँ ठाउँमा शंखेकिरा देखिएमा तत्काल सामूहिक रूपमा नष्ट गर्न पनि उनले अन्य किसानहरूलाई आग्रह गरेका छन् ।
यो पटक १२ क्वीन्टल किरा समात्न र नष्ट गर्न करीव ७० हजार रपैयाँ जति खर्च हुने शारदा नगरपालिका– ६ का वडाध्यक्ष भीकराज बुढाथोकीले बताए । किरा मार्ने अभियान यो पहिलो चरणको भएकाले फेरि दोस्रो चरणमा पनि अभियान चलाउने उनले बताए । संकलन गरिएको किरा सबै मरे पनि एक दुई दिनभित्र खाडल खनेर गाड्ने बुढाथोकीले बताए । गत बर्षदेखि देखा परेको यो किराले यो बर्ष किसानको बालीनालीमा धेरै क्षति पुराएको उनको भनाइ छ ।
आफूले बारीमा लगाएको करिब ६० हजार बराबरको तरकारी शंखेकिराले नष्ट गरिदिएको स्थानीय किसान भीमबहादुर बुढाथोकीले बताए । उनले भने, “किरा मार्न अनेकौं प्रयास गरियो तर सफल भइएन । यो किराले कुनै पनि तरकारी बाली काट्न छोडेन ।” उनले फेरि पनि शंखेकिरा समात्ने अभियान चलाएर पूरै नष्ट गर्नुपर्ने बताए ।
तरकारीको पकेट क्षेत्र समेत मानिने बरलाका किसान भीमबहादुर बुढाथोकीले वार्षिक ७ लाखसम्म आम्दानी गर्दै आएको बताए । उनले सबै तरकारीको लागि प्रकोप मानिने शंखेकिरा भएको बताए । त्यस्तै टमाटरको लागि टुटा अपसुलुटा नामक किराले पनि सताउने गरेको उनले बताएका छन् । यो किरा मार्नको लागि धेरै गाह्रो भएको पनि उनले बताए ।
प्रतिक्रिया