घोराहीमा बजार क्षेत्रका सडकमा टेम्पो र अटो रिक्सा चल्न निषेध
सारांश
- दाङ, २२ माघ ।
- घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा टेम्पो र अटो रिक्साहरुलाई व्यवस्थित गर्ने भएको छ ।
- उपमहानगरपालिकाले नगर क्षेत्रमा चल्ने टेम्पो तथा अटो रिक्साहरुको तथ्यांक संकलन, दर्ता, रुट निर्धारण र भाडामा एकरुपता ल्याउने तयारी गरेको छ ।
दाङ, २२ माघ । घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा टेम्पो र अटो रिक्साहरुलाई व्यवस्थित गर्ने भएको छ । उपमहानगरपालिकाले नगर क्षेत्रमा चल्ने टेम्पो तथा अटो रिक्साहरुको तथ्यांक संकलन, दर्ता, रुट निर्धारण र भाडामा एकरुपता ल्याउने तयारी गरेको छ ।
उपमहानगरपालिकाले आइतबार बजार क्षेत्रका वडा अध्यक्ष तथा ट्राफिक प्रहरीका प्रमुखसँग छलफलको आयोजना गरी बजार क्षेत्रका सडकहरुमा टेम्पो र अटो रिक्साहरुलाई सञ्चालन गर्न नदिने र रुट निर्धारण गर्ने निर्णय भएको छ ।
नगरका कार्यबाहक प्रमुख सीता न्यौपानेको अध्यक्षतामा बसेको बैठकले एक साताभित्र घोराही बजारका टेम्पो तथा अटो व्यवसायीहरुलाई इच्छाएको रुटसहित आवेदन संकलन गर्ने, भाडामा सुहाउँदो एकरुपता ल्याउने, यात्रु मात्रै बोक्ने र अन्य निर्माण सामाग्रीहरु बोके ट्राफिक नियमअनुसार कार्वाही गर्ने निर्णय भएको छ । त्यसैगरी बजार क्षेत्रका सडकमा चल्न नपाउने टेम्पो तथा अटो रिक्साहरु सञ्चालनका लागि अंकमा आधारित रुट तोक्ने निर्णय भएको छ ।
विद्युत कार्यालयको दक्षिणतर्फ, बालमन्दिर, रझेना चोक, आर्मी व्यारेक, मितेरी अस्पताल, सडक बिभागको ओरालो, जनस्वास्थ्य कार्यालयदेखि केही तल र डिके पेट्रोल पम्प नजिकै टेम्पो र अटो रिक्साहरुको स्टेशन राख्ने निर्णय भएको छ ।
घोराही बजारमा करिब ५ सय बढी टेम्पो तथा अटो रिक्साहरु सञ्चालनमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । छलफलमा वडा नम्बर पाँचका अध्यक्ष विष्णुमणि दाहाल, १४ नम्बरका अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, १८ का अध्यक्ष भरत अर्याल, ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्ले लगायतका व्यक्तिहरु सहभागी थिए ।
प्रतिक्रिया