पछिल्लो समय मूल्य वृद्धिदर लगातार घट्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
पछिल्लो समय मूल्य वृद्धिदर लगातार घट्यो

सारांश

  • काठमाडौं : आधार मूल्य र आपूर्ति व्यवस्थामा आएको सुधारसँगै पछिल्लो समय मूल्य वृद्धिदर लगातार घटेको छ ।
  • आर्थिक वर्ष २०७३/७४ को ११ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थामा नेपालको उपभोक्ता मूल्यवृद्धि २ दशमलव ८ प्रतिशत कायम भएको छ ।
  • गत वैशाखमा यस्तो मूल्यवृद्धि ३ दशमलव ४ प्रतिशत थियो ।

काठमाडौं : आधार मूल्य र आपूर्ति व्यवस्थामा आएको सुधारसँगै पछिल्लो समय मूल्य वृद्धिदर लगातार घटेको छ । आर्थिक वर्ष २०७३/७४ को ११ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थामा नेपालको उपभोक्ता मूल्यवृद्धि २ दशमलव ८ प्रतिशत कायम भएको छ । गत वैशाखमा यस्तो मूल्यवृद्धि ३ दशमलव ४ प्रतिशत थियो । अघिल्लो वर्षको यसै अवधिमा ११ दशमलव १ प्रतिशत थियो ।

देशको समग्र आर्थिक तथा वित्तीय स्थितिको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मूल्य वृद्धिदर सो विन्दुमा हाराहारीमा रहनुलाई सकारात्मक रूपमा लिएको छ । राष्ट्र बैंकले गत वर्षको उच्च आधार मूल्य र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण मूल्यवृद्धिमा सुधार आएको बताएको हो ।

खाद्यवस्तुको मूल्य वृद्धि ऋणात्मक

गत आवको ११ महिनामा खाद्य वस्तुको मूल्यवृद्धिदर एक प्रतिशतले ऋणात्मक रहेको छ । यो समूहमा पर्ने तरकारीको मूल्य १६ दशमलव ३, दलहन तथा गेडागुडीको १७ दशमलव ५ र घिउ तथा तेलको मूल्यमा एक प्रतिशतले घटेको छ । उक्त अवधिमा चिनीजन्य पदार्थको मूल्य ११ दशमलव ५ र मदिराजन्य पदार्थको मूल्य १० दशमलव ८ प्रतिशत र माछा मासुको मूल्य ५ प्रतिशतले बढेको देखिन्छ ।

गैरखाद्यवस्तुको मूल्य वृद्धिदर

गत आवको जेठ महिनासम्ममा आइपुग्दा गैरखाद्यवस्तु (लत्ताकपडा, जुत्ता, घरायसी सामान, सेवा, सञ्चार र स्वास्थ्य)को पनि मूल्यवृद्धिदर घटेर ५ दशमलव ८ प्रतिशत छ । अघिल्लो वर्ष यो समूहको मूल्यवृद्धि १० दशमलव ५ प्रतिशत कायम थियो ।

उपत्यका सबैभन्दा सस्तो

मूल्य वृद्धिलाई क्षेत्रगत रूपमा सबैभन्दा सस्तो काठमाडौं उपत्यका रहेको छ । काठमाडौंपछि सस्तो हिमालमा १ दशमलव ८, तराईमा ३ दशमलव १ र पहाडमा ४ प्रतिशत महँगी रहेको छ । अघिल्लो वर्ष यस्तो मूल्यवृद्धिदर क्रमशः १३ प्रतिशत, १० दशमलव २, ९ दशमलव ५ र १२ प्रतिशत मूल्य वृद्धि रहेको थियो ।

भारतभन्दा नेपाल महँगो

पछिल्लो तथ्यांकअनुसार नेपाल भारतभन्दा महँगो छ । नेपालराष्ट्र बैंकको गत जेठ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाको समीक्षाअनुसार भारतमा १ दशमलव ५ प्रतिशतमा मूल्यवृद्धिदर रहको छ भने नेपालमा २ दशमलव ८ प्रतिशत रहेको बताएको हो । तर, अघिल्लो वर्ष सोही समयमा यस्तो मूल्य वृद्धिदरको अन्तर ५ दशमलव ८ प्रतिशत थियो । भारतमाभन्दा नेपालमा चिनी तथा चिनीजन्य पदार्थ १ दशमलव ३ प्रतिशत मदिराजन्य पदार्थ २ दशमलव ८ प्रतिशत र नेपाली शिक्षा ६ दशमलव २ प्रतिशत महँगो भएको राष्ट्र बैंकको तथ्यांक छ ।

६ खर्ब ३३ अर्ब रेमिटेन्स

गत आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट ६ खर्ब ३३ अर्बको रेमिटेन्स नेपाल भित्रिएको छ । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम बढे पनि वृद्धिदर भने खुम्चिएको छ । अघिल्लो वर्षको ८.६ प्रतिशतले बढेको रेमिटेन्स गत वर्ष ५.८ प्रतिशतले मात्र बढेको छ ।

गएको वर्षको ११ महिनामा चालू खाता एक अर्ब ७२ करोड घाटामा गएको छ । अघिल्लो वर्ष यस्तो खाता एक खर्ब ३० अर्ब बचतमा थियो । शोधनान्तर बचत पनि एक ७१ अर्बबाट घटेर ७४ अर्ब २६ करोडमा सीमित रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?