मन्त्रीलाई महिलाको उमेरले दियो टेन्सन!

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२८ पटक हेरिएको
Shares
मन्त्रीलाई महिलाको उमेरले दियो टेन्सन!

सारांश

  • काठमाडौं – रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आएको वैदेशिक रोजगारीमा समस्या यति नै छन् भन्न सकिने अवस्था छैन।
  • वर्षौंदेखि थुप्रिँदै आएका समस्या बल्झेर यतिखेर पहाड नै बनिसकेको छ।
  • हुँदाहुँदै रोजगारीमा जानुअघि नै कामदार स्वदेशमा ठगिँदा समेत न्याय पाउने अवस्था छैन।

काठमाडौं – रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आएको वैदेशिक रोजगारीमा समस्या यति नै छन् भन्न सकिने अवस्था छैन।

वर्षौंदेखि थुप्रिँदै आएका समस्या बल्झेर यतिखेर पहाड नै बनिसकेको छ। हुँदाहुँदै रोजगारीमा जानुअघि नै कामदार स्वदेशमा ठगिँदा समेत न्याय पाउने अवस्था छैन। आजको नागरिक दैनिकमा खबर छ ।

सरकारले तोकेभन्दा बढी रकम बुझाउनु र सम्झौता अनुसार काम नपाउने समस्या नेपाली कामदारका लागि सामान्य भइसकेका छन्। सरकारले तोकेको शुल्कमा वैदेशिक रोजगारीमा जान र उता गइसकेपछि सम्झौता अनुसार काम पाउने कामदार ‘भाग्यमानी’ ठहरिने अवस्था छ।

यस्तै समस्याबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालको जिम्मेवारी सम्हालेका मन्त्री गोकर्ण विष्टसमक्ष अर्को चुनौती पनि छ– वैदेशिक रोजगारीमा जाने महिलाको उमेर एउटै कामय गर्ने।

संविधानले सबै महिलालाई समान अधिकारको व्यवस्था गरे पनि वैदेशिक रोजगारीमा जाने महिलाको हकमा भने उमेरको फरकफरक मापदण्ड तोकिएको छ। मन्त्रालयले तोकेको सोही मापदण्डले गर्दा महिलाले राज्यले नै विभेद गरेको गुनासो गर्दै आइरहेका छन्।

यसअघिका मन्त्री र कर्मचारीलाई त्यस्ता आवाजले कहिल्यै छोएन। वैदेशिक रोजगारीमा जाने महिलालाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर गतिला योजना र कार्यक्रम ल्याउनुपर्ने बेला महिलाको उमेर मापदण्ड तोकेर आफ्नो अक्षमता लुकाउने प्रयास उनीहरूबाट भए।

वैदेशिक रोजगारीमा जाने महिलाको हकमा फरकफरक मापदण्ड तोकिएपछि सर्वत्र विरोध भइरहेको छ। जुन उमेरमा पुरुष वैदेशिक रोजगारीमा जान पाउँछन्। महिलाले पनि सोही सुविधा उपयोग गर्न पाउनुपर्ने मान्यता विपरीत देशैपिच्छे महिलाको फरकफरक मापदण्ड तोकिएपछि चौतर्फी विरोध भइरहेको हो। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने पुरुषको तल्लो उमेर १८ वर्ष तोकिए पनि महिलाका लागि भने देशैपिच्छे फरकफरक कायम गरिएको छ।

खासगरी खाडी मुलुक र इजरायल जान चाहने महिलाका लागि उमेरको हद तोकिएकाले महिलाले सरकारको उक्त निर्णयलाई विभेदकारी प्रमाणको रूपमा लिने गरेका छन्। संविधानले १८ वर्ष उमेर पुगेको नागरिकले राहदानी लिन सक्ने र उनीहरू जहाँसुकै जान सक्ने व्यवस्था गरेको बेला मन्त्रालयले खाडीमा घरेलु कामदारको रूपमा जाने महिलाको हकमा २४ वर्ष र इजरायल जाने महिलाको हकमा २५ वर्ष पुगेको हुनुपर्ने उल्लेख गरेको छ।

घरेलु कामदारको रूपमा खाडी जाने महिलाको उमेर २४ र इजरायल जाने महिलाको उमेर २५ वर्ष नपुगेको खण्डमा ती देशमा जान खोज्ने महिला वैदेशिक रोजगारीमा जाने प्रक्रियाबाटै बाहिरिनुपर्ने अवस्था छ।

पछिल्लो समयमा वैदेशिक रोजगारीले महिला सशक्तीकरण र आयआर्जनमा सहयोग पु-याएको ठानिएको बेला सरकारले महिलालाई वैदेशिक रोजगारीमा जान उमेरको सीमा तोकेको भन्दै विरोध गर्नेको स्वर ठूलो भइरहेको छ। इजरायलको केयर गिभरमा जान खोजेकी चितवनकी आरती लामाले आफू जुनसुकै काम गर्न सक्षम भए पनि उमेर नपुगेको भन्दै प्रक्रियाबाट वञ्चित गराइँदा दुःख लागेको बताइन्।

‘म को हुँ, के गर्न हुन्छ, के गर्न हुँदैन सबै थाहा छ,’ उनले भनिन्, ‘तैपनि खै किन हो २५ वर्ष नपुगी इजरायल जान पाइँदैन भनिँदैछ।’ दोलखाकी राधा शर्मा पनि वैदेशिक रोजगारीमा जान महिलाका लागि उमेर हद कायम गर्न नहुने ठान्छिन्। ‘वैदेशिक रोजगारीमा जाने महिला २५ वर्षपछि असुरक्षित हुँदैनन् र?,’ उनले प्रश्न गरिन्, ‘कानुनले १८ वर्ष पुगेपछि परिपक्व ठान्छ भने सरकारले पनि त्यस्तै व्यवहार गर्नुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?