देउवाको पकडबाट बाहिरिए भातृ संस्था

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
देउवाको पकडबाट बाहिरिए भातृ संस्था

सारांश

  • काठमाडौं, १ असार ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय पार्टीका भातृ र सुभेच्छुक संस्थामा कमजोर हुँदै गएका छन् ।
  • नेपाल विद्यार्थी संघको नेतृत्व अल्पमतमा परेपनि देउवाले संरक्षण दिइरहेका छन् ।

काठमाडौं, १ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय पार्टीका भातृ र सुभेच्छुक संस्थामा कमजोर हुँदै गएका छन् ।

नेपाल विद्यार्थी संघको नेतृत्व अल्पमतमा परेपनि देउवाले संरक्षण दिइरहेका छन् । नेविसंघ र महिला संघमा दुई वर्ष अघि भएको महाधिवेशनमा देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग गठबन्धन गरी विजय हासिल गरेका थिए ।

पछिल्लो समय देउवासँग चिढिएका सिटौला देउवालाई छाडी रामचन्द्र पौडेल समूहसँग नजिकिएपछि कांग्रेसका भातृ संस्था देउवाको पकडबाट उम्किएका हुन् । सिटौला समूह निकट नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वले पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध उपत्यका सहित देशव्यापी रुपमा आन्दोलन चर्काइरहेको छ ।

तर, देउवा निकट कुनै पनि विद्यार्थी नेता अहिलेसम्म आन्दोलनमा देखिएका छैनन् । गत चैतमा भएको कर्मचारी युनियन र शिक्षक संघको महाधिवेशनमा पौडेल–सिटौला समूहको समर्थन पाएको प्यानलले विजयी हासिल गरेको थियो । मंगलबारबाट शुरु भएको नेपाल ट्रेड यूनियन कांग्रेसको छैटौं महाधिवेशनमा समेत देउवा निकट समूह पराजयको संघारमा पुगेको छ । देउवा निकट खिलानाथ दाहालले पुनःअध्यक्षमा दावी गरेपछि उनलाई जिताउन देउवाले साम, दाम, दण्डभेदको नीति अपनाएका छन् ।

तर, पौडेल–सिटौला समूहबाट अध्यक्षमा प्रतिस्पर्धा गरेका पुष्कर आचार्यलाई २३ वर्षसम्म संगठनको नेतृत्व गरेका लक्ष्मण बस्नेतले समेत समर्थन गरेपछि देउवा तनावमा परेका छन् । टे्ड यूनीयन कांग्रेसमा आवद्ध करिव ४० वटा संस्थामध्ये ३० वटामा पौडेल–सिटौलाको समूहको नेतृत्व छ । संस्थाको उद्घाटन कार्यक्रममा सभापति देउवा र उपसभापति विमलेन्द्र निधीले खिलानाथ दाहालको पक्षमा मतदान गर्ने आशयले प्रतिनिधिहरुलाई फकाइरहेका थिए । सामान्यतयाः सार्वजनिक कार्यक्रमहरुमा एक घण्टा भन्दा बढि बस्ने धैर्यता नराख्ने सभापति देउवा सो संस्थाको कार्यक्रममा भने दाहालको पक्षमा मत मागेर आठ घण्टा विताएका थिए ।

संबैधानिक परिषद्को बैठकमा आधा घण्टा बसेर उद्घाटन कार्यक्रममा फर्किएका देउवामाथि वरिष्ठ नेता पौडेल, सिटौला, गगन थापा, बस्नेतलगायतले पार्टी नेतृत्वले मजदुर संगठनलाई उपेक्षा गर्दै स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा एक जनालाई पनि अवसर नदिएको भन्दै खरो आलोचना गरेका थिए ।

आलोचना सहन नसकेका देउवाले पुराना कुरा कोट्याएर कम्युनिष्ट अधिनायकवाद विरुद्ध लड्न नसकिने भन्दै आफ्नो बचाउ गरेका थिए । तर, उनले विगतमा आफू प्रधानमन्त्री हुँदा र पार्टी नेतृत्वमा रहँदा भएका गल्ती र कमजोरीको बारेमा भने कुनै तर्क गर्न सकेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?