अंगोलाः डोस सान्तोसको शासनकालको अन्त्य
सारांश
- लुआन्डा, २२ भदौ ।
- अंगोलाका पूर्व राष्ट्रपति जोसे एडुआर्डो डोस सान्तोसले अंगोलाको चारदशक लामो सक्रिय राजनीतिक जीवनबाट शनिबार अवकाश लिँदै हुनुहुन्छ ।
- अंगोलाको सत्तारुढ दलको नेतृत्व सान्तोसले राष्ट्रपति जोआ लाउरेन्कोलाई हस्तान्तरण गर्न लाग्नुभएको हो ।
लुआन्डा, २२ भदौ ।अंगोलाका पूर्व राष्ट्रपति जोसे एडुआर्डो डोस सान्तोसले अंगोलाको चारदशक लामो सक्रिय राजनीतिक जीवनबाट शनिबार अवकाश लिँदै हुनुहुन्छ । अंगोलाको सत्तारुढ दलको नेतृत्व सान्तोसले राष्ट्रपति जोआ लाउरेन्कोलाई हस्तान्तरण गर्न लाग्नुभएको हो ।दलको नेतृत्व हस्तान्तरणले दुबै नेताबीच मतान्तर रहेको र नयाँ नीतिहरुले सान्तोसको विरासतमाथि चुनौती थपिएको प्रस्टै देखिएको छ ।
सत्ताको बागडोर छाड्नेक्रममा सन् १९७९ देखि पार्टी र सत्तामा एकछत्र शासन गरेका सान्तोसले सम्मानजनक रुपमा सत्ता छाडेको देखाउन चाहन्थे । अगष्ट २०१७ मा सम्पन्न चुनावमा सान्तोस उम्मेदवार भएनन् । ७६ वर्षीय स्वतन्त्रता सेनानी सान्तोसले सत्ताको बागडोर आफ्नै रक्षामन्त्री लाउरेन्कोलाई हस्तान्तरण गरेका थिए ।तर सान्तोसले तेलको धनी राष्ट्र अंगोलाको पिपुल्स मुभमेन्ट फर द लिबरेसन अफ अंगोला (एमपीएलए) पार्टीको नेतृत्व छाड्नुभएको थिएन । यही पार्टीमा वास्तविक शक्ति रहेको विश्वास गरिन्छ ।
पार्टीको शनिबार बस्ने विशेष बैठकमा पार्टीका नं। १ नेता सान्तोसले राष्ट्रपति लाउरेन्कोले हस्तान्तरण गर्ने कार्यक्रम छ । करिब २ करोड ८० लाख जनसंख्या रहेको दक्षिणी अफ्रिकी राष्ट्रको सत्ता शान्तिपूर्ण रुपमा नयाँ नेतृत्वमा औपचारिक रुपमा जानेछ ।“एमपीएलएको सभापतिको रुपमा जोसे एडुआर्डो डोस सान्तोसको बहिर्गमन निकै महत्वपूर्ण क्षण हो,” लन्डनस्थित चथाम हाउसका अंगोला विज्ञ अलेक्स भाइन्सले भन्नुभयो । “दुबै नेताबीच लामो समयदेखि चलेको रस्साकस्सीबीच सत्ता हस्तान्तरण हुन लागेको हो ।”
आफ्नै दलबाट नयाँ उत्तराधिकारी छनौट गरी डोस सान्तोसले शान्तिपूर्ण हस्तान्तरणको अपेक्षा गरेका थिए । उहाँले अर्थतन्त्रका रणनीतिक महत्वका क्षेत्रहरु आफ्ना निकटस्थको नियन्त्रणमा रहने व्यवस्था गरिदिनुभएको थियो । उहाँले छोरी इसाबेललाई राज्यको महत्वपूर्ण तेल कम्पनीको नेतृत्व दिनुभएको थियो ।डोस सान्तोसले मुलुकको सुरक्षाफौजका प्रमुखहरु पनि आफूनिकट व्यक्तिलाई दिनुभएको छ ।
तर लाउरेन्कोले गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्व राष्ट्रपतिले गरेका कतिपय निर्णयहरु उल्टाउनुभएको छ । अर्थतन्त्रमा सुधार गर्ने उद्देश्यले उहाँले सोनान्गोलको प्रमुखबाट इसाबेललाई बर्खास्त गर्नुभएको थियो भने सान्तोसका अरु कतिपय निकटस्थलाई पदबाट हटाउनुभएको थियो ।सत्ता र पार्टीभित्रको यो हस्तक्षेपप्रति पूर्व राष्ट्रपति आफैंले आलोचना गर्नुभएको छ । उहाँले भन्नुभयो, “परिवर्तनहरु आवश्यक छन् तर ती अतिवादी किसिमका हुनु राम्रो होइन ।”
हालैका महिनाहरुमा, दुई नेता र उनीहरुका सहयोगीले हस्तान्तरणको कार्यलाई सहज रुपमा सम्पन्न गराउन प्रयास गरिरहेका छन् । “सबै कुरा शान्तपूर्ण रुपमा अघि बढिरहेको छ, र कुनै किसिमको हलचल छैन,” पार्टीको महिला विभागकी महासचिव लुजिआ इन्ग्लेसले बताउनुभयो ।तर दुबै नेताबीचको सुमधुर सम्बन्धमा फुट आउनै लागेको सङ्केत भने देखिएको छ ।
डोस सान्तोसले शुरुमा अप्रिल २०१९ बाट पार्टीको बागडोर हस्तान्तरण गर्ने प्रस्ताव ल्याउनुभएको थियो, तर लाउरेन्कोले शनिबार नै गर्नुपर्ने अडान राख्नुभयो । “डोस सान्तोसका बालबच्चालाई विभिन्न पदबाट बर्खास्त गरेसँगै लाउरेन्को हाबी भएको अनुमान गरिएको थियो,” फ्रेन्च इन्स्टिच्यूटका एकजना विश्लेषक बेन्जामीन अजेले भन्नुभयो ।सन् १९९२ देखि १९९६ सम्म प्रधानमन्त्री रहेका मार्कोलीनो मोको पनि परिवर्तनको पक्षमा उभिनुभएको छ । “लाउरेन्कोले अघि सारेका नीतिहरु उत्साहजनक छन् र यी प्रयत्नहरु आफ्नो सत्तालाई बलियो बनाउनेतर्फ केन्द्रित छैनन् । यी अभियानहरु मुलुकको हितको पक्षमा देखिएका छन् ।”चुनाव भएयता लाउरेन्कोले तेलको क्षेत्रमा व्यापक सुधार गर्नुभएको छ । लगानीकर्तालाई आकर्षिक गर्ने उद्देश्यबाट अभिप्रेरित यो सुधारबाट मुलुकको राजश्वमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।
सुधार कार्यका सन्दर्भमा अंगोलाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ४ अर्ब ५० करोड अमेरिकी डलर ऋण लिने प्रयत्न जारी राखेको छ । “लाउरेन्कोले दिर्घकालीन संरचनागत सुधार गर्ने अपेक्षा गर्न सकिन्छ,” भाइन्सले भन्नुभयो ।सन् २०२२ मा हुने अर्को चुनावअघि नै राष्ट्रपति लाउरेन्को अंगोलामा आर्थिक सुधारका साथै रोजगारी सिर्जनाका कार्यमा उल्लेखनीय कार्य गर्ने योजनाका साथ अघि बढ्नु भएको देखिन्छ ।
प्रतिक्रिया