निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त
सारांश
- काठमाडौं, ७ भदौ ।
- बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या आरोपमा आरोपी सार्वजनिक गरेपछि चारदिनदेखि महेन्द्रनगर बजार तनावग्रस्त हुँदै आएको छ ।
- आरोपी सार्वजनिक गरिएपछि आन्दोलनकारीहरुले भने वास्तविक बलात्कारीमाथि कारवाही हुनुपर्ने माग उठाउँदै आएका छन् ।
काठमाडौं, ७ भदौ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या आरोपमा आरोपी सार्वजनिक गरेपछि चारदिनदेखि महेन्द्रनगर बजार तनावग्रस्त हुँदै आएको छ । आरोपी सार्वजनिक गरिएपछि आन्दोलनकारीहरुले भने वास्तविक बलात्कारीमाथि कारवाही हुनुपर्ने माग उठाउँदै आएका छन् ।
निर्मला पन्तको बलात्कारको आरोपमा प्रहरीले सार्वजनिक गरेका दिलीप बिष्ट वास्तविक बलात्कारी नभएको उनीहरुको तर्क रहेको छ । यही विषयमा शुरु भएको आन्दोलन महेन्द्रनगरका अलावा अन्य स्थानमा पनि फैलिएको छ ।
महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रीत रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन सुरु गरेका छन् । विभिन्न स्थानमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन् । वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो ।
बिहानैदेखि बजार व्यवसाय, शिक्षण संस्था, यातायात सेवा समेत बिहानैदेखि बन्द छन् । बालिका बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले सोमबार अभियुक्त सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएको हो । आन्दोलन नेतृत्वबिहीन हुँदा उग्र बनिरहेको छ ।
यता, प्रहरीले पनि सुरक्षा व्यवस्था कडा पारेको छ । शान्ति सुरक्षा खल्बलिन नदिन कैलालीबाट समेत थप सुरक्षाकर्मी कञ्चनपुर पुगेका छन् । मंगलबारदेखि सुरु भएको आन्दोलनले कञ्चनपुर जिल्ला तनावग्रस्त हुन थालेपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा एसएसपी बिक्रमबहादुर चन्दलाई पठाएको छ । एसएसपी चन्द बिहान ३ बजे महेन्द्रनगर पुगेर घटनाको अनुसन्धान र आन्दोलनका विषयमा जानकारी लिइरहेको बताइएको छ ।
प्रतिक्रिया