इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
सारांश
- अविरल वर्षापछि आएको बाढी बस्तीमा पर्दा सुनसरीको इटहरीमा ९ जनाको मृत्यु भएको छ .
- इटहरी उपमहानगरपालिका वडा नम्बर ४, ९ र १० का ९ जनाको मृत्यु भएको हो ।
- बाढीमा परेर अरु ६ जना वेपत्ता रहेका छन् ।
अविरल वर्षापछि आएको बाढी बस्तीमा पर्दा सुनसरीको इटहरीमा ९ जनाको मृत्यु भएको छ . इटहरी उपमहानगरपालिका वडा नम्बर ४, ९ र १० का ९ जनाको मृत्यु भएको हो । बाढीमा परेर अरु ६ जना वेपत्ता रहेका छन् । उनीहरुको खोजीकार्यका साथसाथै पीडितको उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जुटेको छ ।
वाढीले करीब २०० घर बगाएको छ भने कयौं घर प्रभावित बनेका छन् । बाढीले घरमा भएका खाद्यान्न,लत्ताकपडा बगाएको पीडितले बताएका छन् । भएका सबै खाद्यान बगाएपछि पीडित राहतको पखाईमा रहेका छन् ।
बिहिबारदेखि परेको अविरल वर्षापछि स्थानीय टेंग्रा, शेरा र बुढी खोलामा आएको बाढी बस्तीमा पुगेको हो । शुक्रबार मध्यराती उक्त खोलाको बाढी बस्तीमा पस्दा ९ जनाको मृत्यु र ६ जना वेपत्ता भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । वाढीबाट २ हजार जना विस्थापित भएका र उनीहरुलाई अहिले स्थानीय मन्दिर र विद्यालयमा राख्ने काम गरिएको छ ।
राहतको पर्खाइमा पीडित
अहिले उपमहानगरपालिका, राजनीतिक दल, रेडक्रम र सामाजिक संस्थाको पहलमा खानपानको व्यवस्था गरिएको भएपनि त्याे पर्याप्त छैन । शनिबार इटहरीका सहायक सिडियोलगायतका अधिकारी प्रभावित क्षेत्रमा पुग्नुबाहेक पीडितलाई सरकारका तर्फबाट राहत वितरणमा कुनै पहल नभएको पीडितको गुनासो छ ।
उनीहरु अहिले पनि सरकारी राहतको पर्खाइमा रहेका छन् । उनीहरुले एउटा पाल र केहि खाद्यान्न मात्रै पाएमात्रै घरनजिकै गएर बस्ने भन्दै अनुनय गरिरहेका छन् । घरमा बाढी पसेको र त्यत्तिकै ज्यान जोगाउन भाग्दा केहि बचेखुचेको भए रक्षा गर्न सकिने भन्दै पाल मागिरहेका छन् । तर, सरकारले राहत वितरणमा कुनै काम नगरेको उनीहरुको आक्रोश छ ।
खानेपानीको समस्या
बाढीसँगै इटहरीमा शुद्ध पिउने पानीको अभाव भएको छ । इटहरीमा भएका खानेपानीका दुई ट्यांकीमा बाढी पसेपछि सो प्रदुषित बन्न पुगेको बताइएको छ । यसका साथै प्रभावित क्षेत्रमा शर्पको समेत बिगबिगी बढेको छ ।
प्रभावित बिरामी पर्न थाले
यसैगरी मन्दिर र विद्यालयमा बस्दै आएका प्रभावित बिरामी पर्न थालेका छन् । ज्वरो, झाडापखालालगायतमा समस्या उनीहरुमा देखिएको छ । प्रभावितको सयौं पशुपन्छी बाढीमा परेर मरेका कारण सो क्षत्र दुर्गन्धित बनेकाले महामारीको खतरा बढेको छ । यस्तै बाढीले ठाउँठाउँमा सडक अबरुद्ध समेत बनेको छ ।
सेनालाई हतियार जोगाउनै मुश्किल
यसैबीच इटहरी चोकमा रहेको नेपाली सेनाको पूर्वपृतना हेटक्वाटरमा बाढी पसेको छ । बाढी पस्दा कोतघरमा रहेका हतियार, बारुद र अरु बन्दोबस्तीका सामान भिजेका छन् । उद्दारमा स्थलमा खटिएका एक शैनिक अधिकारीले भने, ‘ हामी आफैं प्रभावित छौं तर पनि जनताको राहत र उद्दारमा खटिएका छौं ।’ उनले हतियार, बारुद, गोलीगठ्ठाका सागै बन्दोबस्तीका सामान भिज्न पुगेको भन्दै त्यसको व्यवस्थापन गर्न शनिबार दिनभर लागेको बताए । सोहि कारण हिजो सेना उद्दारमा खटिएको थिएन ।
अहिले उद्दारमा २०० को हाराहारीमा नेपाली सेना परिचालन गरिएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएको छ । अहिले खोज तथा उद्दारमा सेना र सशस्त्र जुटेको देखिन्छ भने मृतकको सनाखत, पीडितको व्यवस्थापन जस्ता काममा सशस्त्र प्रहरी जुटेको देखिन्छ ।
यता पीडितहरुले जनप्रतिनिधिको यति ठूलो पीडामा पनि प्रभावकारी उपस्थिति नभएको भन्दै आक्रोश पोखेका छन् ।
प्रतिक्रिया