कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
सारांश
- काठमाडौं,९ मंसिर।
- २०७५ मंसिर ३ गते दिउँसो ३ बजे।
- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको निवास बुढानीलकण्ठ।
काठमाडौं,९ मंसिर। २०७५ मंसिर ३ गते दिउँसो ३ बजे। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको निवास बुढानीलकण्ठ। राप्रपा अध्यक्ष कमल थापासहित राप्रपा नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलसमशेर राणा र राप्रपा केन्द्रीय सदस्य प्रल्हाद साहबीच छलफल चल्दै थियो। एक्कासी राप्रपा अध्यक्ष थापा धवलसमशेर राणासँग जंगिए। आक्रोशित थापाले राणालाई भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
तीन टुक्रामा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक बनाउने अभियानमा लागेका पार्टीका १८ नेतामध्येका दुई थिए धवलसमशेर राणा र प्रल्हाद साह। त्यस दिन पनि यी दुईलाई अध्यक्ष थापाले यही विषयमा छलफल गर्न बोलाएका थिए। अध्यक्षले बोलाएपछि अध्यक्ष निवासमा छलफलका लागि पुगेका यी दुईलाई अध्यक्ष थापाले पार्टीका विगतदेखिका कुराहरु सुनाउँदै गए। उनले आफूले अहिलेसम्म पार्टी अध्यक्षको रुपमा आफूले गरेका हरेक निर्णय ठिक भएको दावी गरेका थिए। ‘मैले अहिलेसम्म जे गरें ठिक गरें’ थापालाई उद्धृत गर्दै बुढानीलकण्ठ स्रोतले भन्यो ‘अब पनि जे गर्नेछु ठिक गर्नेछु।’ उनले आफूले निर्णय गर्दा सही निर्णय गर्ने भएपनि आफ्नो आनीबानी भने सुधार गर्न नसक्ने बताएका थिए। ‘मानिसहरु मलाइ निरंकुश, तानाशाही मान्छन् भने मानुन् म यस्तै छु। म यस्तै नै ठिक छु अब सुधार हुन सक्दिन’ थापाले भनेका थिए। डेढ घण्टासम्म आफ्ना कुरा राखेपछि थापाले धवलसमशेर राणासँग पार्टी एकीकरणको विषयमा आफ्ना धारणा सुनाउन भनेका थिए।
डेढ घण्टासम्म अध्यक्षका कुरा धैर्यतापूर्व सुनेका राणाले त्यसपछि पार्टी एकीकरण गर्दा तल्लो तहदेखि नै एकीकरण गर्नुपर्ने धारणा राखे। ‘तीन पार्टीका अध्यक्षहरु मात्र (कमल थापा, पशुपति समशेर राणा र प्रकाशचन्द्र लोहनी) मिलेर एकीकरण हुँदैन’, राणाले भनेका थिए, ‘पार्टीका तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहसम्म सबैको चाहना भएपछि मात्र एकीकरण सफल हुन्छ।’ राणाले यसका लागि अध्यक्ष लचिलो हुनुपर्ने धारणा राखेका थिए। अध्यक्ष थापालाई एकीकरणको लागि हदैसम्म लचिलो हुन सुझाव दिएका धवलसमशेर राणाले भने, ‘आवश्यक परेमा यहाँले नेतृत्व अरु कसैलाई दिएर एकछिन बाहिर बस्न पनि तयार हुनुपर्छ।’ राणाले अध्यक्ष पद नै छोड्न सुझाव दिएपछि अध्यक्ष थापाको पारो तातेको बुढानीलकण्ठ स्रोत बताउँछ। स्रोतका अनुसार थापाले जंगिँदै राणालाई भनेका थिए ‘जे पायो त्यही बोल्ने तिम्रो मेयर पद खुस्काइदिउँ?’ छलफलमा सहभागी केन्द्रीय सदस्य प्रल्हाद साहले पनि अध्यक्षको प्रस्तुती अलि असभ्य किसिमको भएको बताएका छन्।
अध्यक्ष जंगिएपछि राणा र साहले उनलाई साम्य पार्ने प्रयास गरेका थिए। तर, अध्यक्ष थापा भने निकै कडा रुपमा प्रस्तुत भएको बताइएको छ। राणा र साहले आफैंले घरमा बोलाएर यस्तो व्यवहार नगर्न सुझाव दिँदा थापाले जंगिदै भनेका थिए ‘मैले बोलाएको हुँ मैले जुत्ताले लखेट्न पनि सक्छु।’ एक्कासी रिसले तातेका थापा केही समयपछि भने शान्त भएको र धवलसमशेरका पुराना कुराहरु गरेको बुढानीलकण्ठ स्रोत बताउँछ।
प्रतिक्रिया