इयू निर्वाचन पर्यवेक्षण टोलीले दियो विद्युतीय मतदानको सुझाव
सारांश
- काठमाडौं, ५ चैत ।
- सभामुख कृष्णबहादुर महरासँग युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको टोलीले भेट गरी चुनाव पर्यवेक्षणको प्रतिवेदन बुझाएको छ ।
- सभामुख महरालाई प्रतिवेदन बुझाउँदै टोलीले विद्युतीय मतदान प्रणाली लागू गर्नुपर्नेसहितका २९ बुँदे सुझाव पनि दिएको छ ।
काठमाडौं, ५ चैत । सभामुख कृष्णबहादुर महरासँग युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको टोलीले भेट गरी चुनाव पर्यवेक्षणको प्रतिवेदन बुझाएको छ । सभामुख महरालाई प्रतिवेदन बुझाउँदै टोलीले विद्युतीय मतदान प्रणाली लागू गर्नुपर्नेसहितका २९ बुँदे सुझाव पनि दिएको छ ।
सभामुखको कार्यालय सिंहदरबारमा आज इयू निर्वाचन पर्यवेक्षण मिसन प्रमुख तथा युरोपियन पार्लियामेन्टका सदस्य जेलजना जोभ्को नेतृत्वको टोलीले भेटवार्ता गरेको हो । भेटमा टोलीले सभामुख महरालाई गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझाएको थियो ।

सो अवसरमा सभामुख महराले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई पर्यवेक्षण गरी सहयोग गरेकोमा इयू निर्वाचन पर्यवेक्षण मिसन टोलीलाई धन्यवाद दिएका थिए । जस्तोसुकै परिस्थितिमा पनि नेपालले निर्वाचनलाई स्वच्छ र मर्यादितरुपमा सम्पन्न गरेर नयाँ संविधान बनाउन सफल रहेको भन्दै सभामुख महराले पछिल्लो चुनावले नयाँ संविधान कार्यान्वयनको यात्रा अघि बढाएको बताए ।
निर्वाचन पर्यवेक्षण मिसनका प्रमुख जेलजना जोभ्कोले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताए । उनले निर्वाचनको समग्र अनुगमन गरी २९ बुँदे सुझाव पनि पेश गरेको बताए । उनले नेपालले इलेक्ट्रिकल भोटिङ सिस्टमको शुरुवात गर्नुपर्नेमा जोड दिइन् ।
जोभ्कोका अनुसार भोलि नै युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले पत्रकार भेटघाट गरी प्रतिवेदन सार्वजनिक गर्नेछ । भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईलगायतको उपस्थिति रहेको सभामुखका सञ्चारविज्ञ डिल्ली मल्लले जनाएका छन् ।
प्रतिक्रिया