उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १, २०७५
|
|
१७ पटक हेरिएको
Shares
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै

सारांश

  • काठमाडौँ।
  • काठमाडौँ उपत्यकामा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ ।
  • विगतका समयमा प्रहरीले घुस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो।
काठमाडौँ। काठमाडौँ उपत्यकामा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले घुस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो। 
महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षमा पुरस्कार हुनेमा ३१२ प्रहरी अधिकृत तथा जवान रहेका छन् भने कारवाही हुनेमा २१२ प्रहरी अधिकृत तथा जवान रहेका छन्। 
पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी उपरीक्षक दुई, प्रहरी नायब उपरीक्षक तीन, प्रहरी निरीक्षक १४, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४७, प्रहरी हवल्दार ६१, प्रहरी जवान १४९ र प्रहरी कार्यालय सहयोगी तीन जना रहेका छन्। 
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बताउँछन्। “घुस फिर्ता गर्ने, जोखिममा परेकालाई उद्धार गर्ने, सफल अनुसन्धान गर्ने, फरार अभियुक्तलाई पक्राउ गर्ने, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्नेलाई पुरस्कृत गर्ने गरेका छौँ”, उनले भने। 
यस्तै कारवाही पर्नेमा प्रहरी नायब उपरीक्षक दुई, प्रहरी नायब निरीक्षक १२, प्रहरी सहायक निरीक्षक १०, प्रहरी हवल्दार ४८, प्रहरी जवान १३६ र प्रहरी कार्यालय सहयोगी चार जना रहेका छन्। 
कारवाही परेकामा नशिहद ८८ जना, निलम्बन ४८ जना, पदोन्नति रोक्का आठ जना, तलब वृद्धि घटुवा १८ जना, तलब वृद्धि रोक्का १५ जना, बर्खास्त एक, सेवाबाट हटाइएका १९ जना र शुरुको स्केलमा घटुवा १५ जनालाई गरिएको छ। 
प्रहरीले मङ्सिरदेखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने ३६ चालक तथा सहचालकलाई पक्राउसमेत गरिसकेको छ। ट्राफिक प्रहरीले पक्राउ त्यस्ता चालक तथा सहचालकलाई पक्राउ गरी प्रहरीलाई बुझाउँदै आएको छ। 
कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री एक/ दुईजना प्रहरी कर्मचारीका कारण प्रहरी सङ्गठन नै बदनाम हुने गरेकाले कार्यालयले पुरस्कार र कारवाहीको अभियान सञ्चालन गरेको बताउँछन्। “राम्रो काम गर्ने र पुरस्कार पाएका प्रहरी अधिकृत तथा जवानको बढुवामा समेत सकारात्मक प्रभाव पार्नेछ”, उनले भने। 
काठमाडौँ उपत्यकामा हाल १८ वृत्त र तीन परिसरबाट मुद्दा चल्दै आएको छ । कार्यालयदेखि चौकीसम्म १६७ एकाइबाट सुरक्षा प्रदान गर्दै आइरहेको छ। काठमाडौँ उपत्यकाभित्र ११ हजार ३१९ प्रहरीको दरबन्दी भएपनि हाल झण्डै १० हजार प्रहरीले सुरक्षा प्रदान गरिरहेका छन्। 
कार्यालयले उपत्यकाभित्र प्रहरीले गरेका कामलाई नजरअन्दाज गर्न रानीपोखरीबाट विशेष ड्युटीसमेत खटाएको छ। उपत्यकाभित्र हुने अपराध न्यूनीकरण र प्रहरीले गरेको कामको अनुगमनका लागि विशेष ड्युटी खटाएको हो। 
प्रहरी कर्मचारीलाई हौसला प्रदान गर्न घुससहित पक्राउ गर्ने प्रहरी कर्मचारीलाई कार्यालयका हाकिमले फोन गरेर धन्यवादसमेत दिने गरेका छन् । कार्यालयले प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरी मुद्दासमेत चलाएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?