उपप्रधान तथा रक्षामन्त्री पोख्रेल र पाकिस्तानी राजदूतबीच भेटघाट
सारांश
- काठमाडौं, १७ साउन ।
- माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि पाकिस्तानी राजदूत डा.
- मजहर जावेदबीच शिष्टाचार भेटघाट भएको छ ।
काठमाडौं, १७ साउन । माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदबीच शिष्टाचार भेटघाट भएको छ । त्यस अवसरमा रक्षामन्त्री पोख्रेलले राजदूत जावेदलाई स्वागत गर्दै नेपाल र पाकिस्तानबीच लामो समयदेखि अत्यन्त घनिष्ठ र सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका थिए ।
मन्त्री पोख्रेलले यो सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहिरहने विश्वास व्यक्त गर्दै पाकिस्तानमा भर्खरै सम्पन्न चुनावका लागि बधाई ज्ञापन गरेका थिए । उनले नयाँ प्रजातान्त्रिक सरकार गठन हुन लागेकोमा खुसी व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच सरकारी स्तरमा मात्र नभएर जनस्तरमा समेत सुदृढ सम्बन्ध रहेको कुरामा प्रकाश पारेका थिए ।
रक्षा मन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीका अनुसार रक्षामन्त्री पोख्रेलले दुई देशबीचको सम्बन्धलाई भविष्यमा थप अघि बढाउन दुवै पक्षले मिलेर संयुक्त रूपमा काम गर्न आवश्यक भएको कुरा औँल्याएका थिए । नेपाल र पाकिस्तानका राष्ट्रिय सेनाबीच समेत मैत्रीपूर्ण सम्बन्ध रहनुका साथै दुई देशबीच सैनिक सहयोगको आदानप्रदान भइरहेकोमा आगामी दिनमा पनि यस प्रकारको सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गरेका थिए । दुई देशबीच आर्थिक, सामाजिक तथा सैनिक क्षेत्रमा आगामी दिनमा के कस्तो सहकार्यलाई प्रवद्र्धन गर्न सकिन्छ द्विपक्षीय छलफल र परामर्शबाट तय गर्न उपयुक्त हुने मन्त्री पोख्रेलले बताए ।
भेटमा पाकिस्तानी राजदूत डा. मजहर जावेदले नेपाल र पाकिस्ताबीचको द्विपक्षीय तथा कूटनैतिक सम्बन्ध अत्यन्त प्रगाढ र सुमधुर रहेको बताए । उनले पाकिस्तानले नेपाली सेनाका मेडिकल अधिकृत लगायत विभिन्न सैनिकहरूका लागि विभिन्न तालिम, प्रशिक्षण लगायतका सहायता उपलब्ध गराउँदै आएको र भविष्यमा नेपालले उपयुक्त ठानेको क्षेत्रमा आवश्यकतानुसार सहायता उपलब्ध गराउन पाकिस्तानको तर्फबाट आवश्यक सहयोग हुने कुरामा विश्वास दिलाएका थिए । दुई मुलुकका सेनाबीच सहयोगको आदानप्रदान भइरहेकोमा यसलाई थप विस्तार गर्दै जान पाकिस्तान सकारात्मक रहेको उनले बताए । दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन दुवै देशको तर्फबाट हुने उच्चस्तरीय भ्रमणले थप मद्दत पुराउने हुँदा यसलाई आगामी दिनमा निरन्तरता दिँदै जानुपर्ने कुरामा जोड दिएका थिए । भेटका अवसरमा रक्षा मन्त्रालयका सहसचिव ऋषि राजभण्डारी र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया