उपेन्द्र यादवको निर्वाचन अभियान सप्तरीको मलेठबाट

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
उपेन्द्र यादवको निर्वाचन अभियान सप्तरीको मलेठबाट

सारांश

  • मधेस गठबन्धनबाट प्रतिनिधिसभा सदस्य सप्तरी २ का साझा उम्मेदवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आइतबारदेखि निर्वाचन अभियान सप्तरीको मलेठबाट सुरु गरेका छन् ।
  • गत २३ फागुनमा एमालेको मेची–महाकाली अभियानका क्रममा मलेठमा भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका मधेसी मोर्चाका पाँच कार्यकर्ताको अन्त्येष्टि स्थलमा पुगी उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै यादवले निर्वाचन अभियान सुरु गरेका हुन् ।
  • सभामा अध्यक्ष यादवले अधिकांश समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध समय खर्चिए ।

मधेस गठबन्धनबाट प्रतिनिधिसभा सदस्य सप्तरी २ का साझा उम्मेदवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आइतबारदेखि निर्वाचन अभियान सप्तरीको मलेठबाट सुरु गरेका छन् । गत २३ फागुनमा एमालेको मेची–महाकाली अभियानका क्रममा मलेठमा भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका मधेसी मोर्चाका पाँच कार्यकर्ताको अन्त्येष्टि स्थलमा पुगी उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै यादवले निर्वाचन अभियान सुरु गरेका हुन् ।

सभामा अध्यक्ष यादवले अधिकांश समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध समय खर्चिए । ‘अन्तरिम संविधान जारी गर्ने बखत पनि माओवादी नै मधेसीको दुस्मन भए, माओवादीले मधेसीलाई गोली हानेर लहान घटना गरायो,’ अध्यक्ष यादवले भने, ‘संविधान जारीका वेला पनि मधेसीको अधिकारविनाको संविधानमा हस्ताक्षर ग¥यो ।’ यादवले आसन्न निर्वाचन मधेसको अधिकार लिने समय भएकाले छिटफुट रहेका मधेसवादी दलहरू एकजुट भई गठबन्धन भएको बताए ।
अध्यक्ष यादवले उम्मेदवार दिएको सप्तरी २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुँदै छ । वाम गठबन्धनबाट यस क्षेत्रमा पूर्वसिँचाईमन्त्री एवं माओवादी नेता उमेश यादव निर्वाचनको मैदानमा छन् भने मधेस गठबन्धनबाटै बागी उम्मेदवारका रूपमा जयप्रकाश ठाकुर छन् । ठाकुरले राजपाको सहमहामन्त्रीको पदबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सो अवसरमा मधेस गठबन्धनबाट प्रदेश सभातर्फ सप्तरी २ (ख)का उम्मेदवार एवं राजपाका महासचिव मनीषकुमार सुमनले जनभावनाअनुरूप दुवै मधेसी पार्टी एक भएर निर्वाचनमा आएको बताए । अब जिताउने काम मधेसी जनताको भएको उनले बताए । यस्तै मधेस गठबन्धनबाट सप्तरी २ (क) का उम्मेदवार शैलेन्द्रप्रसाद साहले सबै मधेसी सहिदको सपनालाई साकार बनाउन मधेस गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी भएको दाबी गरे ।

उपेन्द्र यादवको २२ बुँदे प्रतिबद्धतापत्र

१. भारतीय सहयोगमा निर्मित राजविराजको अधुरा कन्या छात्राबास, बोरियास्थित विद्यालयको अधुरो भवन तथा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अधुरो भवन निर्माण पूरा गर्न सम्बन्धित निकायबाट वा अन्य स्रोत जुटाई एक वर्षभित्र पूरा गर्ने,

२. गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगको स्थापना, विस्तार तथा लगानी गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहन हुने खालका दीर्घकालीन एवं ठोस योजना निर्माण गरी कार्यान्वयन गर्ने,

३. गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई स्तरीय सेवा–सुविधासहितको व्यवस्थापन र सञ्चालनका लागि आवश्यक पहल गर्ने,

४. राजविराज नगरको विकास तथा विस्तार गर्न चक्रपथ निर्माण गर्न पहल गर्ने,

५. रूपनी–गाईघाट सडकको निर्माण कार्य पूरा गर्ने,

६. तिलाठीस्थित साबिकको त्रिचन्द्र संस्कृत पाठशाला पुनस्र्थापना गर्न पहल गर्ने,

७. राजविराज–रूपनी र राजविराज–भारदह सडक चार लेन बनाउन पहल गर्ने,

८. राजविराज विमानस्थल नियमित गर्न पहल गर्ने,

९. सहिद परिवारको आर्थिक अवस्था सबल बनाउन आवश्यक आर्थिक व्यवस्थापन योजना निर्माण गर्ने,

१०. सहिद पार्क निर्माण गरी सप्तरीका सहिदहरूको सालिक स्थापना गर्ने,

११. आन्दोलनका क्रममा सिकिस्त घाइते भएका तथा अपांग भएकाका लागि आर्थिक व्यवस्थापन गर्ने,

१२. राजविराजमा एउटा पोलिटेक्निक कलेज स्थापना गर्न पहल गर्ने,

१३. जिल्लास्थित धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरूको दिगो विकासका निम्ति गुरुयोजना निर्माण गरी पर्यटकीयस्थलका रूपमा विकास गर्न पहल गर्ने,

१४. राजविराजमा मेडिकल कलेज स्थापना गरी सप्तरीलाई शिक्षा र स्वास्थ्यको केन्द्र (हब) बनाउन पहल गर्ने,

१५. सुनकोसी कमला डाइभर्सन बनाई चुरे दक्षिणबाट मूल नहर र उत्तर दक्षिण नहरहरू बनाई सम्पूर्ण सप्तरीलाई सिञ्चित गर्न पहल गर्ने,

१६. पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकको बीचबाट रेल्वे यातायातको व्यवस्थापन गर्न पहल गर्ने,

१७. कुनौली र सखडा सडकलाई चार लेन बनाउने, कुनौली बजार जान मैत्री पुल निर्माण गर्ने र बेल्ही भन्सारमा ड्राइपोर्ट निर्माण गर्ने साथै छिन्नमस्ताको गोविन्दपुरमा नेपाल–भारत गरी दुवैतिर सुविधा सम्पन्न भन्सार कार्यालयको स्थापना गर्न पहल गर्ने,

१८. राजविराजमा अन्तर्राष्ट्रियस्तरको खेलकुदको रंगशाला निर्माण गर्न पहल गर्ने,

१९. बालमैत्री गाउ“पालिका तथा नगरपालिका घोषणा कार्यलाई प्राथमिकतामा राखिने,

२०. जिल्लास्थित खाँडो, जिता र महुलीलगायत खोलाले बर्सेनि वितण्डा मच्चाउँदै आएकाले त्यसको प्रभावकारी र स्थायी नियन्त्रणका लागि ठोस पहल गरिने र विपत्बाट हुने जोखिमलाई कम गर्नका लागि प्रभावकारी योजना निर्माण गरी कार्यान्वयन गरिने,

२१. कृषि क्षेत्रलाई औद्योगीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्ने, किसानलाई सिँचाइ, सहुलियत दरमा मल खाद, बिउबिजन, कीटनाशक औषधि तथा ऋण उपलब्ध गराई हरित क्रान्ति, श्वेत क्रान्तिलाई अगाडि बढाउन ठोस नीति, कार्यक्रम तथा योजना निर्माण गरी कार्यान्वयन गरिने,

२२. सार्वजनिक तथा सरकारी जग्गामा बसोवास गरिरहेका सुकुम्बासीलाई अधिकारसम्पन्न सुकुम्बासी समस्या समाधान आयोगमार्फत जग्गाधनी लालपुर्जा वितरण गरिने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?