एक–दुई दिनमै एकता वार्ता टुंगिएला : प्रचण्ड
सारांश
- काठमाडौं, २९ माघ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् ।
- आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।
- चितवनमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको आवश्यकताअनुसार आफूले जुनसुकै फड्को हान्न सक्ने पछिल्लो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको बताए ।
काठमाडौं, २९ माघ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।
चितवनमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको आवश्यकताअनुसार आफूले जुनसुकै फड्को हान्न सक्ने पछिल्लो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको बताए । काठमाडौं फर्किएपछि एमाले अध्यक्ष ओलीसँग निर्णायक छलफल हुने भन्दै उनले छिटै एकता प्रक्रिया टुंगोमा पुग्ने संकेत गरे ।
‘म काठमाडौं गएपछि ओलीजीसँग कुराकानी हुन्छ । मेरो चाहना छ, दुई–तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस्,’ प्रचण्डले भने, ‘पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।’
एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ ।
दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर चल्दै आएको ‘वान अन वान’ छलफल अल्झिएपछि एमाले नेताहरूले नयाँ मोडालिटीका आधारमा छलफललाई टुंगोमा पुर्याउने निष्कर्ष निकालेका हुन् ।
१७ असोजमा एकता घोषणापछि दुवै पार्टीका अध्यक्षबीच दुई दर्जनभन्दा बढी भेटघाट र छलफल भइसकेको छ । पछिल्लोपटक २५ माघमा ललितपुरको मानभवनस्थित एक घरमा भएको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछिको नेतृत्व टुंगो लगाएर एकतालाई निर्णायक मोड दिनुपर्ने प्रस्ताव गरेका थिए ।
प्रचण्डको प्रस्तावपछि आन्तरिक परामर्श गरेर एकता संयोजन समितिको बैठकबाट वार्तालाई नयाँ मोड दिने समझदारीसहित दुवै नेता उठेका थिए । भोलिपल्टै चितवन पुगेका प्रचण्ड आइतबारसम्म विभिन्न कार्यक्रममा व्यस्त रहे भने ओली प्रदेश सभा संसदीय दलको निर्वाचन, आन्तरिक परामर्श, स्थायी समिति बैठक र अन्य कार्यक्रममा व्यस्त बने ।
प्रतिक्रिया