एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा
सारांश
- सरकारले पहिलो चरणमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको एक वर्षभित्रमा इलाम जिल्लामा २१ हजार दुई सय ६४ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
- सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया शुरू गरी भदौ १ गतेबाट सेवा दिन शुरू गरेको थियो ।
- स्वास्थ्य बीमा गराउने २१ हजार दुईसय ६४ जनामध्ये १४ हजार आठसय ६४ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको सामाजिक सुरक्षा विकास समितिका दर्ता अधिकारी खेमराज अधिकारीले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् ।
सरकारले पहिलो चरणमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको एक वर्षभित्रमा इलाम जिल्लामा २१ हजार दुई सय ६४ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया शुरू गरी भदौ १ गतेबाट सेवा दिन शुरू गरेको थियो ।
स्वास्थ्य बीमा गराउने २१ हजार दुईसय ६४ जनामध्ये १४ हजार आठसय ६४ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको सामाजिक सुरक्षा विकास समितिका दर्ता अधिकारी खेमराज अधिकारीले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् ।
बिमितमध्ये दुई हजार नौसय ३७ जनाले झापा र एकसय २० जनाले काठमाण्डौबाट र ११ हजार आठसय जनाले जिल्लाकै प्रास्वाके, इलाम अस्पतालबाट सेवा लिएका छन् । सरकारले २०७२ चैत २५ गतेबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपरोस् भनी पहिलो चरणमा बागलुङ र दोस्रो चरणमा इलाममा स्वास्थ्य बीमा सञ्चालन गरेको अधिकारीले बताए ।
जिल्लाका फिक्कल, पशुपतिनगर, मङ्गलबारे र प्याङ गरी चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, मेची अञ्चल अस्पताल चन्द्रगढी, आम्दा अस्पताल दमक र मेची आँखा अस्पताल बिर्ताबजार प्रथम सेवा बिन्दुका रूपमा छन् । झापाको बिएण्डसी अस्पताल, कोशी अञ्चल अस्पताल र काठमाण्डौका विभिन्न अस्पताल रिफरल अस्पतालका रूपमा राखी सेवा प्रदान गरिँदै आएको छ ।
बिमितहरूको सेवा प्रारम्भ भएको एक वर्ष पुगेपछि पुनः बीमाबापतको रकम तिरेर नवीकरण गर्नुपर्ने अधिकारीले बताएका छन् । इलाममा ५२ जना दर्ता सहयोगी नियुक्ति गरेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
स्वास्थ्य बीमा गराउनेमध्ये अधिकांश दीर्घ रोगीका बिरामी बढी देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । जसमध्ये उच्च रक्तचाप, ग्यास्टिूक, मधुमेह, तल्लो पेट दुख्ने बिरामीको सङ्ख्या बढी देखिएको समितिले जनाएको छ ।
यसैबीच झापाको बिएण्डसी अस्पतालसँग स्वास्थ्य बीमा गरिएका बिरामको उपचार गर्ने सम्झौता सरकारले रद्द गरेको छ ।
प्रतिक्रिया