
काठमाडौँ, ११ फागुन । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विष्फोटमा एनसेलका कर्मचारी नै संलग्न हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सिसिटिभी फुटेजमा एनसेलका गार्डहरुको शंकास्पद गतिविधि देखिएको प्रहरी स्रोतले जनाएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले घटनाको सुक्ष्म ढंगले अनुसन्धान सुरु गरिएको बताएका छन् । प्रहरीले एनसेलका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी तीनजना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भइसकेको छ ।
प्रहरी श्रोतका अनुसार सिसिटिभी फुटेजमा मोटरसाईकलमा तीनजना माक्स लगाएका व्यक्ति कार्यालयमा प्रवेश गर्छन् । उनीहरु निस्किएपछि केही गार्डले बम जस्तो देखिने एउटा वस्तु बाहिर ल्याएर छाड्छन् । त्यसको केही समयपछि नै एनसेल कार्यालयमा बिष्फोट हुन्छ ।
कार्यालयमा माक्स लगाएका व्यक्ति प्रवेश गर्दा गार्डले उनीहरुलाई रोक्न नखोज्नु, शंकास्पद बस्तु बाहिर ल्याएर राख्नु, तर प्रहरीलाई खबर नगर्नुले विष्फोटमा एनसेल कर्मचारीकै संलग्नताको प्रहरीले आशंका गरेको छ ।
प्रतिक्रिया