सगरमाथा आधार शिविरमा इन्टरनेट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
२० पटक हेरिएको
Shares
सगरमाथा आधार शिविरमा इन्टरनेट

सारांश

  • काठमाडौं- सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको छ ।
  • एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो ।
  • सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उद्देश्यका साथ इन्टरनेट सेवा सञ्चालन गरिएको एभरेस्ट लिंकले जनाएको छ ।

काठमाडौं- सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको छ । एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो । सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उद्देश्यका साथ इन्टरनेट सेवा सञ्चालन गरिएको एभरेस्ट लिंकले जनाएको छ ।

एभरेस्ट लिंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छिरिङ शेर्पाले सन् २००२ बाटै सगरमाथा शिविरमा इन्टरनेट सेवा विस्तारका लागि अध्ययन सुरू गरेको बताए । ‘१५ वर्षअघिदेखि इन्टरनेटको विषयमा अध्ययन गरे पनि २०१४ बाट काम सुरु गरेको हो । काम सुरुको चार वर्षमा इन्टरनेट सेवा सञ्चालन गरेका हौं,’ उनले भने, ‘इन्टरनेट सेवाबाट स्थानीय, पर्वतारोही पर्यटक, होटल व्यवसायीको साथै पोर्टरलाई सजिलो भएको छ ।’

उनका अनुसार तराई क्षेत्रबाट माइक्रोवेभको माध्यमबाट सगरमाथा शिविरमा इन्टरनेट सेवा सञ्चालन गरिएको हो । आधार शिविरको लुक्ला, खुम्बु, चौरीखर्क, खुम्जुङ, खुन्दे, पाङ्बोचे, तेङ्बोचे, दिङ्बोचेमा इन्टरनेट सुविधा उपलब्ध छ  ।  २–३ ठाउँमा इन्टरनेट लिंक राखिएकाले कुनै समस्या नहुने उनको भनाइ छ ।

काठमाडौंको तुलनामा सगरमाथा शिविरमा छिटो गतिको इन्टरनेट सेवा रहेको उनको दाबी छ । खुम्बु क्षेत्रका दुई सय ५० होटलमध्ये दुई सयभन्दा बढी होटललाई स्टेकहोल्डरका रूपमा राखिएको छ । नाफाको ४० प्रतिशत सामाजिक काममा प्रयोग गरिने जनाएको छ । यस इन्टरनेट सेवाबाट ४१ जनाले रोजगारी पाएका छन् ।

कम्पनीको प्रमुख प्राविधिक अधिकृत छेवाङ लामाले शिविरबाट सिधै इन्टरनेटबाट आफन्तसँग कुरा गर्न सहज भएको बताए । ‘स्वदेशलाई मात्र नभएर विश्वलाई समेत सगरमाथाको शिविर क्षेत्रलाई इन्टरनेटले जोडेको छ,’ लामाले भने, ‘कम्पनीले सय एमबी डाटाका लागि दुई सय र दुई सय एमबी डाटाका लागि पाँच सय डलर शुल्क तोकेको छ ।’

सगरमाथाको आधार शिविरसम्म इन्टरनेटको सामान बोकेर लैजानुपर्ने भएका कारण उपत्यकाको तुलनामा महँगो भएको लामाको भनाइ छ । उनका अनुसार यस क्षेत्रमा नेपाल टेलिकम र एनसेलको टेलिफोन सेवा प्रभावकारी हुन सकेको छैन ।

इन्टरनेट सेवाबाट आम्दानी भएको रकमले काठमाडौंमा दुई र स्थानीय अस्पतालसँग समन्वय गरेर आपतकालीन स्वास्थ्य सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । पर्वतारोहण क्षेत्रमा पर्वतारोही बिरामी भएमा वा भवितव्य दुर्घटना भएमा उद्धारका लागि हेलिकोप्टर समेत चार्टर गर्ने कम्पनीले जनाएको छ ।

सगरमाथा आरोहणका लागि प्रत्येक वर्ष वार्षिक ४५ हजारसम्म पर्वतारोही आउने गरेका छन् । उनीहरुको सुविधाको लागि पनि इन्टरनेट सेवा प्रभावकारी हुने एभरेस्ट लिंक कम्पनीले जनाएको छ । पर्वतारोही, गाइड तथा पोर्टरलाई थप सेवा र सुविधाको लागि सञ्चालन गरिएको इन्टरनेट सेवाबाट जम्मा भएको रकमबाट हेलिकोप्टर चार्टर गर्ने लामाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?